काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
कैलालीको धनगढीमा आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियासम्बन्धी प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले तीनै तहका सरकारबीचको सहकार्यबाट मात्रै शिक्षामा अपेक्षित सुधार ल्याउन सकिने बताए।
उनले प्रदेश र स्थानीय तहसँगको सहकार्यबिना शिक्षा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन हुने उल्लेख गर्दै शिक्षा नियमावलीको १०औँ संशोधनसहित प्रचलित ऐन, कानुन र व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने पनि बताए।
शिक्षासम्बन्धी ऐन, नीति तथा कानुन निर्माणका क्रममा सरोकारवाला पक्षसँग पर्याप्त संवाद आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले आपसी छलफल र सहमतिबाटै शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (ईडीसीयू) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको जानकारी दिए।
अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल गरिने समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले बताए। कार्यक्रममा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था, कार्यक्रमसँग सम्बन्धित सूचक तथा बजेट निकासाका विषयमा जानकारी दिइनेछ।
यस्तै, प्रदेश, ईडीसीयू तथा स्थानीय तहका आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा वार्षिक कार्ययोजना र बजेट निर्माणका विषयमा समेत प्रशिक्षण दिइनेछ।
कार्यक्रममा विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा त्यसबाट प्राप्त तथ्यांकको उपयोग, शिक्षा क्षेत्रका विभिन्न मापदण्ड र नीतिका विषयमा समेत छलफल तथा अभिमुखीकरण गरिनेछ।
अभिमुखीकरणमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।


