ईसीडी नीति दीर्घकालीन सोचसहित बनाउनुपर्छ : सभापति शेरचन

हिमाल प्रेस २० असोज २०८३ ११:४३ | Tuesday, October 6, 2026
ईसीडी नीति दीर्घकालीन सोचसहित बनाउनुपर्छ : सभापति शेरचन

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले प्रारम्भिक बाल विकास (ईसीडी) सम्बन्धी नीति दीर्घकालीन सोचका आधारमा निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्।

एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)को आयोजनामा काठमाडौँमा हालै आयोजित ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ कार्यक्रममा उनले एक/दुई वर्षका लागि मात्र नभई आगामी १०, १५ वा २० वर्षसम्म कार्यान्वयन गर्न सकिने गरी नीति बनाउनुपर्ने बताइन्। ‘नीति निर्माण र कार्यान्वयन गर्दा दीर्घकालीन सोच र दूरदृष्टि आवश्यक हुन्छ,’ उनले भनिन्।

प्रारम्भिक बाल विकासको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका शिक्षक तथा अभियन्ताले आफ्नो पहिचान र भूमिकाबारे चासो राख्नु स्वाभाविक भएको उनको भनाइ थियो। कहिलेकाहीँ अभियन्ताहरू भावनात्मक भएर आक्रामक रूपमा प्रस्तुत हुन सक्ने भए पनि उनीहरूको चासोलाई नीतिगत छलफलमार्फत सम्बोधन गर्नुपर्ने उनले बताइन्।

डा.शेरचनले बालबालिकाको जीवनको प्रारम्भिक चरणमा संज्ञानात्मक विकास तीव्र रूपमा हुने भएकाले यस अवधिलाई विशेष महत्त्व दिनुपर्ने बताइन्। यस चरणमा इन्द्रिय, शारीरिक तथा मोटर, सामाजिक र संज्ञानात्मकजस्ता आधारभूत सीपको विकास हुने उनको भनाइ थियो।

खेलमा आधारित सिकाइ तथा विभिन्न सीपमूलक क्रियाकलापमार्फत प्रारम्भिक चरणमै बालबालिकाको समुचित विकास गर्न सकिए उनीहरू भविष्यमा आत्मविश्वासी र दक्ष वयस्क बन्ने उनले बताइन्। ‘दक्ष र आत्मविश्वासी नागरिकको संख्या बढेमा देशको उन्नति र समृद्धिमा पनि योगदान पुग्छ,’ उनले भनिन्।

ईसीडीको अवधि एक वर्ष वा दुई वर्ष बनाउने विषयमा पनि अध्ययन आवश्यक रहेको उनले बताइन्। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले एक वर्षको तुलनामा दुई वर्ष ईसीडी शिक्षा पाएका बालबालिकाको शैक्षिक तथा समग्र कार्यसम्पादन राम्रो हुने देखाएको उनको भनाइ छ।

उनका अनुसार दुई वर्षे ईसीडी शिक्षा पूरा गरेका बालबालिकामा विशेष शिक्षाको आवश्यकता कम पर्ने लगायतका सकारात्मक प्रभाव देखिएका छन्।

शेरचनले ईसीडीसम्बन्धी नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय अध्ययन, वैज्ञानिक प्रमाण र नेपालको आवश्यकतालाई समेत आधार बनाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २० असोज २०८३ ११:४३ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast