नारायणगढ-मुग्लिङ सडकमा दैनिक ५ घण्टा आवागमन रोकिँदै

हिमाल प्रेस १२ मंसिर २०८३ ६:४५ | Saturday, November 28, 2026
नारायणगढ-मुग्लिङ सडकमा दैनिक ५ घण्टा आवागमन रोकिँदै मुग्लिन-नारायणगढ सडक। फाइल तस्बिर

चितवन- नारायणगढ-मुग्लिङ सडकको तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय अपनाउन सडक बन्द गरेर काम गरिने भएको छ। जोखिमपूर्ण भिरको व्यवस्थापन र पहिरो रोकथामका काम अघि बढाउन मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहनेछ। पहिरो नियन्त्रणका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर उक्त समय सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

तुइनखोलामा हिउँदमा समेत पहिरो खस्ने समस्या बढेपछि सडक डिभिजन कार्यालय भरतपुरले जोखिम न्यूनीकरणका लागि विशेष प्राविधिक विधि प्रयोग गर्न लागेको हो। गत वर्षदेखि वर्षायाममा मात्र नभई अन्य समयमा पनि पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या देखिएको थियो।

पहिरो प्रभावित भिरको स्थायित्व कायम गर्न ठूला ढुंगा हटाउने, किला रड प्रयोग गरी भिरलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि अपनाउने तथा भिरभित्रको पानी निकासका लागि ‘होरिजोन्टल ड्रेन’ निर्माण गरिनेछ। यसका अतिरिक्त बायोइन्जिनियरिङ विधिबाट पनि पहिरो रोकथामको प्रयास गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार भिरको बनावट र अवस्थाअनुसार द्विआयामिक तथा त्रिआयामिक बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ। पहिरो नियन्त्रणको मुख्य उपाय भने नेलिङ प्रविधि रहने उनले बताए।

गत असोजदेखि रोकिएको तुइनखोलाको पहिरो नियन्त्रण कार्य पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएका बेला पनि तुइनखोलामा काम गरिएको थियो। कृष्णभीरमा यातायात सञ्चालन भएपछि तुइनखोलाको काम सहज बनाउन रोकिएको शर्माले बताए।

प्राविधिक रूपमा तुइनखोलाको पहिरो नियन्त्रण गर्न कम्तीमा १५ दिन सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको उनको भनाइ छ। कति दिन सडक बन्द गरेर काम गर्ने भन्ने निर्णय प्राविधिक मूल्यांकनपछि गरिनेछ। हाल भने अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ।

मुग्लिङनजिक पृथ्वी राजमार्गको घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र पर्सिदेखि उक्त राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिए। घोप्टेभीरको काम सम्पन्न भएपछि तुइनखोलामा पहिरो नियन्त्रणको कामलाई प्राथमिकता दिइनेछ।

नारायणगढ-मुग्लिङ सडक बन्द भए पनि काठमाडौँबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। प्रशासनले यात्रुलाई सम्भावित अवरोधलाई ध्यानमा राखेर यात्रा योजना बनाउन आग्रह गर्दै सडक बन्दका कारण हुने असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रकाशित: १२ मंसिर २०८३ ६:४५ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast