पोखरा- पोखरा महानगरपालिका-२८, कालिकाको सेरामा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार विद्यार्थी र एक सर्वसाधारण रहेका छन्।
कास्कीको माझठानाबाट पोखरा-२८ स्थित कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस बिहान करिब साढे ६ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको थियो।
दुर्घटनापछि बसमा सवार १९ जनाको उद्धार गरी अस्पताल पठाइएको थियो। उद्धार गरिएकामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वीरेन्द्रकुमार पासवानले बताए। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए।
स्थानीय विश्वराज त्रिपाठीका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए। सोही क्रममा बस दुर्घटनामा परेको उनले बताए।
घटनाबारे जानकारी पाएलगत्तै उद्धारमा पुगेका स्थानीय माधवराज अधिकारीका अनुसार बस खसेको स्थान सडकबाट सहजै देखिँदैन। बस भीरालो खरबारीमा खसेको र घाइते विद्यार्थीहरूको अवस्था निकै गम्भीर देखिएको उनले बताए।
दुर्घटनाको कारण खुल्न सकेको छैन।



