अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा उपस्थित हुने भएका छन्।
स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्नेछन्।
न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ। यद्यपि, प्रतियोगिताका क्रममा उनको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ।
अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएपछि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो।
विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिताको संज्ञा दिएका छन्। यस प्रतियोगिताले संयुक्त राज्य अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता थप बढाएको उनको भनाइ छ।
कूटनीतिक भेटघाटको अवसर
विश्वकपको फाइनल खेल खेलकुदसँगै कूटनीतिक भेटघाटको अवसर पनि बन्ने अपेक्षा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न उपस्थित हुनेछन्। ट्रम्पले हालै स्पेनले नेटोअन्तर्गतको रक्षा खर्चसम्बन्धी दायित्व पूरा नगरेको भन्दै आलोचना गरेका थिए।
प्रतियोगिताका सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ। अमेरिका, क्यानडा र मेक्सिकोबीच व्यापार, आप्रवासन र सुरक्षालगायतका विषयमा पछिल्लो समय मतभेद देखिँदै आएको छ।
ट्रम्पको उपस्थितिलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रंगशाला वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। उनी आउने समय रंगशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ।

