नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’।फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा प्रभावितको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेताकार्यकर्ता खटिएको जिकिर गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले विपद्को घडीमा आफ्नो पार्टीपंक्ति अग्रपंक्तिमा रहेर जनताको सेवामा जुटेको बताएका हुन्।
‘आन्दोलनका बेला लाखौं कार्यकर्ता उतार्ने दाबी गरे पनि विपद्मा किन उपस्थिति देखिएन?’ भनी सञ्चारकर्मीले गरेको प्रश्नको प्रतिवाद गर्दै संयोजक प्रचण्डले अरू कसैको भन्दा प्रभावकारी रूपमा आफ्ना कार्यकर्ता खटिएको जिकिर गरे।
‘सबभन्दा राम्रोसँग फिल्डमा कसैका कार्यकर्ता गए भने त्यो हाम्रै पार्टीका हुन्,’ प्रचण्डले भने,‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका घटनाहरू देख्नुभयो होला। यो विपद्मा अरू को परिचालित भयो?’
पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लगायतका नेताकार्यकर्ता बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा बाटो खुलाउने काममा निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।



