काठमाडौँ- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ मा नयाँ कीर्तिमान कायम गरेका छन्।
उज्वेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने इतिहास रचे।
अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोले छैटौं मिनेटमै गोल गर्दै सन् २००६ देखि २०२६ सम्मका सबै विश्वकप संस्करणमा गोल गर्ने अद्वितीय उपलब्धि हासिल गरेका हुन्।
उनले पहिलो हाफमै अर्को गोल थप्दै पोर्चुगललाई सहज जिततर्फ डोर्याए।
योसँगै रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनले १० गोल पुर्याउँदै पोर्चुगलका महान खेलाडी युसेबियोको ९ गोलको पुरानो कीर्तिमान तोडे।
४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै रोनाल्डो विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी समेत बनेका छन्। यसअघि यो सूचीमा रोजर मिला अग्रस्थानमा रहेका छन्।
रोनाल्डोको कीर्तिमानी प्रदर्शनको मद्दतमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।




