विपद्‌को जोखिम बढेपछि कास्कीका विद्यालय दुई दिन बन्द

हिमाल प्रेस ८ असोज २०८३ १४:५४ | Thursday, September 24, 2026
10
SHARES
विपद्‌को जोखिम बढेपछि कास्कीका विद्यालय दुई दिन बन्द एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।

पोखरा- विभिन्न स्थानमा हुन सक्ने भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्लाका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गरिने भएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीले एक सूचना जारी गर्दै असोज ८ र ९ गते जिल्लाभरका विद्यालयहरूमा बिदा दिन निर्देशन दिएको छ। यो बिदा पछि आउने बर्खे वा हिउँदे बिदाबाट समायोजन गरिने एकाइले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विज्ञहरूको पूर्वानुमान अनुसार असोज ९, १० र ११ गते देशभर भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना छ। गण्डकी प्रदेश र कास्की जिल्ला पनि बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध जस्ता विपद्‌को उच्च जोखिममा रहेकाले पूर्वतयारी स्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जिल्लाका ५ वटै पालिकाहरूसँगको छलफल र समन्वयपछि शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशानुसार यो कदम चालिएको एकाइ प्रमुख (उपसचिव) लोकनाथ आचार्यले जानकारी दिएका छन्।

एकाइले अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई बालबालिकाहरूलाई नदी, खोला, पहिरो र जोखिमयुक्त स्थानमा जान नदिन र सजगता अपनाउन आग्रह गरेको छ।

विपद्को अवस्थामा आवश्यक परेमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

प्रकाशित: ८ असोज २०८३ १४:५४ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast