काठमाडौँ- नेपाली कांग्रेसकी महामन्त्री डा.डिला संग्रौला पन्तले पार्टीभित्रको वैधानिकता र आन्तरिक विवादको विषय टुंगिएकाले अब जनताका समस्या तथा राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन्।
शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको उल्लेख गर्दै पार्टीभित्रको वैधानिकताको बहस अन्त्य भएको बताइन्।
उनले कांग्रेस अहिले निर्णायक र ऐतिहासिक मोडमा रहेको भन्दै आन्तरिक अन्योल, विवाद र अवरोधबाट बाहिर निस्केर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।
‘निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानसम्मत विवरण र आधिकारिकतालाई अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको छ। यसले पार्टीभित्रको आन्तरिक विवाद र वैधानिकताको प्रश्नलाई सदाका लागि समाप्त पारेको छ। अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै,’ उनले भनिन्।
महामन्त्री संग्रौलाले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै गत भदौमा आएको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदाय अझै पुनर्वासको पर्खाइमा रहेको बताइन्। प्रभावित नागरिकको पुनर्वास तथा राहतका विषयमा सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि नेपाली जनताले आर्थिक चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै अमेरिका-इरान युद्धले विश्वभर अस्थिरता र महँगी बढाएको उनले बताइन्।
जनताका दैनिक समस्या समाधानमा जुट्नुपर्ने समयमा नागरिकका मौलिक अधिकार संकुचित हुने अवस्था देखिनु चिन्ताजनक रहेको भन्दै उनले सरकार जनताका आवश्यकता, अधिकार र जीवनयापनका सवालमा गम्भीर हुनुपर्ने धारणा राखिन्।



