डा.ओजस्वीले गराइन् त्रिशूली अस्पतालको समस्याबारे सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २६ भदौ २०८३ १७:४४ | Friday, September 11, 2026
डा.ओजस्वीले गराइन् त्रिशूली अस्पतालको समस्याबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभा सदस्य डा.ओजस्वी शेरचनले बाढीका कारण नुवाकोटको विदुर-९ कलनीस्थित त्रिशूली अस्पताल प्रभावित भएकाले तत्काल विद्युत् आपूर्ति, डिजेल व्यवस्थापन र बेलिब्रिज निर्माण गर्न सरकारसँग माग गरेकी छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति समेत रहेकी शेरचनले विदुर-कलनी जोड्ने पक्की पुलहरू भत्किएपछि विदुर, बेलकोटगढी, लिखु, सूर्यगढी, दुप्चेश्वर, शिवपुरी तथा रसुवाबाट दैनिक बिरामी अस्पताल आउन नसक्ने अवस्था सिर्जना भएको बताइन्।

उनले जटिल बिरामी तथा गर्भवती महिलालाई अन्यत्र रिफर गर्न तुइन वा हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का अनुसार शल्यक्रिया भइरहेकै समयमा विद्युत् आउने-जाने समस्या रहेको र ब्याकअप जेनेरेटर सञ्चालनका लागि डिजेलको चरम अभाव रहेको शेरचनले बताइन्। यस्तो अवस्था बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषय भएको उनको भनाइ थियो।

उनले त्रिशूली अस्पतालमा विद्युत् आपूर्ति सुनिश्चित गरी जेनेरेटर सञ्चालनका लागि तत्काल डिजेल उपलब्ध गराउन तथा विदुर-कलनी जोड्ने बेलिब्रिज निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरिन्।

आपत्कालीन अवस्थामा अस्पतालको सेवा अवरुद्ध हुनु स्वास्थ्य सेवा मात्र नभई मानवीय जीवन नै जोखिममा पर्नु भएको शेरचनले बताइन्।

प्रकाशित: २६ भदौ २०८३ १७:४४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast