‘संयम’ छाडेर सशक्त प्रतिरोध गर्ने कांग्रेसको चेतावनी

हिमाल प्रेस १२ मंसिर २०८३ १७:२५ | Saturday, November 28, 2026
10
SHARES
‘संयम’ छाडेर सशक्त प्रतिरोध गर्ने कांग्रेसको चेतावनी ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसले सरकारको कार्यशैली, संवैधानिक मर्यादाको उल्लङ्घन, विधिको शासनमाथिको हस्तक्षेप, अर्थतन्त्रप्रतिको उदासीनता र जनजीविकाका सवालमा तीव्र आलोचना गर्दै अब सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्ने चेतावनी दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले सरकारका पछिल्ला गतिविधि अनुभवको कमी वा एकाध कमजोरी मात्रै नभई नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति हुन थालेको भन्दै सरकारलाई सचेत गराएको हो।

मंसिर ८ देखि ११ गतेसम्म पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले सरकार संसद्प्रति जवाफदेही हुन नचाहेको, अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको तथा संवैधानिक निकाय र राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप गर्ने प्रवृत्ति देखाएको आरोप लगाएको छ।

‘रचनात्मक प्रतिपक्ष हुनु भनेको सरकारका गलत क्रियाकलापप्रति मौन रहनु होइन। जिम्मेवार प्रतिपक्ष हुनु भनेको सरकारको स्वेच्छाचारितालाई सहनु पनि होइन,’ बैठकपछि शनिबार जारी कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता तथा २०८२ भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश फिर्ता लिन माग गरेको छ।

संसद् अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादा पालना गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

सरकारले संविधानबाट प्राप्त अधिकार प्रयोग गर्ने तर त्यसले निर्धारण गरेका सीमा, मर्यादा र दायित्व स्वीकार नगर्ने प्रवृत्ति लोकतन्त्रलाई अस्वीकार गर्ने प्रवृत्ति भएको कांग्रेसको निष्कर्ष छ।

कांग्रेसले सरकारमाथि राज्यशक्तिको चयनात्मक प्रयोग गरेको आरोप पनि लगाएको छ। सरकारका विरोधीलाई अनुसन्धान र कारबाहीमा तान्ने तर निकटस्थलाई संरक्षण गर्ने प्रवृत्ति देखिएको भन्दै पार्टीले सुनकोशी–मरिन आयोजनासँग सम्बन्धित प्रकरण र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप भएको आरोप गम्भीर रहेको भन्दै कांग्रेसले यी प्रकरणमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न तथा दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

‘प्रधानमन्त्रीको समूहमा रहेका व्यक्ति र सत्तारूढ दलका लागि एउटा कानुन अनि अरू नागरिकका लागि अर्को कानुन हो?’ कांग्रेसले सरकारलाई प्रश्न गरेको छ।

सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग हुने तथा सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति पाउनु पनि दुरुपयोग हुने कांग्रेसको धारणा छ।

कांग्रेसले अर्थतन्त्र, जनजीविका र निजी क्षेत्रको अवस्थाप्रति सरकार पर्याप्त गम्भीर नभएको भन्दै आलोचना गरेको छ। आमनागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, महँगीले भान्सा थिचिएको, साना तथा मझौला उद्यमीले व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्न कठिनाइ भोगिरहेको कांग्रेसको भनाइ छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै लगानी बढ्न नसकेको, खराब कर्जाको चिन्ता बढेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको पनि कांग्रेसले उल्लेख गरेको छ। सहकारी पीडित, किसान, श्रमिक तथा उद्यमीका समस्या, सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र स्वास्थ्य बिमा कार्यक्रमको अवस्थाप्रति पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

भ्रष्टाचार नियन्त्रणमा संस्थागत र प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न नसकेको भन्दै कांग्रेसले अर्थतन्त्रको यथार्थ विवरण सार्वजनिक गर्न, समयबद्ध कार्ययोजना ल्याउन, पुँजीगत खर्च बढाउन, महँगी नियन्त्रण गर्न र जनजीविकाका सवालमा केन्द्रित हुन माग गरेको छ।

कांग्रेसले पक्राउ, थुनछेक र अनुसन्धानको प्रक्रियामा प्रमाणभन्दा पहिले राज्यको बल प्रयोग हुने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरण प्रतिकूल बनाउने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ। कर्मचारीसमेत अनिश्चितता र त्रासका कारण निर्णय लिन हिचकिचाउने वातावरण बनेको कांग्रेसको आरोप छ।

सरकारले कार्यभार सम्हाल्दा सय दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका काम, विभिन्न समुदाय तथा समूहसँग गरेका सम्झौता र गठन गरेका समिति तथा आयोगको प्रगतिबारे नागरिकलाई स्पष्ट जानकारी नदिएको कांग्रेसको आरोप छ।

समस्या समाधानका लागि समिति गठन गर्ने, असन्तुष्टि साम्य पार्न सम्झौता गर्ने र लोकप्रियता प्राप्त गर्न घोषणा गर्ने तर कार्यान्वयनमा जिम्मेवारी नलिने प्रवृत्ति देखिएको कांग्रेसले जनाएको छ।

सरकारको सयदिने कार्ययोजनाको उपलब्धि, विभिन्न समुदायसँग भएका सम्झौताको प्रगति तथा अध्ययन र छानबिन समितिका सार्वजनिक गर्न मिल्ने प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ। कार्यान्वयन हुन बाँकी प्रतिबद्धता र सम्झौताका लागि स्पष्ट समयसीमासहितको कार्ययोजना पनि माग गरिएको छ।

भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, मानव अधिकार आयोगको प्रतिवेदन तथा गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदनको अवस्थाबारे पनि कांग्रेसले प्रश्न उठाएको छ।

भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकीलगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा सरकारको प्रभावकारी रणनीति, कार्यक्रम तथा कार्ययोजना नदेखिएको कांग्रेसले जनाएको छ।

बाढी गएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रभावित नागरिक चिसोमा त्रिपालमुनि बस्न बाध्य भएको, राहत सामग्री गोदाममा थन्किएको, घरभाडा तथा राहत रकम प्रभावितसम्म नपुगेको र मृतक तथा बेपत्ताको वास्तविक तथ्याङ्कसमेत संकलन हुन नसकेको कांग्रेसको आरोप छ।

प्रभावित क्षेत्रमा संघीय सरकारको उपस्थिति न्यून रहेको तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरेको भन्दै कांग्रेसले तत्काल सुरक्षित आश्रय, घरभाडा सहायता, पुनर्निर्माणको एकीकृत खाका, राहत, अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न माग गरेको छ।

बाढी प्रभावित क्षेत्रका जलविद्युत्, पर्यटन तथा साना व्यवसायको पुनर्स्थापनाका लागि स्पष्ट कार्यक्रम ल्याउन र प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

कांग्रेसले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका लागि सरकारले अपनाएको अध्यादेशको बाटोसमेत गलत भएको ठहर गरेको छ।

बस्ती हटाउने क्रममा पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास, कानुनी प्रक्रिया र पुनर्स्थापनाको सुनिश्चितता नगरी बल प्रयोग गरेको भन्दै कांग्रेसले यसअघि पनि आपत्ति जनाएको स्मरण गराएको छ। विस्थापित नागरिकले होल्डिङ सेन्टरमा भोग्नुपरेको कठिनाइ, आधारभूत सुविधाको अभाव तथा व्यवस्थापकीय कमजोरीका कारण भएका मानवीय क्षति र मृत्युका घटनालाई कांग्रेसले गम्भीर विषय भनेको छ।

सार्वजनिक जग्गाको संरक्षण राज्यको दायित्व भए पनि त्यसका नाममा नागरिकको आवास, जीविकोपार्जन र मानवीय मर्यादालाई उपेक्षा गर्न नमिल्ने कांग्रेसको धारणा छ।

भूमिहीन समस्या समाधानका लागि अध्यादेशको सट्टा संसद्‌बाट स्थायी कानुन निर्माण गर्नुपर्ने भन्दै कांग्रेसले तत्कालीन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ पारित गरी कार्यान्वयन गर्न माग गरेको छ।

वास्तविक सुकुम्बासीको पहिचान, सार्वजनिक जग्गा कब्जा गर्नेहरूको कारबाही, जोखिमपूर्ण क्षेत्रमा रहेका बस्तीको व्यवस्थापन र सुरक्षित पुनर्स्थापनाका लागि स्थानीय तह तथा प्रभावित समुदायसँग समन्वय गर्न पनि कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका केही उपलब्धिलाई सकारात्मक रूपमा लिए पनि राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयले अपेक्षित प्राथमिकता नपाएको भन्दै आलोचना गरेको छ।

भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौँ–भैरहवा–लखनऊ (बी३४५) हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणका लागि घोषणा गरिएको विकास सहयोग तथा शिक्षा, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले स्वागत गरेको छ।

सीमालगायतका संवेदनशील विषयमा प्रधानमन्त्रीले अपेक्षित कूटनीतिक पहल गर्न नसकेको कांग्रेसको आरोप छ। प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध, विशेषगरी सीमा विषयमा अपरिपक्व तथा उत्तेजक अभिव्यक्ति दिएर लोकप्रियता प्रदर्शन गरेको तर उच्चस्तरीय संवादको अवसरमा विषयलाई प्राथमिकता नदिएको कांग्रेसले जनाएको छ।

संयुक्त वक्तव्य र संयुक्त दूरदृष्टि पत्र जारी हुनु मात्रै उपलब्धिको पर्याप्त आधार नभएको भन्दै कांग्रेसले त्यसको विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र परिणामका आधारमा मूल्याङ्कन हुनुपर्ने जनाएको छ।

सीमा विषयलाई द्विपक्षीय संवादको मूल एजेन्डामा कायम राख्न, विद्यमान संयन्त्र सक्रिय बनाउन र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई दबाब दिने कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै संविधान, लोकतन्त्र, राष्ट्रिय हित, नागरिक अधिकार र जनजीविकाका सवालमा सरकार चुकेमा संसद् र सार्वजनिक मञ्चबाट निरन्तर प्रश्न उठाउने तथा सशक्त खबरदारी गर्ने जनाएको छ।

कांग्रेसले पार्टीको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न सरकारलाई सचेत गराएको छ। पार्टीले सरकारलाई गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन, विधिको शासन सुनिश्चित गर्न तथा अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast