काठमाडौँ- भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
‘नीट’ प्रश्नपत्र चुहावटको विरोधमा युवाहरूको निरन्तर प्रदर्शनपछि प्रधान पदबाट राजीनामा दिन बाध्य भएका हुन्।
उनले आफ्नो राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन्। प्रधानले सामाजिक सञ्जालमा राजीनामा दिएको घोषणा गर्दै यसको कारण पनि उल्लेख गरेका छ्न।
राजीनामापत्रमा उनले पछिल्लो चार दशकदेखि आफू विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित रहेको उल्लेख गरेका छन्। नीट परीक्षामा अनियमितताको जानकारी सार्वजनिक भएसँगै सरकारले तत्काल कारबाही अगाडि बढाएको उनले बताएका छन्।
शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै ककरोच जनता पार्टी (सीजेपी) एक महिनाबढी समयदेखि आन्दोलन गरिरहेको छ। सीजेपीको आन्दोलनलाई समर्थन गर्दै अभियन्ता सोनम बाङ्चुकले भोक हड्ताल सुरू गरेका थिए। विद्यार्थीहरूको आन्दोलनलाई बल पुग्नेगरी भारतका विपक्षी दलहरूसमेत राजीनामको माग गर्दै प्रदर्शनमा उत्रिएको थियो।
प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि धर्नामा बसेका थिए। धर्नामा बसेका बेला राहुल, प्रियन्का गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलगायतका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
शिक्षमन्त्री प्रधानको राजीनामा सीजेपीले एक महिनाभन्दा बढी समयदेखि गरिहेको आन्दोलनको प्रमुख माग थियो। जुलाई २० मा विद्यार्थीहरू संसद्तर्फ मार्च गर्न थालेपछि प्रदर्शन हिंसात्मक बनेको थियो।
शुक्रबार नरेन्द्र मोदी सरकारका प्रतिनिधि र सीजेपी प्रतिनिधिबीच करिब दुई घन्टा वार्ता भएको थियो। वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सहभागी थिए। त्यसैगरी सीजेपीका तर्फबाट प्रवक्ताहरू सौरभ दास र आशुतोष राङ्का छलफलमा सहभागी भए।
वार्ताका क्रममा सीजेपीका प्रतिनिधिहरूले प्रधानको राजीनामा, नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गर्ने विद्यार्थीका परिवारलाई एक÷एक करोड रूपैयाँ क्षतिपूर्तिलगायतका माग अघि सारेका थिए।
सरकारका प्रतिनिधिहरूले अन्य माग पूरा गर्न सकिए पनि प्रधानको राजीनामाका सन्दर्भमा निर्णय गर्न सीजेपीका प्रतिनिधिसँग एक दिन समय मागेका थिए। सीजेपीका प्रतिनिधिसँग वार्ता भएको भोलिपल्ट शिक्षामन्त्री प्रधानले राजीनामा दिएका हुन्।
शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै सीजेपीको अगुवाइमा नयाँदिल्लीको जन्तरमन्तरमा युवाहरूले लगातार प्रदर्शन गरिरहेको थियो। दिल्लीका साथै भारतका अन्य सहरहरूमा पनि सरकारका विरोधमा प्रदर्शन सुरू भएको थियो।


