ईसीडी शिक्षक र शिक्षालाई फाइदा पुग्ने गरी ऐनमा ‘बोल्ड’ निर्णयको तयारीमा समिति सभापति

हिमाल प्रेस २१ असोज २०८३ १४:०१ | Wednesday, October 7, 2026
ईसीडी शिक्षक र शिक्षालाई फाइदा पुग्ने गरी ऐनमा ‘बोल्ड’ निर्णयको तयारीमा समिति सभापति प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचन

काठमाडौँ- प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षा र शिक्षकका विषयमा विभिन्न सरोकारवालाले चासो र दबाब बढाइरहेका बेला प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले ईसीडीसम्बन्धी विषयमा दीर्घकालीन र प्रभावकारी निर्णय गर्ने तयारी गरेकी छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको छ। मन्त्रालयबाट विधेयक प्रतिनिधिसभाको शिक्षा समितिमा आएपछि त्यसमा विस्तृत छलफल हुनेछ। सोही क्रममा ईसीडी शिक्षा र शिक्षकका विषयमा पनि आवश्यक नीतिगत निर्णय लिइने सभापति शेरचननिकट स्रोतले जनाएको छ।

एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)को आयोजनामा हालै काठमाडौँमा आयोजित ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ कार्यक्रममा पनि सभापति शेरचनले शिक्षा नीति एक/दुई वर्षका लागि मात्रै नभई आगामी १०, १५ वा २० वर्षसम्म कार्यान्वयन गर्न सकिने गरी बनाउनुपर्ने बताएकी थिइन्।

‘नीति निर्माण र कार्यान्वयन गर्दा दीर्घकालीन सोच र दूरदृष्टि आवश्यक हुन्छ,’ उनले भनेकी थिइन्। बाल विकासको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका शिक्षक तथा अभियन्ताले आफ्नो पहिचान र भूमिकाबारे चासो राख्नु स्वाभाविक भएको उनले बताइन्। अभियन्ताहरू कहिलेकाहीँ भावनात्मक भएर आक्रामक रूपमा प्रस्तुत हुन सक्ने भए पनि उनीहरूको चासोलाई नीतिगत छलफलमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

बालबालिकाको जीवनको प्रारम्भिक चरणमा संज्ञानात्मक विकास तीव्र हुने भएकाले यस अवधिलाई विशेष महत्त्व दिनुपर्नेमा उनले जोड दिइन्। प्रारम्भिक चरणमै इन्द्रिय, शारीरिक तथा मोटर, सामाजिक र संज्ञानात्मकलगायत आधारभूत सीपको विकास हुने उनले बताइन्।

खेलमा आधारित सिकाइ तथा विभिन्न सीपमूलक क्रियाकलापमार्फत बालबालिकाको समुचित विकास गर्न सकिए उनीहरू भविष्यमा आत्मविश्वासी र दक्ष वयस्क बन्न सक्ने उनको भनाइ थियो। ‘दक्ष र आत्मविश्वासी नागरिकको संख्या बढेमा देशको उन्नति र समृद्धिमा पनि योगदान पुग्छ,’ उनले भनिन्।

ईसीडीको अवधि एक वर्ष वा दुई वर्ष बनाउने विषयमा समेत अध्ययन आवश्यक रहेको उनले बताइन्। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले एक वर्षको तुलनामा दुई वर्ष ईसीडी शिक्षा पाएका बालबालिकाको शैक्षिक तथा समग्र कार्यसम्पादन राम्रो हुने देखाएको उनले उल्लेख गरिन्।

उनका अनुसार दुई वर्षे ईसीडी शिक्षा पूरा गरेका बालबालिकामा विशेष शिक्षाको आवश्यकता कम पर्ने लगायतका सकारात्मक प्रभाव देखिएका छन्।

प्रकाशित: २१ असोज २०८३ १४:०१ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast