पत्रकार किशोर श्रेष्ठ पक्राउपछि उपसभामुखको अशोभनीय स्टाटस, आलोचनापछि हटाइन्

हिमाल प्रेस २८ साउन २०८३ ६:४४ | Thursday, August 13, 2026
10
SHARES
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि उपसभामुखको अशोभनीय स्टाटस, आलोचनापछि हटाइन्

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परे। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको जानकारी दिइएको छ। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा प्रधान-सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

उनी पक्राउपछि उपसभामुख रुवीकुमार ठाकुरले लेखेको स्टाटसको अहिले चर्चा भइरहेको छ। उपसभामुखले अशोभनीय शब्द प्रयोग गरेर सन्जालमा राखेपछि उनको आलोचना भइरहेको छ।

उनले स्टाटसमा लेखेकी थिइन्, ‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कयौँ महिला दिदीबहिनीको चरित्र हत्या गरेको छ। यसको जनआस्था पत्रकार आचारसंहिताविपरीत रहेको छ। यो राक्षसलाई के भन्ने ?????’ जनआस्थाको पुरानो समाचारको विषयलाई लिएर उपसभामुखले श्रेष्ठमाथि स्टाटसमार्फत आलोचना गरेकी थिइन्।

कुनैबेला श्रीसा कार्कीको तस्बिर जनआस्थाले सार्वजनिक गरेको र त्यही तस्बिरका कारण कार्कीले आत्महत्या गरेको आरोप लाग्ने गरेको छ। अहिले पनि श्रेष्ठलाई सोही कुरा उठाएर आलोचना गरिन्छ। बिहीबार उपसभामुखले पनि सोही कुरालाई उठाएर श्रेष्ठको आलोचना गरेकी थिइन्।

त्यसो त उपसभामुखसँग सम्बन्धित समाचार पनि श्रेष्ठको अनलाइन जनआस्थाले लेखेको थियो। केही समयअघि मात्रै उपसभामुखको नैतिकतासम्बन्धी समाचार जनआस्थामा आएको थियो। सोही समाचारपछि उपसभामुखले प्रेस काउन्सिलमा उजुरी समेत दिइएको उनी निकट स्रोतेले जनाएको छ। तर हिजो श्रेष्ठ पक्राउ पर्नुको कारण भने फरक छ।

रास्वपाका एक सांसद र एक युवतीको अवैध सम्बन्ध भन्दै श्रेष्ठको अनलाइन जनआस्थाले समाचार लेखेका थिए। सोही समाचारलाई लिएर ती युवतीले उजुरी राखेपछि श्रेष्ठ पक्राउ परे। अहिले सन्जालमा उपसभामुखको आलोचना भइरहेको छ। उनले पदीय मर्यादाविपरीत सामाजिक सन्जाल लेखेको आरोप छ।

उनलाई समाचार लेखेकै आधारमा कारबाही नै गर्न पर्ने भए पनि प्रेस काउन्सिल मार्फत गर्न पर्नेमा राज्य संयन्त्रले शासक शैलीमा काम गरेको भन्दै पत्रकारहरु उनको रिहाईको माग गर्दै रात भर उपत्यका प्रहरी परिषरमा धर्ना दिएका थिए। उनीहरुले रिहाईको माग गरिरहेका छन्। अधिक पत्रकार अनि बुद्धिजिवीहरुले यसमा गृह संयन्त्रको आलोचना गरिरहेका छन्।

कानुनी राज्यको मर्यादा सरकारले राख्न पर्ने र पत्रकार पनि जिम्मेवार हुन पर्ने विषयमा बहस सुरु भएको छ। सानै उमेरदेखि पत्रकारितामा लागेका श्रेष्ठ अनुसन्धानात्मक पत्रकारितामा स्थापित नाम हो। उनी प्रेस काउन्सिलमा समेत रहिसकेका र विश्व प्रेस काउन्सिलको उपाध्यक्ष समेत रहेकाले उनले पत्रकारिताको धर्म र मर्म बुझेकै पत्रकार मानिन्छन्। उनी जत्तिको पत्रकारलाई सरकारले काउन्सिल मार्फत नै अनुसन्धान अघि बढाउनुपर्नेमा पक्राउ गरेर गलत गरेको भन्दै आलोचना भइरहेको छ। श्रेष्ठलाई रिहाइ गर्न पत्रकार महासंघले समेत अनुरोध गरेको छ।

प्रकाशित: २८ साउन २०८३ ६:४४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast