पोखरा- कास्कीको कालिकामा स्कुल बस दुर्घटना भएको छ। शुक्रबार बिहान पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको हो।
कालिकास्थित ओख्लेको भिरबाट बस पल्टिएको हो। दुर्घटनापछि बसमा सवार १९ जनाको उद्धार गरी अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले दुर्घटनामा परेकामध्ये १९ जनाको उद्धार गरिएको बताए। उनका अनुसार दुर्घटनामा केहीको मृत्यु भएको छ। मृतकको संख्या र अन्य विवरण भने पुष्टि हुन बाँकी रहेको उनले बताए।
‘बस दुर्घटनामा १९ जनाको उद्धार भएको हो। केहीको मृत्यु भएको छ। भेरिफाइ गरेपछि विवरण सार्वजनिक गर्छौं,’ उनले भने।
दुर्घटनामा घाइते भएकाहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई ट्युसन पढाउन ल्याउने क्रममा बस दुर्घटनामा परेको बताइएको छ।



