डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको ३ दशकमा पनि भएन मर्मत

हिमाल प्रेस ३१ साउन २०८३ ६:५६ | Sunday, August 16, 2026
6
SHARES
डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको ३ दशकमा पनि भएन मर्मत फाइल तस्बिर।
मनाङ- डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन।
सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीका साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थलमार्गको रुपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए।
‘सधैँ ठाडो खोला तथा खहरे खोला बढेर आउँदा मनाङ आवतजावत गर्न मुस्किल हुन्छ’, लामाले भने, ‘मनाङतर्फ भन्दा पनि लमजुङतर्फको सडक बढी अवरुद्ध हुने समस्या छ । लमजुङका खहरे खोलाले यात्रालाई सकस बनाउने गरेको छ ।’
रैदु खोला, श्रीचौरमा खहरे खोला बढेर आउँदा वारपार गर्न सक्ने अवस्था नै नभएको उनले बताए। ‘बिरामी भए अस्पताल पुग्न समस्या हुन्छ । यस्तो कहिलेसम्म सास्ती भोग्नुपर्ने खै रु” लामाले भने, ‘केही ठाउँमा अपर मस्र्याङ्दी जलविद्युत् आयोजनाले खोलामा ह्युमपाइप राखेर सजिलो बनाएको छ।’ बाढी, पहिराले मनाङ यात्रालाई सकस बनाउँदै आएको छ।
बेँसिसहर–चामे सडक खण्डअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ रैदु खोलामा बाढी आउँदा शनिबार करिब आठ घण्टा  यातायात अवरुद्ध भएको थियो । आवतजावत अवरुद्ध भएपछि आयोजनाले ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
“वर्षा निरन्तर भइरहेको अवस्था छ । अझै पनि ती क्षेत्रमा जोखिम छ”, सूचना अधिकारी समेत रहुनभएका पौडेलले भने, ‘दीर्घकालका लागि नभए पनि केही समय आवतजावतमा सहज भएको जानकारी पाएका छौँ । यात्रा गर्दा भने सडकका बारेमा जानकारी लिएर मात्र गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।’
शुक्रबार राति परेको वर्षाका कारण बाटो अवरुद्घ भएको थियो । श्रीचौरमा ठूलो पहिरोले बाटो अवरुद्घ हुँदा मनाङ आउने र बेँसीसहर जाने यात्रुले सास्ती भोग्नुपरेको थियो।
प्रकाशित: ३१ साउन २०८३ ६:५६ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast