मोरङ- विराटनगरमा नेपाल प्रहरीले ३९८ किलो गाँजासहित जिप बरामद गरेको छ।
विराटनगर महानगरपालिका-३ आयल निगमस्थित सडकमा प्रहरी चौकी बरगाछीले आकस्मिक चेकजाँचका क्रममा ठूलो परिमाणमा जिपबाट गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको जिप चेकजाँच टोलीलाई देखेपछि युटर्न गरेर भाग्न खोजेको थियो।
सो क्रममा जिपले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनापछि प्रहरीले जिप खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोकामा ३९८ किलो गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार जिप चालक भने घटनास्थलबाट फरार भएका छन्। उनको खोजतलास तथा पहिचान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बागमती प्रदेशको कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ।



