एनपीएलको हिसाबकिताबमाथि प्रश्न, पारदर्शिताबारे पत्रकार र क्यान पदाधिकारीबीच सवालजवाफ

हिमाल प्रेस ८ कार्तिक २०८३ १७:०५ | Sunday, October 25, 2026
10
SHARES
एनपीएलको हिसाबकिताबमाथि प्रश्न, पारदर्शिताबारे पत्रकार र क्यान पदाधिकारीबीच सवालजवाफ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि प्रतियोगिताको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको छ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले अघिल्ला दुई संस्करणको हिसाबकिताब सार्वजनिक गर्ने प्रक्रिया र निर्णय प्रणालीबारे प्रश्न उठाएका हुन्।

पत्रकारले एनपीएलजस्तो ठूलो प्रतियोगिताको आर्थिक विवरण पारदर्शी हुनुपर्ने भन्दै पहिलो र दोस्रो संस्करणको हिसाबकिताबबारे पर्याप्त जानकारी उपलब्ध नभएको आरोप लगाए।

बोर्ड सदस्यहरूलाई समेत दबाबपछि मात्रै हिसाबकिताब उपलब्ध गराइएको र त्यसबारे प्रश्न गर्दा जवाफ नपाइएको पत्रकारको भनाइ थियो।

एनपीएल संस्थागत प्रणालीबाट सञ्चालन हुनुपर्नेमा एक व्यक्तिमा निर्भर भएको भन्दै क्यानका सचिव पारस खड्कामाथि अत्यधिक जिम्मेवारी केन्द्रित भएको पत्रकारले टिप्पणी गरे।

जवाफमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलको सञ्चालनका लागि अधिकारसम्पन्न गभर्निङ काउन्सिल गठन गरिएको बताए। उक्त समितिले तत्काल निर्णय गरेर क्यानको बोर्डमा पेस गर्ने र आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था रहेको उनको भनाइ थियो।

चन्दका अनुसार एनपीएल छुट्टै संस्था नभएकाले यसको लेखापरीक्षण क्यानकै माध्यमबाट गर्नुपर्ने अवस्था छ। अघिल्लो संस्करणको लेखापरीक्षणमा हस्ताक्षर गर्ने र त्यसलाई बोर्डबाट अनुमोदन गराउने प्रक्रियाबारे पनि उनले स्पष्टीकरण दिएका थिए।

‘तीनजनाले इमिडिएट निर्णय गर्नुहुन्छ, यो कुरा चाहिँ पछि हामी बोर्डमा ल्याएर छलफल गरेर एजीएमबाट पास गराउने कुरा भएको’ उनले भने।

क्यानका सचिव खड्काले भने संघले सम्बन्धित निकायहरूलाई आर्थिक विवरण र आवश्यक कागजात उपलब्ध गराएको दाबी गरे। राष्ट्रिय खेलकुद परिषद्, शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारसमक्ष प्रक्रियागत रूपमा विवरण पेस गरिएको उनको भनाइ थियो।

खड्काले एनपीएलको सञ्चालनका लागि कार्यविधि बनाइएको र निर्णय प्रक्रियालाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए।

अघिल्ला संस्करणमा देखिएका कमजोरी सुधार्दै अघि बढिरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमबाट आउने आलोचनालाई सकारात्मक रूपमा लिने बताए।

‘क्रिकेट संघले गरेको सबै कुरा, हामीले हाम्रो सोच सही छ, नियत सही छ। तर कहिलेकाहीँ सोच र नियत सही हुँदाहुँदै पनि केही काम नभएको खण्डमा हामी त्यसलाई सच्याउँछौँ,’ उनले भने।

प्रकाशित: ८ कार्तिक २०८३ १७:०५ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast