विश्व फुटबलका महान खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा उपाधिविहीन रूपमा समाप्त भएको छ। अन्तिम-१६ को खेलमा पोर्चुगल स्पेनसँग १-० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोको अन्तिम विश्वकप भावुक अन्त्यमा टुंगिएको हो।
डलासमा भएको खेलमा अतिरिक्त समयको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्यो र स्पेन क्वार्टरफाइनलमा पुग्यो। खेलपछि रोनाल्डो आँसु झार्दै मैदान छाडेका थिए।
पाँच पटकका बालोन डी’ओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता तथा युरो २०१६ का च्याम्पियन रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट विश्व कीर्तिमानी ९७६ गोल गरेका छन्। उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी हुन्।
तर विश्वकप जित्ने सपना भने कहिल्यै पूरा हुन सकेन। उनको सबैभन्दा उत्कृष्ट उपलब्धि सन् २००६ को विश्वकपमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउनु थियो।
रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए। खेलपछि भने राष्ट्रिय टोलीबाट सन्यास लिनेबारे तत्काल निर्णय नगर्ने संकेत दिए।
‘अब परिवारसँग बसेर शान्त मनले निर्णय लिन्छु,’ उनले भने।
रोनाल्डोलाई निरन्तर खेलाउने निर्णयमाथि प्रश्न
पोर्चुगलले यस विश्वकपमा हरेक खेलमा अल-नासरका फरवार्ड रोनाल्डोलाई सुरुवाती टोलीमा राखेको थियो। यस निर्णयले टोलीको प्रदर्शनमा असर गरेको हो कि होइन भन्ने बहस अहिले पनि जारी छ।
बीबीसीका फुटबल विश्लेषक तथा पूर्व इंग्ल्यान्ड स्ट्राइकर क्रिस सटनले भने प्रशिक्षक रोबर्टो मार्टिनेजको निर्णयको कडा आलोचना गरे।
‘रोनाल्डो हजुरबुबाजस्तै मैदानमा हिँडिरहेका थिए। त्यसैले पोर्चुगल बाहिरियो,’ उनले भने,‘उनले केही पनि गर्न सकेनन्। रोबर्टो मार्टिनेज किन यति धेरै एउटा खेलाडीलाई प्राथमिकता दिइरहेका थिए? पोर्चुगलको हारको जिम्मेवार उनी नै हुन्।’
खेलपछि प्रशिक्षक मार्टिनेजले पदबाट राजीनामा दिएका छन्। ‘हामीले रोनाल्डोले यस विश्वकपमा गरेको प्रयासको सम्मान गर्नुपर्छ। उनको सपना विश्वकप जित्ने थियो। उनले आफ्नो व्यवहार र समर्पणमार्फत उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। उनी केवल महान फुटबलर मात्र होइन, उत्कृष्ट व्यक्तित्व पनि हुन्,’ मार्टिनेजले भने।
टोलीमा अन्य स्टार खेलाडी भए पनि अवसर पाएनन्
पछिल्ला केही प्रमुख प्रतियोगितामा रोनाल्डोले सुरुआती टोलीमा खेल्नुपर्छ कि पर्दैन भन्ने बहस दोहोरिँदै आएको छ।
राष्ट्रिय टोलीका लागि १४६ गोल गर्दै उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन्। तर आलोचकहरूले पछिल्ला वर्षहरूमा उनले गोलबाहेक टोलीलाई धेरै योगदान दिन नसकेको टिप्पणी गर्दै आएका छन्।
यस विश्वकपमा पोर्चुगलसँग उत्कृष्ट खेलाडीहरूको टोली थियो। पेरिस सेन्ट-जर्मेनका नुनो मेन्डेस, भिटिन्हा, जोआँ नेभेस र यसै सिजन एसी मिलान पुगेका गोन्कालो रामोस टोलीमा थिए। म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज प्रिमियर लिगका उत्कृष्ट खेलाडी घोषित भएका थिए।
तर गोन्कालो रामोसले खेल्ने अवसर नै पाएनन्।
सटनले भने, ‘रामोसलाई मैदानमा किन उतारिएन? यो प्रशिक्षकको ठूलो गल्ती हो। रोनाल्डोजस्ता महान खेलाडी भए पनि टोलीको हितलाई प्राथमिकता दिनुपर्ने थियो।’
तथ्यांकले के भन्छ?
रोनाल्डोले यस विश्वकपमा तीन गोल गरे। उनले उज्बेकिस्तानविरुद्ध दुई तथा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत एक गोल गरेका थिए।
उनले प्रतियोगिताभर १८ प्रहार गरे, जुन विश्वकपका चार खेलाडीभन्दा मात्र कम थियो। संयुक्त रूपमा सात गोल गरेका एर्लिङ हालान्डले पनि त्यति नै प्रहार गरेका थिए।
यद्यपि रोनाल्डोले पाँच खेलमा आफ्ना सहकर्मीका लागि केवल एउटा मात्र स्पष्ट अवसर सिर्जना गरेका थिए।
विश्वकपमा उनले पाँचमध्ये चार खेल पूरा खेले पनि प्रतियोगिताका ३६६ खेलाडीले उनीभन्दा बढी पटक बल छोएका थिए।
मार्टिनेजले भने,‘जब टोलीलाई गोल चाहिन्छ, त्यतिबेला ९० मिनेटभित्र रोनाल्डोलाई मैदानबाट निकाल्न सकिँदैन। उनी शारीरिक रूपमा सक्षम छन्। उनको उपस्थिति, सेट-पिस र अनुभव टोलीका लागि महत्वपूर्ण हुन्छ।’
‘गोएट’ बहसमा मेस्सी अझ अगाडि?
क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीबीचको ‘सर्वकालीन महान खेलाडी’ को बहस वर्षौंदेखि चलिरहेको छ।
दुवैले लामो समयसम्म विश्वकप नजितेको आलोचना खेपेका थिए। तर सन् २०२२ मा मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएपछि त्यो आलोचना समाप्त भयो। अब रोनाल्डो भने विश्वकप उपाधिविना नै आफ्नो विश्वकप करियर टुंग्याउने भएका छन्।
हाल रोनाल्डो साउदी अरेबियाको अल-नासर र मेस्सी अमेरिकाको इन्टर मियामीबाट खेलिरहेका छन्।
यस विश्वकपमा मेस्सी सात गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने रोनाल्डोले तीन गोल मात्र गरेका छन्।
रोनाल्डोका पूर्व सहकर्मी वेन रुनीले भने, ‘उनी अद्भुत खेलाडी हुन्। उनले फुटबल र करोडौं समर्थकलाई दिएको योगदान असाधारण छ। उनी विश्वकप जित्न चाहन्थे तर समय सबैका लागि समान हुन्छ। आज फुटबलका लागि दुःखद दिन हो।’
मार्टिनेजको बिदाइ
स्पेनी प्रशिक्षक रोबर्टो मार्टिनेजले सन् २०२३ देखि पोर्चुगलको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनले बेल्जियमलाई सन् २०१८ विश्वकपको सेमिफाइनलसम्म पुर्याएका थिए भने गत वर्ष पोर्चुगललाई नेसन्स लिगको उपाधि दिलाएका थिए।
तर विश्वकपबाट अन्तिम-१६ मै बाहिरिएपछि उनले पद छाड्ने घोषणा गरे।
‘म विश्वकप जित्ने लक्ष्यसहित पोर्चुगल आएको थिएँ। त्यो पूरा गर्न नसकेपछि यहाँ निरन्तर बस्नुको अर्थ छैन। मेरो सम्झौता आज समाप्त भएको छ,’ उनले भने।




