काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीको जारी १५ औँ महाधिवेशनमा उनले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ। युवा ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आाधारित प्रतिस्पर्धी अर्थतन्त्रमा रुपान्तरण गर्ने समय यही हो,’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्,‘यही सोच, यही विश्वास र यसलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढ प्रतिबद्धताका साथ मैले नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको छु।’
उनले आर्थिक विकासका एजेन्डालाई राजनीतिक केन्द्रमा पुर्याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रुपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने उल्लेख गरेका छन्।
‘आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पु¥याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रुपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो,’ उनले भनेका छन्।
राजनीतिका लागि राजनीति गरेर मात्रै देशमा रुपान्तरण गर्न नसकिने चौधरीको भनाइ छ। उनले भनेका छन्,‘अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रुपान्तरण गर्न सकिँदैन। यसका लागि आर्थिक सम्मुन्नतीका स्पष्ट योजनामा काम गर्नु आवश्यक छ। आर्थिक समुन्नतीको जिम्मेवारी सम्हालन म तयार छु।’
चौधरीले बीपी कोइरालाको दूरगामी राजनीतिक सोच र सुवर्ण शमशेर जबराले हालेको आर्थिक विकासको जगलाई समृद्ध बनाउनु अहिलेको आवश्यकता रहेको जिकिर गरेका छन्। बीपी र सुवर्णको सपनालाई साकार पार्न आफूले हरसम्भव प्रयास गर्ने उनले उल्लेख गरेका छन्।
‘नेपाललाई अब आर्थिक रुपान्तरणमा थप ढिलाइ गर्नु हुँदैन। हामीले राजनीतिक परिवर्तनका अनेक चरण पार गरिसकेका छौँ, तर आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुरुप हुन सकेको छैन,’ उनले भनेका छन्,‘यह ियथार्थलाई आत्मसात् गर्दै म नेपाली कांग्रेसका सभापति गगन थापासँग आर्थिक रुपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको छु।’



