करेन्ट लागेर मर्‍यो जंगली हात्ती ‘रोनाल्डो’

हिमाल प्रेस ३ असोज २०८३ १८:३१ | Saturday, September 19, 2026
करेन्ट लागेर मर्‍यो जंगली हात्ती ‘रोनाल्डो’

चितवन- जंगली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो।

उनका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ। गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भिक अनुमान छ।

अन्दाजी ४५ वर्षीय जंगली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो। थापामगरका अनुसार एकीन तथ्यांक नभए पनि पाँच÷छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ।

विसं २०६५÷६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउँछन्। पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो।

चौधरीले भने, ‘विसं २०५० यता हालसम्म केन्द्रमा ७१ वटा छावा जन्मिएकामा ३३ वटाको बाउ रोनाल्डो हो।’ केन्द्र विसं २०४४ मा स्थापना भएको हो। विसं २०५० बाट त्यहाँ बच्चा जन्मिन सुरु गरेका हुन्।

चौधरीका अनुसार यस वर्ष बच्चा जन्माउन लागेका ऐश्र्यमाला र कर्णालीकलीलाई रोनाल्डोले नै प्रजनन गराएको हो। त्यस्तै, गर्भवती भएका तमोर, तीर्थमान, हिमाली र चितवनकलीलाई पनि रोनाल्डोले नै प्रजनन गराएको चौधरीले बताए।

खोरसोरमा रहेका सातवटा छावामध्ये छ वटा रोनाल्डो को हुन् भने एउटा ध्रुवेको हो। खोरसोरमा नौवटा माउ छन्। तीमध्ये माउसमेत अधिकांश रोनाल्डोको बच्चा भएको उनी बताउँछन्।

विगत दुई महिनायतादेखि खोरसोर क्षेत्रमा रोनाल्डो आएको थिएन। चौधरीले भने, ‘त्यतिको शान्त जंगली हात्ती अरु हुँदैनन्। यो मर्दै गर्दा खोरसोरको नाकै गयो।’

रोनाल्डो आउन छाडेपछि हिजोआज गोविन्दे हात्ती प्रजनन केन्द्रमा आउने जाने गरेको छ। यो निकै रिसाहा रहेको उनी बताउँछन्।

प्रकाशित: ३ असोज २०८३ १८:३१ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast