विश्वकप २०२६

रोनाल्डोको अन्तिम परीक्षा

हिमाल प्रेस २४ जेठ २०८३ १५:०४ | Sunday, June 7, 2026
12
SHARES
रोनाल्डोको अन्तिम परीक्षा

यो त्यस्तो मैत्रीपूर्ण खेल थियो, जुन सहजै स्मृतिबाट हराउन सक्थ्यो।

युरोपेली फुटबल महासंघ (यूईएफए) मा आबद्ध काजाखस्तानविरुद्ध खेलिएको उक्त खेल आठ हजार दर्शक क्षमताको खचाखच भरिएको रंगशालामा भएको थियो। मैदानको अवस्था खराब थियो। घाँस राम्रो देखाउन रङ लगाउनुपरेको थियो।

उत्तरी पोर्चुगलको चाभेसमा भएको त्यो कठिन १-० को जित कहिल्यै पूर्ण रूपमा बिर्सिएको छैन।

किनभने २० अगस्ट २००३ त्यो दिन क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको सिनियर राष्ट्रिय टोलीसँगको यात्रा सुरु भएको थियो।

त्यतिबेला मडेराबाट आएका ती किशोर खेलाडीले तीन वर्षपछि विश्वकपमा डेब्यु गर्नेछन् भन्ने अनुमान गर्नु पनि कठिन थियो। अझ २०२६ मा आफ्नो कीर्तिमानी छैटौँ विश्वकप खेल्नेछन् भन्ने कल्पना त झन् असम्भवजस्तै थियो। तर आज रोनाल्डो अर्जेन्टिनाका लियोनल मेस्सी र मेक्सिकोका गिएमो ओचवासँगै छैटौँ विश्वकप खेल्ने खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डो (१४३ गोल) ले पोर्चुगाली फुटबललाई नयाँ रूपमा परिभाषित गरेका छन्। उनले खेलको मानसिकता बदलिदिएका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा एउटा सिंगो राष्ट्रले के सम्भव छ भन्ने विश्वासलाई पुनःनिर्माण गरेका छन्।

रोनाल्डोसँग स्पोर्टिङ क्लब र राष्ट्रिय टोलीमा काम गरेका जोआओ आरोसोले बीबीसी स्पोर्टसँग भने, ‘हामी सानो देश हौँ, जसको विश्वव्यापी प्रभाव फुटबलबाहेक अन्य क्षेत्रमा कमै छ। क्रिस्टियानोका कारण हाम्रो देश कुनै महान् उपलब्धिका लागि संसारभर चिनिएको छ। उनले प्रतिनिधित्व गर्ने सकारात्मक मूल्यहरूले पोर्चुगललाई विश्वसामु चिनाएका छन्।’

४१ वर्षका रोनाल्डो आफ्नो अघिल्ला पाँचवटै विश्वकपमा जस्तै यसपटक पनि टोलीका निर्विवाद स्टारका रूपमा प्रवेश गर्दै छन्। यद्यपि कतार २०२२ पछि उनको भूमिकाबारे पोर्चुगलभित्रको बहस झन् तीव्र बनेको छ।

एक समय रोनाल्डोलाई टोलीबाट हटाउने कुरा गर्नु देशद्रोहजस्तै मानिन्थ्यो। अहिले अवस्था बदलिएको छ।

सन् १९६६ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको पोर्चुगल टोलीका सदस्य एन्टोनियो सिमोएस भन्छन्, ‘उनी जित्नका लागि होइन, मुख्य पात्र बन्नका लागि खेल्छन्। यो कुरा युसेबियोभन्दा बिल्कुलविपरीत हो। म उनको विरोधी होइन। म अझै देख्न, सुन्न र सोच्न सक्छु। तर तथ्यको वास्तविकताबाट भाग्न सक्दिनँ।’

यद्यपि पोर्चुगलका प्रशिक्षक रोबेर्टो मार्टिनेजले रोनाल्डोबारेको बहसलाई लिफ्टभित्रको गफ भनेर खारेज गरेका छन्।

पाँचपटकका बालोन ड’ओर विजेताबारे प्रश्न सोधिँदा मार्टिनेजले सधैँ एउटै तथ्यांक प्रस्तुत गर्छन्- राष्ट्रिय टोलीका लागि पछिल्ला ३१ खेलमा २५ गोल।

उनले भने, ‘हामी इतिहासकै महान् खेलाडीबारे कुरा गरिरहेका छौँ। उनी विगतका उपलब्धिका कारण होइन, अहिले पनि उच्च स्तरको प्रदर्शन गरिरहेकाले टोलीमा छन्।’

आफ्ना पाँचै विश्वकपमा गोल गरेका रोनाल्डोसँग आलोचकलाई मैदानमै जवाफ दिने अर्को अवसर हुनेछ।

हाल अल नासरका खेलाडी रहेका रोनाल्डोले विश्वकपमा आठ गोल गरेका छन्, जुन पोर्चुगलका महान् खेलाडी एउसेबियोको नौ गोलको कीर्तिमानभन्दा एक गोल कम हो। तर उनको अन्तिम लक्ष्य स्पष्ट छ- पोर्चुगललाई इतिहासमै पहिलोपटक विश्वकप जिताउनु।

रोनाल्डोबिनाको पोर्चुगल अझ राम्रो टोली हो?

रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरिसकेका छन्।

यद्यपि उनी शारीरिक रूपमा उत्कर्षमा छैनन्, तर १७ जुनमा कंगो लोकतान्त्रिक गणतन्त्रविरुद्ध सुरु हुने अभियानमा पोर्चुगलको खेल उनकै वरिपरि केन्द्रित हुनेमा शंका छैन।

पूर्व पोर्चुगाली अन्तर्राष्ट्रिय खेलाडी एबेल जाभियर भन्छन्, ‘फुटबलमा ठूला क्षणहरू कसरी सम्हाल्ने भन्ने कुरा क्रिस्टियानोले धेरैभन्दा राम्रो बुझ्छन्। विश्वकपमा त्यो अनुभव निर्णायक हुन सक्छ।’

२००३ मा रोनाल्डोको अन्तर्राष्ट्रिय डेब्युका क्रममा मैदानमै रहेका पूर्व गोलकिपर रिकार्डो भन्छन्, ‘उनको गति पहिलेभन्दा अलिक कम भएको होला। पहिले २०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्थे भने अहिले १९५ किलोमिटर प्रतिघण्टा जस्तै होला। तर त्यो अझै असाधारण छ।’

मार्टिनेजले २०२३ मा बेल्जियम छोडेर पोर्चुगलको जिम्मेवारी सम्हालेपछि रोनाल्डोले उनका ३९ खेलमध्ये ३१ खेल खेलेका छन्। अनुपस्थित अधिकांश खेल चोट वा निलम्बनका कारण थिए।

त्यसमध्ये रोनाल्डो नभएको एक खेलमा पोर्चुगलले सेप्टेम्बर २०२३ मा लक्जेम्बर्गलाई ९–० ले पराजित गर्दै सबैभन्दा ठूलो जित निकाल्यो।

गत नोभेम्बरमा आर्मेनियालाई ९–१ ले हराउँदा पनि रोनाल्डो मैदानमा थिएनन्।

यी दुवै खेलपछि स्वाभाविक रूपमा पुरानै बहस फर्कियो- के पोर्चुगल रोनाल्डोबिना अझ राम्रो खेल्छ?

सीएनएन पोर्चुगल, डीएजेडएन पोर्चुगल र टीएसएफ रेडियोकी विश्लेषक सोफिया ओलिभेराले भनिन्, ‘विश्वकप जित्ने लक्ष्य राखेको टोलीमा उनी अब पहिलो रोजाइका खेलाडी हुनु हुँदैन। म यसमा सहमत छु। तर समस्या के हो भने राष्ट्रिय टोलीले त्यसका लागि तयारी नै गरेको छैन।’

एक खेलाडी राष्ट्रिय प्रतीक बनेपछि त्यसलाई व्यवस्थापन गर्नु सजिलो हुँदैन।

यसको अनुभव पूर्व प्रशिक्षक फर्डिनान्डो सान्टोससँग छ। उनले २०२२ विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना खेप्नुपरेको थियो।

रोनाल्डोको प्रभाव गहिरो छ। पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) का अध्यक्ष पेड्रो प्रोएन्सालाई एक अन्तरवार्तामा रोनाल्डोले भावी प्रशिक्षक छनोटमा प्रभाव पार्छन् कि पर्दैनन् भनेर सोधिएको थियो। उनले त्यसलाई अस्वीकार गरे।

एफपीएफले फेब्रुअरीमा रोनाल्डोको स्वामित्वमा रहेको शारीरिक पुनर्स्थापना कम्पनी एभीए क्रिस्टियानो रोनाल्डोसँग साझेदारी घोषणा गरेपछि पनि विभिन्न प्रश्न उठेका थिए। तर महासंघले कुनै स्वार्थको द्वन्द्व नभएको स्पष्ट पारेको छ।

म्यानचेस्ट युनाइटेड र रियल म्याड्रिडका पूर्वस्टार रोनाल्डो आफ्नो करियरको अन्त्यतिर पुग्दै गर्दा पोर्चुगल उनको अनुपस्थितिपछिको युगका लागि तयार छ कि छैन भन्ने प्रश्न पनि पेचिलो बनेको छ।

प्रोएन्साले भने, ‘हामी यो क्षणका लागि तयारी गरिरहेका छौँ, तर यसलाई नाटकीय बनाइरहेका छैनौँ। क्रिस्टियानो सधैँ पोर्चुगल राष्ट्रसँग जोडिएर रहनेछन्। एफपीएफले वर्तमान र भविष्य दुवैका लागि तयारी गरिरहेको छ। हामीलाई उनको महत्त्व थाहा छ। क्रिस्टियानो रोनाल्डो र एफपीएफ यी दुई ब्रान्ड एकअर्कासँग गहिरोसँग जोडिएका छन्।’ बीबीसीबाट

प्रकाशित: २४ जेठ २०८३ १५:०४ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast