‘ग्रीन आर्मी’बारे एमालेको प्रश्न, ‘कसले र कुन आधारमा वैधता दियो? तत्काल खारेज होस्

हिमाल प्रेस १७ भदौ २०८३ ११:०१ | Wednesday, September 2, 2026
‘ग्रीन आर्मी’बारे एमालेको प्रश्न, ‘कसले र कुन आधारमा वैधता दियो? तत्काल खारेज होस्

काठमाडौँ- नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘ग्रीन आर्मी’ नामको संरचनालाई कसले र कुन कानुनी आधारमा वैधता दिएको हो भन्दै प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र संविधान तथा कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको बताएका छन्।

उनले नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन भएको उल्लेख गर्दै ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन तथा दर्ता गरेको हो भन्ने विषयमा राज्यले स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्ने माग गरेका छन्। ‘ग्रीन आर्मी’को नाम, संरचना र सैन्य स्वरूपलाई कसले र कुन कानुनी आधारमा वैधता दिएको हो भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। नेपालको संविधान र कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको छ। नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन हो। त्यसो भए ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन र दर्ता गर्‍यो ? यसको नाम, संरचना र सैन्य स्वरूपलाई कसले र कुन कानुनी आधारमा वैधता दियो ? राज्यले यी प्रश्नको स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्छ।’

आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाहेकका कुनै पनि समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले मान्यता नदिने दाबी गरेका छन्। संविधान र कानुनले नचिनेका सैन्य स्वरूपका संरचना तत्काल खारेज गरिनुपर्ने उनको भनाइ छ। उनले कुनै पनि बहानामा धार्मिक, साम्प्रदायिक वा अन्य कुनै रंगका सेना वा अर्धसैनिक संरचना निर्माण गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्। यस्ता गतिविधिले मुलुकलाई द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने जोखिम रहने उनको भनाइ छ।

‘कुनै पनि बहानामा छद्म रूपमा धार्मिक, साम्प्रदायिक वा अन्य कुनै रंगका सेना वा अर्धसैनिक संरचना निर्माण गर्ने र मुलुकलाई योजनाबद्ध रूपमा द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने प्रयास स्वीकार्य हुन सक्दैन,’ आचार्यले भनेका छन्। राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै आचार्यले सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्। ‘राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई छैन। यस्तो संवेदनशील विषयलाई सामान्य घटनाजस्तो लिएर पन्छाउन मिल्दैन। सरकार गम्भीर बनोस्, तथ्य सार्वजनिक गरोस् र संविधान तथा कानुनविपरीत देखिने कुनै पनि संरचना तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाओस्,’ आचार्यले भनेका छन्।

उनले ‘ग्रीन आर्मी’ सम्बन्धी तथ्य सार्वजनिक गर्न, संविधान तथा कानुनविपरीत देखिने कुनै पनि संरचनालाई तत्काल नियन्त्रणमा लिन र आवश्यक कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्। राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र स्वीकार्य नहुनेसमेत आचार्यले बताएका छन्। ‘राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र छ्याम्मे हुन सक्दैन’ उनले भनेका छन्।

प्रकाशित: १७ भदौ २०८३ ११:०१ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast