काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनुअघि विभिन्न फ्रेन्चाइज टोलीले विदेशी स्टार खेलाडीलाई अनुबन्ध गर्दै आफ्नो टोली बलियो बनाएका छन्।
पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलंका, अमेरिका, स्कटल्यान्डका खेलाडीको आगमनले यस सिजनको एनपीएल थप प्रतिस्पर्धात्मक हुनेछ।
पाकिस्तानका तीव्र गतिका बलर हसन अली चितवन राइनोजबाट खेल्ने भएका छन्। यस्तै, पाकिस्तानको टी-२० टोलीका कप्तान साहबजादा फरहान कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगेका छन्।
कर्णालीले दक्षिण अफ्रिकाका स्टार ब्याटर डेभिड मिलरलाई पनि अनुबन्ध गरेको छ। यसका साथै बंगलादेशका अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका मार्क वाटलाई टोलीमा समेटिसकेको छ।
काठमाडौँ गोर्खाजले अस्ट्रेलियन ब्याटर साम हिजलेटलाई अनुबन्ध गरेको छ। हिजलेटले गत सिजन विराटनगर किंग्सबाट खेलेका थिए।
विराटनगरले भने श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्वकप्तान एन्जेलो म्याथ्युजलाई टोलीमा भित्र्याएको छ।
सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका दुई खेलाडी फाबियन एलेन र शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ।
३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी-२० क्रिकेटका अनुभवी खेलाडी हुन्।
२८ वर्षीय रदरफोर्ड बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर हुन्। मध्यक्रममा तीव्र गतिमा रन बनाउन सक्ने क्षमताका कारण उनी छोटो प्रारूपका प्रभावशाली खेलाडी मानिन्छन्।
लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर शामिम हुसेन तथा अमेरिकाका अनुभवी अलराउन्डर शाइली भान स्काल्कविकलाई अनुबन्ध गरेको छ।
पोखरा एभेन्जर्सले पनि विदेशी खेलाडी भित्र्याउने क्रममा बंगलादेशका मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। सैफुद्दिन यस सिजन पोखराले अनुबन्ध गरेका तेस्रो बंगलादेशी तथा समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्।
विदेशी खेलाडीको आगमनसँगै एनपीएलका टोलीहरूले ब्याटिङ, बलिङ र अलराउन्ड प्रदर्शनलाई सन्तुलित बनाउने प्रयास गरेका छन्।



