काठमाडौँ- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए।
‘फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुन्। उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ। विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने।
३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन्। उनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन्।
सुदूरपश्चिमले शनिबार वेष्ट इन्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि अनुबन्ध गरेको थियो।



