इरानद्वारा २४ घण्टामा सात जहाजमा क्षति

हिमाल प्रेस ६ कार्तिक २०८३ ८:४६ | Friday, October 23, 2026
10
SHARES
इरानद्वारा २४ घण्टामा सात जहाजमा क्षति

इरानको नौसेनाले २४ घण्टाभित्र सातवटा जहाजमा क्षति पुर्‍याएको दाबी गरेको छ । तीमध्ये तेल बोकेका चारवटा जहाज रहेको र तिनमा एकैसाथ आक्रमण हुँदा भीषण आगलागी भएको छ ।

यसैबीच, होर्मुज जलमार्गको पश्चिमी क्षेत्रमा तीनवटा जहाज समुद्रमा बिछ्याइएका बारूदी सुरुङसँग ठोक्किएको जनाइएको छ ।

इरानले चेतावनीको बेवास्ता गर्दै अनुमति नलिएको उक्त समुद्री मार्गबाट गुज्रिएका कारण जहाजमाथि कारबाही गरिएको दाबी गरेको छ । तर, आक्रमणमा परेका जहाजको नाम, स्वामित्व र क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

‘स्ट्र्याटजिक इनर्जी म्याप’ वेबसाइटका अनुसार अक्टोबर २० मा होर्मुज जलमार्ग पार गर्ने तेल ट्यांकरको संख्या सामान्य दिनको तुलनामा करिब ९९ प्रतिशतले घटेको थियो ।

इरानले अमेरिकाले नै जहाजहरूलाई बारूदी सुरुङ बिछ्याइएको जोखिमपूर्ण समुद्री मार्गबाट यात्रा गर्न प्रोत्साहित गरेको आरोप लगाएको छ । इरानी नौसेनाले अमेरिकाले यस्तो गतिविधि जारी राखे जवाफी आक्रमणको दायरा विस्तार गर्ने चेतावनी दिएको छ । इरानका अनुसार पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडासमेत निशानामा पर्न सक्छन् ।

होर्मुज जलमार्गमा जहाजको आवतजावत नियन्त्रण गरिरहेको इरानको दाबीबारे अमेरिकी पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँग कुनै प्रकारको वार्ता भइरहेको नरहेको बताएका छन् । उनले चाँडै नयाँ घटनाक्रम विकसित हुन सक्ने संकेत दिए । ट्रम्पले सैन्य र आर्थिक दुवै क्षेत्रमा अमेरिका इरानभन्दा निकै बलियो अवस्थामा रहेको दाबी गरेका छन् ।

अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजनाहरू तयार पारेका छन् ।

सम्भावित आक्रमणमा इरानका ऊर्जा केन्द्र, आणविक प्रतिष्ठान तथा क्षेप्यास्त्र र ड्रोन निर्माण केन्द्रलाई निशाना बनाउने योजना समावेश रहेको बताइएको छ । अमेरिकाले नोभेम्बरको सुरुआतसम्म पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गर्ने तयारी गरिरहेको पनि रिपोर्टमा जनाइएको छ ।

यसैबीच, सम्भावित अमेरिकी आक्रमणको आशंकाबीच इरानले पनि कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानको रिभोल्युसनरी गार्टसका प्रवक्ता होसैन मोहिबीले अमेरिकालाई लक्षित गर्दै ‘मदर अफ अल बम्ब्स’ भए इरानले ‘फादर अफ अल बम्ब्स’ देखाउने चेतावनी दिएको बताइएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले वर्तमान परिस्थिति इरान, पश्चिम एसिया र समग्र विश्वका लागि अनुकूल नरहेको बताएका छन् । उनले चौतर्फी दबाब र युद्धको धम्कीका बाबजुद इरान आफ्नो अडानमा दृढ रहेको र आगामी दिनमा पनि कायम रहने स्पष्ट पारेका छन् ।

प्रकाशित: ६ कार्तिक २०८३ ८:४६ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast