पार्टीभित्रैबाट एमाले र नेतृत्वलाई कमजोर बनाउने प्रयास भयो : ओली

हिमाल प्रेस ५ असोज २०८३ १४:५४ | Monday, September 21, 2026
2
SHARE
पार्टीभित्रैबाट एमाले र नेतृत्वलाई कमजोर बनाउने प्रयास भयो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट एमाले र नेतृत्वलाई कमजोर बनाउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका छन्।

सोमबारबाट ललितपुरमा सुरु एमाले केन्द्रीय कमिटीको तेश्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण हुँदा पार्टी एकढिक्का हुनुपर्नेमा पार्टीभित्रैबाट कमजोर बनाउने प्रयास भएको बताए।

उनले पार्टीभित्रैबाट मिडियामा गएर ‘अध्यक्ष हटाउनुपर्छ’ भन्दै जथाभावी बोल्ने र सामाजिक सञ्जालमा सांकेतिक र अराजक स्टाटस लेख्ने प्रवृत्तिप्रति आपत्ति जनाए। आफ्ना असहमति वा मतभेदहरू पार्टी कमिटीभित्रै राख्न र बाहिर गएर रमिता नदेखाउन उनले निर्देशन दिए।

उनले पार्टीमा पुस्तान्तरण, नयाँ गति र समीक्षाका लागि बनेको कार्यदलले १ महिनाको समय पाएकोमा ४ महिना गुजारेकाले केन्द्रीय कमिटी बैठक बस्न निकै ढिलाइ भएको उल्लेख गरे। कार्यदलको प्रतिवेदनलाई समेत ध्यानमा राखेर आफूले राजनीतिक प्रतिवेदन तयार पारेको उनले बताए।

उनले रसुवा बाढीपछि सरकारको असक्षमता, अकर्मण्यता र राज्य स्रोतको दुरुपयोग जनताले प्रस्ट देखेको बताए। त्रिशूलीमा बेलिब्रिज नहाल्दै एआईबाट बनाइएको नक्सा देखाएर बेलिब्रिज बन्यो भनी प्रचार गरिएको उनले बताए।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकभित्र मोबाइल हेर्न, चलाउन, कुरा गर्न, भिडियो खिच्न वा अडियो रेकर्ड गर्न पूर्ण रूपमा निषेध गरिएको जानकारी दिए।

तीन दिनसम्म चल्ने बैठकमा ३०१ कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन, सल्लाहकार कमिटी तथा विभागलाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासनसम्बन्धी विषय तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने एजेण्डा तय भएको छ।

प्रकाशित: ५ असोज २०८३ १४:५४ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast