काठमाडौँ- आम आदमी पार्टी (आप) का संयोजक एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगलाकी पूर्वमुख्यमन्त्री ममता बनर्जी पक्राउ परेका छन्।
भारतको राजधानी नयाँदिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको विरोधमा आयोजना गरिएको प्रदर्शनमा सहभागी भएका केजरीवाल र बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
केजरीवाल आफ्ना पार्टीका नेताहरुसँग जन्तरमन्तरतर्फ अगाडि बढिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। उनीसँगै राज्यसभा सदस्य सञ्जय सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै तृणमुल कांग्रेस (टीएमसी) की अध्यक्षसमेत रहेकी बनर्जीलाई दिल्लीस्थित उनको निवासबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
टीएमसीका प्रवक्ता साकेत गोखले सामाजिक सञ्जाल एक्समा पश्चिमी बंगालकी पूर्वमुख्यमन्त्री बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
‘ममता दिदीसहित हामी पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले दिदीको निवासबाहिरबाट नियन्त्रणमा लिएर प्रहरी भ्यानमा बसालेका छन्। हामीलाई कुनै अज्ञात स्थानतर्फ लगिँदैछ। यो भारतमा लोकतन्त्रको अन्त्य हो।’
पीटीआईका अनुसार टीएमसी प्रमुख बनर्जी र पार्टीका अन्य नेताहरु साउथ एभेन्यूस्थित एक बस पार्कमा धर्ना दिएको बेला प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिनुअघि बनर्जीले भनेकी थिइन्,‘हामी जन्तरमन्तरमा जान चाहन्थ्यौँ, तर हामीलाई जान दिइएन। यस्तो लाग्छ कि यो परिस्थिति इमर्जेन्सीभन्दा पनि खराब छ।’
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले शनिबार दिल्लीमा विरोध प्रदर्शनको आयोजना गरेको छ। विरोध प्रदर्शनलाई मध्यनजरी गरी दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रहरीले सीजेपीका संस्थापक अभिजित दिपकेसहित चार सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ।



