ओलीलाई ईश्वरको आग्रह- सम्मानजनक नेतृत्व हस्तान्तरण गरी नयाँ नेतृत्व चयनको बाटो खोल्नुस्

हिमाल प्रेस ५ असोज २०८३ १५:१९ | Monday, September 21, 2026
ओलीलाई ईश्वरको आग्रह- सम्मानजनक नेतृत्व हस्तान्तरण गरी नयाँ नेतृत्व चयनको बाटो खोल्नुस्

काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नेतृत्व चयनको बाटो खोल्न आग्रह गरेका छन्।

पत्नी मिरा पोखरेल क्यान्सरलगायतका स्वास्थ्य समस्याबाट गुज्रिरहेको भन्दै केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउँदै पोखरेलले ओलीलाई सम्बोधन गरेर पत्र पठाएका हुन्।

साेमबार लेखिएको पत्रमा उनले पार्टीभित्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रिया कमजोर हुँदै गएको भन्दै नेतृत्व हस्तान्तरणलाई अहिलेको आवश्यकता भएको बताएका छन्।

पोखरेलले पार्टीभित्रको ‘पुनर्गठन-हस्तान्तरण-रूपान्तरण’ लाई व्यक्तिकेन्द्रित नभई विचार, विधि, संगठन, नेतृत्व, कार्यशैली र निर्णय प्रक्रियासहित समग्रतामा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

उनले पार्टीभित्र विधि र पद्धति मिचिँदै गएको तथा निर्णय प्रक्रियामा संस्थागत परिपाटी कमजोर बनेको विषय पार्टी पंक्तिले गम्भीर रूपमा उठाइरहेको बताएका छन्।

एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्ने भएकाले पार्टीभित्र ‘नियन्त्रण र सन्तुलन’ सम्बन्धी नीति, विधि, संरचना र आचरणलाई अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।

पोखरेलले पार्टी निर्णयमा सामूहिक स्वामित्व र अपनत्वको भावना कमजोर हुँदै गएको भन्दै त्यसको असर पार्टी र जनताबीचको सम्बन्धमा समेत परेको उल्लेख गरेका छन्।

‘यी विषय एमालेले अपनाएको विचारसित, सिद्धान्तसित, सांगठनिक आचरणसित र कार्यशैलीसित सम्बन्धित हुन्,’ उनले पत्रमा भनेका छन्,‘यी विषयहरूलाई यसै महत्वका साथ हेरिनु र बुझिनुपर्छ।’

एमालेभित्र चलिरहेको पुनर्गठनको विषयमा पोखरेलले चारवटा विषयमा जोड दिएका छन्। उनका अनुसार पुनर्गठनका क्रममा पार्टीले विधि र प्रक्रिया पालना गर्नुपर्छ, प्रक्रियाअनुसार भएका निर्णय सबैले स्वीकार गर्नुपर्छ, पुनर्गठनलाई पार्टी र आन्दोलनको हितमा सामूहिक रूपमा अघि बढाउनुपर्छ तथा आलोचना र आत्मालोचनालाई निरपेक्ष रूपमा अस्वीकार गर्नु हुँदैन। ‘‘म रहिनँ भने पार्टी चल्नै सक्तैन’, ‘म नै हुँ सर्वेसर्वा’ भन्ने भावना सबैले त्यागौं,’ पोखरेलले भनेका छन्।

उनले पार्टीभित्र आलोचनात्मक चेत कमजोर हुँदै गएकोप्रति पनि प्रश्न उठाएका छन्। ओलीप्रति लक्षित गर्दै उनले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका धेरै नेताकार्यकर्ता निस्तेज हुँदै गएको उल्लेख गरेका छन्।

‘तपाईंले कहिले सोच्नु भा’को छ- आन्दोलनको यत्रो इतिहास बोकेका, पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका यति धेरै साथीहरू किन निस्तेज हुँदै गए?’ उनले प्रश्न गरेका छन्,‘कि समर्थनमा बोल्नुपर्यो होइन भने बक्र दृष्टिमा पर्नुपर्यो वा कोप भाजन हुनुपर्यो ! यस बिचमा यस्तै भएन र !? फर्केर हेरौं त कमरेड!’

पोखरेलले पार्टी नेतृत्वले आलोचनात्मक आवाजलाई स्वीकार गर्नुपर्नेमा जोड दिँदै आफूले ओलीको नेतृत्व कमजोर पार्न खोजेको नभई पार्टीभित्र सिर्जनशील ढंगले अघि बढ्ने वातावरण बनाउनुपर्ने पक्षमा रहेको बताए छन्।

पत्रको सबैभन्दा महत्वपूर्ण हिस्सामा पोखरेलले ओलीलाई नेतृत्वबाट सम्मानजनक रूपमा बिदा भएर नयाँ नेतृत्व चयनको वातावरण बनाउन आग्रह गरेका छन्।

‘प्रिय कमरेड, तपाईं एघार वर्ष हाम्रो पार्टीको अध्यक्ष भैसक्नु भो, संविधान जारी भएको दस वर्षमा ६ वर्ष प्रधानमन्त्री बनिसक्नु भो ! तपाईंको यो कार्यकालमा राम्रा कामहरू पनि भएका छन् साथै कमजोरीहरू पनि देखापर्दै गएका छन्,’ पोखरेलले लेखेका छन्,‘कमजोरीहरूको सिलसिला बढ्दो छ ! उंधौलीको गति बढ्दो छ। यसलाई रोकिएन भने ठुलो क्षति हुन्छ भन्ने डर लागेको छ !’

उनले यस्तो क्षति व्यक्तिगत रूपमा ओली, एमाले, नेपालको कम्युनिस्ट आन्दोलन र मुलुककै लागि हुने उल्लेख गरेका छन्।

उनका अनुसार भदौ २३/२४ पछिको परिस्थिति, एघारौं राष्ट्रिय महाधिवेशन तथा फागुन २१ को आम निर्वाचन र त्यसको परिणामलाई पार्टीले नयाँ प्रारम्भका लागि अवसरका रूपमा लिनुपर्ने थियो। तर ती अवसरलाई स्वीकार गर्न नसकेको भन्दै उनले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘विगतमा जे भो, भो ! यतिबेला तपाईंको सम्मान साथ बिदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानु भन्दा अर्को आशा जगाउने विकल्प छैन र हुनै सक्तैन !’ पोखरेलले भनेका छन्, ‘र, यो कामका लागि तपाईं स्वयम्‌को सकारात्मक भूमिका अहिलेको आवश्यकता हो।’

उनले पुनर्गठनको अर्थ संगठनमा केही हेरफेर गर्नु नभएको पनि स्पष्ट पारेका छन्। विचारलाई थप व्यवस्थित गर्ने, वैधानिक व्यवस्थालाई अद्यावधिक गर्ने, संगठनात्मक संरचना पुनर्व्यवस्थित गर्ने, नेतृत्वमा आवश्यक परिवर्तन गर्ने तथा कार्यसम्पादन शैली परिवर्तन गर्नेसमेत पुनर्गठनको विषय भएको उनको भनाइ छ।

प्रकाशित: ५ असोज २०८३ १५:१९ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast