अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच बिहीबार साँझ टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताले विभिन्न मोर्चामा आपसी समन्वयलाई निरन्तरता दिने सहमति गरेका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति ट्रम्पले नेतन्याहुलाई खाडी क्षेत्रमा अमेरिकाले अघि बढाइरहेका गतिविधिबारे जानकारी गराएका थिए।
वार्ताका क्रममा नेतन्याहुले भने टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन र उनका सहयोगीहरूले इजरायलको अस्तित्वविरुद्ध दिएको अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।
उनले इजरायलको सीमाक्षेत्रमा सुरक्षा क्षेत्र (सिक्युरिटी जोन) कायम राख्नुपर्ने आवश्यकताबारे पनि जोड दिएका बीबीसीले जनाएको छ।
टर्कीले हालै राजधानी अंकारामा नेटो शिखर सम्मेलनको आयोजना गरेको थियो। राष्ट्रपति एर्दोआनले अमेरिका र इरानबीच भएको समझदारीलाई इजरायलले कमजोर बनाइरहेको आरोप पटकपटक लगाउँदै आएका छन्।
यही साता इजरायलले अमेरिकाले टर्कीलाई अत्याधुनिक एफ-३५ स्टेल्थ लडाकु विमान बिक्री गर्न सक्ने सम्भावनाप्रति पनि असन्तुष्टि जनाएको थियो। यस्तो प्रस्ताव ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा अघि सारेका थिए।
यसैबीच, नेतन्याहुले सीएनएनसँगको विशेष अन्तर्वार्तामा एर्दोआनलाई ‘अमेरिकाको आदर्श सहयोगी नभएको’ टिप्पणी गरेका छन्।
उनले एर्दोआनले ‘मेरो देश, विश्वको एकमात्र यहूदी राष्ट्रलाई नष्ट गर्ने धम्की दिइरहेका छन्’ भन्ने आरोपसमेत लगाएका छन्।



