एनपीएलको तेस्रो संस्करणबारे जान्नैपर्ने कुरा

हिमाल प्रेस ८ कार्तिक २०८३ १४:०७ | Sunday, October 25, 2026
10
SHARES
एनपीएलको तेस्रो संस्करणबारे जान्नैपर्ने कुरा

काठमाडौँ- नेपालको प्रमुख फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार आरम्भ हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्।

तेस्रो संस्करण दुई कारणले विशेष छ। पहिलो, प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू हुँदै छ। दोस्रो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त भएकाले यस संस्करणका खेलले आधिकारिक टी–२० खेलको हैसियत पाएका छन्।

टोलीहरू

प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्। सातवटा टोली सातै प्रदेशमा आधारित छन् भने एउटा टोली संघीय राजधानी काठमाडौँमा आधारित छ।

काठमाडौँ गोर्खाजले काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गर्छ। विराटनगर किङ्स कोशी प्रदेश, जनकपुर बोल्ट्स मधेश प्रदेश, चितवन राइनोज बागमती प्रदेश, पोखरा एभेन्जर्स गण्डकी प्रदेश, लुम्बिनी लायन्स लुम्बिनी प्रदेश, कर्णाली याक्स कर्णाली प्रदेश र सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम प्रदेशमा आधारित टोली हुन्।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले उचालेको थियो। सुदूरपश्चिम रोयल्स दुवै संस्करणमा उपविजेता बनेको थियो।

खेलतालिका र प्रतियोगिताको ढाँचा

प्रतियोगिताको लिग चरणमा २८ खेल हुनेछन्। यस चरणमा प्रत्येक टोलीले अन्य सबै टोलीसँग एकएक खेल खेल्नेछ। यसलाई एकल राउन्ड रोबिन ढाँचा भनिन्छ।

लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

क्वालिफायर १ : शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। विजेता सीधै फाइनलमा पुग्नेछ।

इलिमिनेटर : तेस्रो र चौथो स्थानका टोलीबीच खेल हुनेछ। विजेता क्वालिफायर १ मा पराजित टोलीसँग क्वालिफायर २ खेल्नेछ।

क्वालिफायर २ : यस खेलको विजेता फाइनलमा पुग्नेछ।

फाइनल : उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका सबै ३२ खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछन्।

यसपटक नयाँ के छ?

एनपीएलमा पहिलोपटक डीआरएस लागू हुँदै छ। क्यानका अनुसार यस प्रणालीबाट टोलीहरूले एलबीडब्लू अर्थात् खुट्टामा बल लागेर विकेट जाने निर्णयलगायत अम्पायरका केही निर्णयलाई चुनौती दिन सक्नेछन्।

क्यानका अधिकारीका अनुसार यस प्रणालीमा थ्रीडी बल ट्र्याकिङ, ब्याटमा बल लागेको पत्ता लगाउने प्रविधि र ध्वनि प्रविधिसमेत प्रयोग गरिनेछ।

त्यस्तै, आईसीसीको मान्यता प्राप्त भएकाले यस संस्करणमा खेलाडीले बनाएका रन र लिएका विकेटले उनीहरूको आधिकारिक करिअर तथ्यांकमा गणना पाउनेछन्।

खेलको प्रत्यक्ष प्रसारण

प्रतियोगिताका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण गरिनेछ। नेटटिभी आधिकारिक डिजिटल स्ट्रिमिङ साझेदार हो।

नेपालमा हिमालय स्पोर्ट्स आधिकारिक प्रसारक रहेको छ। त्यस्तै, भारतमा फ्यानकोड आधिकारिक स्ट्रिमिङ साझेदार हो।

प्रमुख विदेशी खेलाडीको अनुबन्ध

आईसीसीको मान्यता प्राप्त भएपछि एनपीएलका टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने अवसर पाएका छन्।

अस्ट्रेलियाका प्रारम्भिक ब्याटर डेभिड वार्नर काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन्। उनी सन् २०२१ को टी–२० विश्वकपमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।

त्यस्तै, कर्णाली याक्सले दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका टी–२० कप्तान साहबजादा फरहान र अलराउन्डर हुसेन तलातलाई अनुबन्ध गरेको छ।

विगतका संस्करणमा मार्टिन गप्टिल र फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको विराटनगर किङ्सले यसपटक वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका चरिथ असलंका र एन्जेलो म्याथ्युजलाई टोलीमा भित्र्याएको छ।

पोखरा एभेन्जर्सले बंगलादेशका शाकिब अल हसन, मेहदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंका धनञ्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ।

जनकपुर बोल्ट्सले दुईपटक विश्वकप जितेका इङ्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिम्मी निसम र पाकिस्तानका अलराउन्डर इफ्तिखार अहमदलाई अनुबन्ध गरेको छ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका शेरफेन रदरफोर्डलाई टोलीमा भित्र्याएको छ।

चितवन राइनोजले जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गरेको छ भने इङ्ल्यान्डका अनुभवी खेलाडी रवि बोपारालाई टोलीमै कायम राखेको छ।

बंगलादेशका अलराउन्डर शमिम हुसेन लुम्बिनी लायन्सले अनुबन्ध गरेका चर्चित खेलाडीमध्ये एक हुन्।

महत्त्वपूर्ण मिति

लिग चरणका खेल कात्तिक ९ देखि कात्तिक २९ सम्म सञ्चालन हुनेछन्। त्यसपछि क्वालिफायर १, इलिमिनेटर र क्वालिफायर २ क्रमशः मंसिर १, २ र ३ मा खेलाइनेछन्।

प्रतियोगिताको फाइनल मंसिर ५ मा हुनेछ।

खेलहरू नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछन्। एकै दिन दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

प्रकाशित: ८ कार्तिक २०८३ १४:०७ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast