अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : बीबीसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
आदेशअनुसार अमेरिकामा जन्मिएका केही शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गरिएको छ। यदि उनीहरूका गैर-अमेरिकी अभिभावकमध्ये एक विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारी कर्मचारी, जालसाजीमार्फत नागरिकता लिन खोजेको वा कानुनले नागरिकता नदिने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भए।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले यस कदमलाई ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउन अमेरिका आउने प्रवृत्ति रोक्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
ह्वाइट हाउसका अधिकारी स्टेफन मिलरले राष्ट्रपतिसँग यस्तो गतिविधिमाथि प्रतिबन्ध लगाउने कानुनी अधिकार रहेको दाबी गरेका छन्।
यसअघि सन् २०२५ मा ट्रम्पले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास गरे पनि अमेरिकी सर्वोच्च अदालतले त्यसलाई अस्वीकार गर्दै जन्मसिद्ध नागरिकता संविधानअनुसार यथावत् रहने फैसला सुनाएको थियो।
कानुनविद्हरूले पनि नयाँ आदेशका केही प्रावधानले संवैधानिक चुनौती सामना गर्न सक्ने बताएका छन्।


