दसैँ आउँछ। घरका आँगन सफा हुन्छन्, भित्तामा नयाँ रङ चढ्छ, जमरा उम्रिन्छ, पिङका डोरीहरू बाटोतिर देखिन थाल्छन्। बजारमा नयाँ कपडाको बासना फैलिन्छ। टाढा गएका मानिस घर फर्किन थाल्छन्। कसैका लागि दसैँ नयाँ कपडा हो, कसैका लागि टीका र जमरा, कसैका लागि मासुको स्वाद। तर केही मानिसका लागि दसैँ एउटा ऋतुजस्तै हुन्छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनका लागि दसैँ सम्झनाको ऋतु हो। बाल्यकालमा होस्टेलको अनुशासनबीच बितेका दिनदेखि आमाको हात समातेर बजार डुलेका दिन, जमरा राख्ने तयारीदेखि घरका पाहुना आउँदालगायतका दसैँका धेरै सम्झना छन्। तीमध्ये केही उज्याला छन्, केहीमा आमाको सम्झना।
काठमाडौँको वीर अस्पतालसँग उनको जीवनको सुरुवात नै केही असाधारण ढंगले जोडिएको छ। उनका बुबा प्रोफेसर डा.जीवनबहादुर शेरचन र आमा सरला शेरचन दुवै स्वास्थ्य क्षेत्रमा कार्यरत थिए। आमा वीर अस्पतालमा एचएका रूपमा काम गर्थिन्। त्यहीँ काम गर्दागर्दै ओजस्वीको जन्म भयो।
वीर अस्पतालमा जन्मिएको सम्झँदा उनी आफैँ त्यसलाई रोचक मान्छिन्। काम गर्दागर्दै आमालाई अचानक प्रसव व्यथा लाग्यो रे। त्यहीँ उनको जन्म भयो। त्यसैले उनको जन्मस्थान काठमाडौँ भनेर टुंगिँदैन। उनको जीवनकथाको पहिलो पानामा वीर अस्पताल पनि जोडिन्छ।
परिवारको परम्परागत पेसा व्यापार, होटल वा पसलतिर जोडिएको थियो। तर जीवनबहादुरको मन पढाइतिर थियो। जेठो छोरा भएकाले पारिवारिक जिम्मेवारी सम्हाल्दै पनि उनी पढ्न चाहन्थे। त्यसै चाहनाले उनलाई काठमाडौँसम्म ल्यायो।
पढाइप्रतिको त्यो लगाव क्रमशः उनको जीवनको परिचय बन्यो। उनले अध्ययन गर्दै काम गरे, छात्रवृत्ति पाए, भारतको चण्डीगढको पीजीआईमा प्रयोगशालासम्बन्धी अध्ययन गरे। महिडोल विश्वविद्यालयमा मास्टर्स गरे र गोल्ड मेडल पाए ओजस्वीका बुबाले। त्यसपछि लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनमा पीएचडी गरे। पढाइको बाटोमा निरन्तर अघि बढ्दै उनी प्राध्यापक बने।

ओजस्वीकी आमासँग बुबाको भेट पनि यही शैक्षिक यात्राकै क्रममा भएको ओजस्वी बताउँछिन्। उनकी आमा पनि विद्यार्थी थिइन्। अध्ययनकै क्रममा उनीहरूबीच सम्बन्ध गाँसियो, विवाह भयो र परिवार बन्यो। ओजस्वी र उनका दाइ गरी दुई सन्तान भए। दाइ पनि माइक्रोबायोलोजीका प्राध्यापक छन्।
यसरी हेर्दा ओजस्वीको जीवनशैली शिक्षामय थियो। बुबाआमाले सानैदेखि उनलाई भने,‘राम्रो पढ्ने मानिसको संगत गर्नू, शिक्षकले भनेको ध्यान दिएर सुन्नू, अगाडिको बेन्चमा बस्नू, शिक्षकले गाली गरे पनि गल्ती भएको भए माफी माग्नू।’
बुबाका लागि पढाइ पहिलो प्राथमिकता थियो। सायद यही कारण थियो, बुबाले आफ्ना बाल्यकालका कठिनाइहरू छोराछोरीले भोग्न नपरोस् भन्ने चाहेका थिए। गाउँको विद्यालयमा पढ्दा डेस्क, बेन्च र कापीको सुविधा सहज थिएन। खुला ठाउँमा पढ्नुपर्थ्यो। अंग्रेजी कमजोर भएकै कारण पछि उच्च शिक्षा हासिल गर्दा आफूले भोगेको कठिनाइ पनि बुबाले देखेका थिए। त्यसैले छोराछोरीलाई अंग्रेजी भाषामा सहज बनाउने बुबाको चाहना थियो।
त्यही चाहनाले ओजस्वीलाई भारतको पश्चिम बंगालस्थित कालिम्पोङको सेन्ट जोसेफ कन्भेन्ट पुर्यायो। केटीहरू मात्रै पढ्ने त्यो विद्यालयमा उनी होस्टेल बसेर कक्षा १० सम्म पढिन्। त्यहाँ आईसीएसई परीक्षा दिइन्।
होस्टेल जीवनमा पढाइसँगै अनुशासन थियो। क्याथोलिक विद्यालय भएकाले नैतिक शिक्षालाई विशेष महत्त्व दिइन्थ्यो। कसरी बोल्ने, कसरी खाने, कसरी व्यवहार गर्ने यी सबै कुरा शिक्षाकै हिस्सा थिए। तर त्यो अनुशासनभित्र पनि ओजस्वीको एउटा अर्को संसार थियो घर फर्किने छुट्टीको प्रतीक्षा।
दसैँ र तिहारको एकैचाेटी बिदा लगभग १५ दिनको हुन्थ्यो। दूरी र चाडको अन्तर हेरेर बिदा मिलाइन्थ्यो। लामो बिदा हुँदा उनी काठमाडौँ फर्किन्थिन्। होस्टेलको नियमित तालिका, पढाइ र अनुशासनबाट केही दिनका लागि उनी आफ्नो घर, आफ्नो परिवार र आफ्नै चाडपर्वको संसारमा आइपुग्थिन्।
घटस्थापनादेखि घरमा चाडको रौनक सुरु हुन्थ्यो। जमरा राख्ने तयारी हुन्थ्यो। घर सफा हुन्थ्यो। उनी आमालाई काममा सघाउँथिन् ओजस्वी। वरिपरि पिङ खोज्न जान्थिन्। अरूले चंगा उडाएको हेर्थिन्। आफैँलाई चंगा उडाउन भने आउँदैनथ्यो। अहिले उनका श्रीमान्ले चंगा उडाउन जान्छन् भन्ने सम्झना सुनाउँदा उनको दसैँको एउटा सानो बाल्यकालीन चित्र झल्किन्छ।

सानो छँदा दसैँको नयाँ कपडाको आफ्नै महत्त्व थियो। अरू बच्चाजस्तै उनलाई पनि नयाँ लुगा चाहिन्थ्यो। बाल्यकालमा फ्रिल भएका लुगा मन पर्थे। पछि पाइन्ट र सर्टतिर रुचि गयो। तर नयाँ कपडाका लागि उनले कहिल्यै ठूलो जिद्दी गरिनन्। बाल्यकाल सम्झँदै ओजस्वी भन्छिन्,‘ज्ञानी थिएँ।’
यो ‘ज्ञानी’ हुनु पढाइमा राम्रो हुनुको अर्थमा होइन। उनलाई घरको आर्थिक अवस्था पनि थाहा थियो। आमाबुवाले कति संघर्ष गरेर परिवार चलाइरहेका छन् भन्ने उनले महसुस गर्थिन्। त्यसैले आफ्नो इच्छालाई धेरै ठूलो बनाएर घरमा थप बोझ दिन चाहन्नथिन्।
दसैँको किनमेलमा आमा उनको साथी हुन्थिन्। आमाछोरी बजार जान्थे। कपडा किन्थे। उनी भन्छिन्, ‘फलफूल किनिन्थ्यो। घर सजाउने सामान, बत्ती र अन्य आवश्यक सामग्री।’ आमासँगको यही निकटता पछि उनको जीवनको सबैभन्दा गहिरो सम्झना बन्न पुग्यो।
ओजस्वीलाई खाना पकाउन सानैदेखि रुचि थियो। त्यसको श्रेय उनी आमालाई दिन्छिन्। उनकी आमा असाध्यै मिठाे खाना पकाउँथिन्। नेपाली र थकाली परिकारदेखि चिनियाँ खानासम्म आमाको पकाउने शैलीमा विविधता थियो।
आमासँग ओजस्वीले भान्साको काम सिकिन्। आमाले मसला कसरी हालिन्, कुन परिकार कसरी बनाइन्, के गर्दा स्वाद फरक हुन्छ सबै कुरा हेर्थिन् उनी।
क्रमशः ओजस्वीले सेलरोटी बनाउन सिकिन्। तरकारी बनाउन सिकिन्। अचार बनाउन सिकिन्। भान्सामा आमाको छेउमा उभिँदै उनले खाना पकाउनु मात्र हाेइन घर चलाउने एउटा अदृश्य कला पनि सिकिन्।
परिवारमा उनलाई जिस्क्याएर ‘घरको बुढी’ भनिन्थ्यो। उनी घरमै बस्न, आमालाई पछ्याउन र घरका काममा सघाउन मन पराउँथिन्। दसैँमा पनि उनको मुख्य भूमिका त्यही हुन्थ्यो।
दसैँमा पुस्तक पढेर बस्ने उनको बानी थिएन। चाड भनेको चाडजस्तै मनाउनुपर्छ भन्ने उनको बुझाइ थियो। आमा जे भन्थिन्, उनी त्यही गर्थिन्। सरसफाइमा सघाउँथिन्। घरमा नातेदार र भाइबहिनी आउँथे। उनीहरूलाई खेलाउँथिन्, टेलिभिजन देखाउँथिन्, खाना खाए कि खाएनन् भनेर हेर्थिन्।
बाल्यकालमा उनले आफ्नो दसैँलाई जिम्मेवारीको सानो अभ्यासजस्तो पनि जिइरहेकी थिइन्। दसैँमा पाइने दक्षिणाको पनि उनको आफ्नै कथा छ। पैसा पाएपछि उनी त्यो पैसा आमालाई राख्न दिन्थिन्। पछि आफूलाई मन लागेको कुनै वस्तु किन्नुपरे आमासँग माग्थिन्। उमेर बढ्दै गएपछि आमाबुबालाई आफूले पनि उपहार दिन थालिन्।
पैसाको मूल्य उनले बाल्यकालमै सिकेकी थिइन्। आमाबुवाले गरेको संघर्ष देखेर होला, पैसाका विषयमा उनी कहिल्यै झगडा गर्ने वा अनावश्यक माग राख्ने बच्चा बनिनन्। तर जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा पैसा होइन भन्ने बोध उनलाई आमाको निधनपछि अझ गहिरोसँग भयो।
उनकी आमा बितिन्। त्यसपछि दसैँ आयो तर दसैँ पहिलेको जस्तो आएन। आमाको निधनपछिको दसैँ सम्झँदा उनको आवाजमा एउटा खाली ठाउँ देखिन्छ। उनी भन्छिन्, ‘मलाई आमाको एकदमै मिस हुन्छ।’
चाडपर्वमा आमाको भूमिका कति ठूलो हुन्छ भन्ने कुरा आमासँग हुँदा सामान्य लाग्दोरहेछ। घरको सरसफाइदेखि के पकाउने, कहिले सुरु गर्ने, कसरी गर्ने यी सबैको एउटा लय हुन्छ। त्यो लय आमाले सम्हालिरहेकी हुन्छिन्।
आमा नहुँदा त्यो लय हराउँछ।
‘ममी नहुँदा त कस्तो त्यो आफ्नो घर जस्तो, मेरो हो जस्तो पनि फिल नै नहुँदोरहेछ,’ उनी सम्झिन्छिन्। माइती भनेको आमा हुनु हाे। आफूलाई अझै बच्चाजस्तो महसुस गर्न पाउनु रहेछ। आमा हुँदा जस्तो खुलापन, निश्चिन्तता र अधिकार आमापछि हराउँछ।’
उनलाई आमासँग बजार जान मन पर्थ्यो। सँगै खाना पकाउन मन पर्थ्यो। कुरा गर्न, कहिलेकाहीँ झगडा गर्न र फेरि मिल्न मन पर्थ्यो। आमाको उपस्थितिले ती सबै कुरालाई सामान्य बनाएको थियो। आमाको अनुपस्थितिले त्यही सामान्य जीवनलाई सम्झनाको विषय बनाइदियो।
व्यावसायिक जीवनमा उनी जिम्मेवारीबाट भाग्ने मानिस होइनन्। ओजस्वी बायोकेमिस्ट्रीकी एसोसिएट प्रोफेसर हुन्। बायोकेमिस्ट्री उनको भाषामा शरीरभित्र हुने आणविक प्रक्रियाको अध्ययन हो। पाचन, ऊर्जा, भिटामिन, हर्मोन, रोगको सुरुवातदेखि प्रयोगशालाका परीक्षणसम्म त्यसको सम्बन्ध हुन्छ। उनी क्लिनिकल चिकित्सक नभएकाले बिरामी हेर्ने काम प्रत्यक्ष गर्दिनन् तर स्वास्थ्य क्षेत्रसँग उनको पेसागत सम्बन्ध गहिरो छ।
उनका श्रीमान् भने काममा अझै बढी डुब्ने स्वभावका छन्। चाडपर्वमा पनि ड्युटी पर्ने अवस्था आउँछ। उनी त्यसलाई अस्वाभाविक मान्दिनन्। पेसा भनेको जिम्मेवारी हो भन्ने उनको बुझाइ छ। सायद यही सोच उनको अहिलेको सार्वजनिक भूमिकामा पनि देखिन्छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको जिम्मेवारीलाई उनी पदका रूपमा भन्दा कामका रूपमा हेर्छिन्। उनको भनाइमा, ‘दिस इज ह्वाट आई वाज सेन्ट टु डु, दिस इज ह्वाट आई ह्याभ टु डु।’
समितिका बैठक, विधेयक, अध्ययन यी नै उनको प्राथमिकताका विषय हुन्। पार्टीले जिम्मेवारी दिए त्यसलाई पनि समय मिलाएर गर्छिन्। तर पद थप्दै जाने मोह भने उनी देखाउँदिनन्।
पार्टीको महाधिवेशनमा पनि उनी आफूलाई ‘गुड भोटर’का रूपमा मात्र गएको बताउँछिन्। एक व्यक्ति, एक पद भन्ने धारणालाई उनले मनन गरिन्। आफूले एउटा जिम्मेवारी सम्हालिरहेकाले अर्को पद खोज्नु आवश्यक छैन भन्ने उनको बुझाइ रह्यो।
कार्यकर्ताले आफ्ना समस्या लिएर आउँछन्। कहिलेकाहीँ उनको समितिको क्षेत्रभन्दा बाहिरका समस्या पनि आउँछन्। पुलका कुरा, स्थानीय समस्या, सार्वजनिक सरोकारका विषय। उनी सकेसम्म समग्र जनताको हितमा के गर्न सकिन्छ भन्ने कोणबाट हेर्ने प्रयास गर्छिन्।
पहिलेको जस्तो ठूलो परिवार अब छैन। आफन्तका छोराछोरी धेरैजसो विदेशमा छन्। त्यसैले ठूलो जमघटको आकार पनि घटेको छ। पहिले खसी ल्याएर घरमै काट्ने चलनजस्तो हुन्थ्यो। अहिले आवश्यकताअनुसार मासु किनेर ल्याइन्छ। समय बदलिएको छ, परिवारको आकार बदलिएको छ, दसैँ मनाउने तरिका पनि बदलिएको छ।
ओजस्वीका दुई छोरी छन्। एउटी पाँच वर्षकी र अर्की दश वर्षकी। उनीहरूलाई हेर्दा ओजस्वीले आफ्नो बाल्यकालसँग तुलना गर्छिन्। उनलाई लाग्छ, आफ्ना छोरीहरू आफूजस्ता छैनन्।
उनी सानैदेखि आमाबुवाले भनेको कुरा मान्ने, काम अह्राएपछि चुपचाप गर्ने स्वभावकी थिइन्। उनका छोरीहरू भने अलि विद्रोही छन्। उनीहरू आफ्नै कुरा राख्छन्। ‘हैन, यसरी हुँदैन, म यसरी गर्छु, मेरो कुरा सुन,’ भन्ने ढंगको स्वभाव छ उनीहरूको।
तर आमाका रूपमा ओजस्वीलाई यसमा चिन्ता भन्दा गर्व बढी छ। आफ्ना कुरा राख्न नडराउने, प्रश्न गर्न सक्ने, आफूलाई लागेको कुरा भन्न सक्ने। समयले छोरीहरूको पुस्तामा ल्याएको परिवर्तनको सानो दृश्य पनि यही हो।
ओजस्वी आफैँ भने सानैदेखि खेलकुदमा पनि सक्रिय थिइन्। टेबलटेनिस उनको खेल थियो। विद्यालयबाटै उनी छनोट भएकी थिइन्। पछि मेडिकल कलेजमा पनि छात्रातर्फ टेबलटेनिसमा प्रायः पहिलो हुन्थिन्।
विद्यालय जीवनमा पढाइसँगै परियोजना कार्य पनि हुन्थ्यो। बिदामा पातहरू संकलन गरेर टाँस्ने, वनस्पतिबारे अध्ययन गर्ने, सानो व्यवसायीले कसरी पैसा कमाउँछ भनेर लेख्ने जस्ता काम दिइन्थे। उनलाई ती कामहरू रोचक लाग्थे।
तर क्याथोलिक विद्यालय भएकाले दसैँ त्यहाँ मनाइँदैनथ्यो। क्रिसमस र इस्टर मुख्य चाड थिए। चर्च जाने, हाम्स गाउने, कोयर समूहमा सहभागी हुने अवसर उनलाई मिल्थ्यो। उनी कोयर समूहमा थिइन् र माथिल्लो सुर गाउन सक्ने भएकाले विशेष भागमा गाउने गर्थिन्। त्यो अनुभव पनि उनलाई रमाइलो लाग्थ्यो।
यसले उनको धार्मिक बुझाइलाई पनि केही फराकिलो बनायो। आमाबुवा हिन्दु धार्मिक आस्थामा गहिरो थिए। बिहान पूजा हुन्थ्यो। शंख बजाउने, फूल चढाउने काममा उनले पनि सहयोग गर्थिन्। तर विवाहपछि उनको परिवार धार्मिक रूपमा मिश्रित छ। श्रीमान् बुद्धिस्ट हुन्। उनी हिन्दु र बौद्ध दुवै परम्पराप्रति परिचित छिन्।
क्याथोलिक विद्यालयमा पढेकाले क्रिस्चियन परम्पराबारे पनि अनुभव छ। मुस्लिम साथीहरूसँगको संगतले अर्को धर्मबारे बुझ्ने अवसर मिल्यो। उनका लागि भगवान् कुनै एउटा आकार वा नाममा सीमित छैनन्।
पहिले दसैँ आउँदा उनी आमाको छेउमा बसेर काम गर्थिन्। अहिले छोरीहरू उनका छेउमा छन्। पहिले उनी आमासँग बजार जान्थिन्, अहिले आफ्ना छोरीहरूलाई लिएर बजार जान्छिन्। पहिले आमा के किन्ने, के पकाउने, घर कसरी सजाउने भनेर सोच्थिन्। अहिले त्यही प्रश्नहरू उनको अगाडि आउँछन्।
भूमिका फेरिएको छ। तर त्यससँगै आमाको सम्झना झन् गहिरिएको छ।
छोरीहरूले कुनै कुरा माग्दा, रिसाउँदा, जिद्दी गर्दा वा आफूलाई मन परेको कुरासँग भन्दा उनलाई कहिलेकाहीँ आफ्नी आमाको सम्झना आउँछ। आमाले उनलाई जसरी हुर्काइन्, त्यसको अर्थ अहिले आएर अझ धेरै बुझिन थालेको छ।
दसैँमा अहिले उनी आफ्ना छोरीहरूको आँखाबाट चाडलाई हेर्छिन्। नयाँ कपडाको उत्साह, मिठो खानेकुराको प्रतीक्षा, टीकाको दिनको चहलपहल, आफन्त भेट्ने उत्सुकतायी सबैमा उनलाई आफ्नै बाल्यकालको छाया देखिन्छ।
तर एउटा फरक छ। उनको दसैँमा आमा थिइन्। छोरीहरूको दसैँमा उनी स्वयं आमा बनेर उभिएकी छन्। उनी अहिले पनि परिवारका धेरै सामान आफैँ किनमेल गर्छिन्। श्रीमान् व्यस्त हुने भएकाले घरका आवश्यक कामको ठूलो हिस्सा उनैले सम्हाल्छिन्। त्यसलाई उनी विशेष रुचिभन्दा पनि जिम्मेवारीका रूपमा लिन्छिन्।
दसैँमा दिइने गृहकार्यबारे उनको आफ्नै विचार छ। बिदामा विद्यार्थीले पढाइबाट पूर्ण रूपमा विच्छेद हुनु ठिक होइन। निरन्तरता राख्न थोरै गृहकार्य दिन सकिन्छ। तर गृहकार्यको बोझले बालबालिकाले चाडपर्व नै मनाउन नपाउने अवस्था उचित होइन।
बरु उनी भन्छिन्,‘बालबालिकालाई दसैँ कसरी मनाए, के सिके, चाडको पृष्ठभूमि के हो, कहाँ घुमे, के देखे भनेर लेख्न लगाउन सकिन्छ। त्यसले सम्झना गर्ने, सोच्ने र आफ्नो अनुभवलाई शब्दमा उतार्ने क्षमता विकास गर्छ।’
उनको आफ्नै विद्यालय जीवनमा पनि बिदाको गृहकार्य यस्तै सिर्जनात्मक थियो। पात संकलन गर्ने, वनस्पति हेर्ने, सानो व्यवसायको अध्ययन गर्ने। यी कामले पुस्तकबाहिरको संसारसँग जोड्थे।
शिक्षा समितिको सभापतिको रूपमा विद्यालय र शिक्षाबारे बोल्दा उनको आफ्नै बाल्यकालको त्यो अनुभव कतै न कतै सँगै हिँडिरहेको छ। तर सबैभन्दा बलियोसँग उनीसँग हिँडिरहेको कुरा भने आमाको सम्झना हो।





