छात्रामाथि यौन दुर्व्यवहार आरोपित श्री मावि गुठबजारका प्रअ फरार

हिमाल प्रेस ५ असोज २०८३ १२:४८ | Monday, September 21, 2026
छात्रामाथि यौन दुर्व्यवहार आरोपित श्री मावि गुठबजारका प्रअ फरार

काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित श्री मावि गुठबजारका प्रधानाध्यापक विनोद न्यौपानेमाथि आफ्नै विद्यालयकी १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार प्रयासको आरोप लागेको छ। घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराए छन् भने आरोपित प्रधानाध्यापक न्यौपाने फरार रहेको परिवारको भनाइ छ।

पीडित परिवारका अनुसार घटना गत भदौ २८ गते तीजको दर खाने दिन साँझ भएको हो। त्यसबेला बालिकाका अभिभावक कामको सिलसिलामा घरबाहिर रहेका थिए। साँझ करिब ७ बजे घरनजिकैको पसलमा सामान किन्न पुगेकी बालिकालाई प्रधानाध्यापकले रोक्दै अनुचित प्रस्ताव राखेको र जबर्जस्ती गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

बालिकाका बुबाले घटनाबारे प्रहरीमा उजुरी दिइसकेको र आरोपितलाई प्रहरीले खोजिरहेको बताए। ‘जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छु। ती शिक्षक अहिले घरमा छैन रे। पुलिस हिजो आएको रे, तर भेटिएन। लोकेसन हेर्दा तेमालतिर देखाउँछ भन्दै थिए,’ उनले साेमबार हिमालप्रेससँग भने।

उनले घटनाबारे छोरीले आफूलाई प्रत्यक्ष रूपमा धेरै कुरा नभनेको पनि बताए। ‘मलाई त भनेकी छैन। लाज मानेर हो कि। जे भए पनि दुर्व्यवहार गरेको भन्ने कुरा आएको हो,’ उनले भने।

उनका अनुसार घटनापछि परिवारमाथि हालसम्म कुनै दबाब आएको छैन। ‘दबाब दिएको छैन, छैन,’ उनले भने।

स्थानीयबाट आरोपितको विगतबारे पनि विभिन्न कुरा सुनेको उनले बताए। ‘अरूको मुखबाट सुन्दा पहिलेदेखि नै त्यस्तै गर्थ्यो रे, बानी नै त्यस्तो रे त्यसको,’ उनले भने।

पीडितका काकाले बालिकाले दिएको बयान उद्धृत गर्दै प्रधानाध्यापकले पैसा दिएर अनुचित प्रस्ताव राखेको बताए। ‘केटीले बयान दिएको चाहिँ विद्यालयको हेडमास्टरले १०० रुपैयाँ दिएको रहेछ। अनि ‘आज दाइहरूलाई नबोलाऊ, म तेरो घरमा आएर सुत्छु, भोलि सँगै स्कुल जाने’ भनेर भनेछ,’ उनले भने। उनका अनुसार त्यसपछि बालिका रुँदै घर पुगेकी थिइन्।

‘घरमा गएर रोइछ। काकीले किन रोएको भनेर सोध्दा ‘हेडमास्टरले यस्तो गर्‍यो, सँगै सुत्ने कुरा गर्‍यो’ भनेर भनेकी थिई,’ उनले  हिमालप्रेससँग भने।

प्रहरीले भन्यो- अनुसन्धान जारी

घटनाबारे जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी विजय श्रेष्ठले घटनामाथि अनुसन्धान भइरहेको सोमबार हिमालप्रेसलाई जानकारी दिए। ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रहरीले आरोपित प्रधानाध्यापकको खोजी जारी रहेको जनाएको छ।

यसैबीच न्यौपानेमाथि यौन दुर्व्यवहार प्रयासको आरोप लागेपछि विद्यालय व्यवस्थापन समितिले पनि न्यौपानेलाई प्रधानाध्यापक पदबाट हटाएर वरिष्ठ शिक्षक भीमप्रसाद आचार्यलाई कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी दिएको छ।

प्रकाशित: ५ असोज २०८३ १२:४८ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast