चिनियाँ राष्ट्रपति सी चिनफिङ।
काठमाडौँ- चीनका राष्ट्रपति सी जिनफिङ अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा राष्ट्रपति जिनफिङ अमेरिका भ्रमणमा जान लागेको पुष्टि गरेको हो।
चीनको विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि २५ तारेखसम्म जिनफिङ अमेरिकाको औपचारिक भ्रमणमा रहनेछन्।
भ्रमणका क्रममा दुई देशका शीर्ष नेताहरुबीच द्विपक्षीय हित, व्यापार तथा आर्थिक सम्बन्धका विविध विषयमा छलफल हुने जनाइएको छ।
यसअघि शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षीको आसन्न भ्रमणबारे सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए।
भ्रमणप्रति सकारात्मक संकेत गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए,‘हामीबीच निकै राम्रो सम्बन्ध रहँदै आएको छ। उहाँ (सी जिनफिङ) आउँदो हप्ता यहाँ हुनुहुनेछ र हाम्राबीच अत्यन्त फलदायी बैठक हुनेछ।’
ट्रम्पले दुई देशबीच महत्वपूर्ण सहमति र सम्झौताहरु हुने अपेक्षा व्यक्त गरेका छन्। व्यापारिक तनाव र भन्सार महसुलको प्रसंग उल्लेख गदै उनले थपे,‘यस भ्रमणका क्रममा हामीबीच धेरै फरक फरक सम्झौताहरु हुनेछन्। चीनले हाल अमेरिकालाई ठूलो रकम ट्यारिफका रुपमा तिरिरहेको छ, जसले गर्दा उनीहरुलाई ठूलो आर्थिक नोक्सानी भइरहेको थियो। म त्यस्तो स्थिति निरन्तर रहोस् भन्ने चाहँदिन थिएँ।’
यसै वर्षको मे महिनामा बेइजिङमा पनि ट्रम्प र जिनफिङबीच उच्चस्तरीय भेटवार्ता भएको थियो। बेइजिङ वार्ताको केही महिनाभित्रै हुन लागेको यो दोस्रो भेटलाई विश्व राजनीति र विश्व अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएको छ।


