भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

हिमाल प्रेस १३ भदौ २०८३ ९:०६ | Saturday, August 29, 2026
भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु प्रतीकात्मक तस्बिर।

कास्की- पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार (भदौ १२) साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीकाको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन् ।

दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा सुष्माको मृत्यु शुक्रबारै राति भएको थियो । उनकी छोरीको मृत्यु आज (भदौ १३) बिहान भएको प्रहरीले जनाएको छ ।

स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए । स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्‍याएको थियो ।

छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । त्यसपछि भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो ।

श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७, बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । रासस

प्रकाशित: १३ भदौ २०८३ ९:०६ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast