काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने दर्शकका लागि पार्किङ व्यवस्थापन गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
आइतबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले कीर्तिपुर नगरपालिकासँगको समन्वयमा ल्याब स्कुलनजिक, चोभार गेट पछाडिको खुला चौर र आयुर्वेदिक अस्पताल क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाए।
निर्धारित पार्किङ स्थलमा सवारीसाधन राखेपछि दर्शकले केही दूरी पैदल हिँडेर मैदान पुग्नुपर्ने उनले बताए। टिकट काउन्टर अघिल्लो वर्षकै स्थानमा रहने जानकारी पनि उनले दिए।
मैदान वरपरका सडक र हिँड्ने स्थानमा हिलो हुने समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको क्यानले जनाएको छ। सडक विभाग र अन्य निकायले क्षेत्रको अवस्थाबारे अध्ययन गरी आवश्यक सुधारका काम अघि बढाएको खड्काले बताए।
उनका अनुसार प्रतियोगिता सम्पन्न भएपछि मैदान आसपासका क्षेत्रमा थप कालोपत्र गर्ने योजनाका लागि बजेटिङ र प्रक्रियागत कामसमेत सुरु भएको छ।



