हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए। उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कारबाही गरिएको उनको दाबी छ।
साउदी अरबको ऊर्जा मन्त्रालयले यसअघि जिजानस्थित रिफाइनरीको एक केन्द्रमा आइतबार बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्निनियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो।
घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ। आगलागीको कारण भने खुलाइएको छैन।
हुथी विद्रोहीले गत जुलाईमा पनि सोही रिफाइनरीलाई लक्षित गरेको दाबी गरेका थिए।
साउदी अरब अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा एक दशकभन्दा बढी समयदेखि यमनको गृहयुद्धमा संलग्न छ। सन् २०२२ मा भएको युद्धविरामपछि तुलनात्मक रूपमा शान्त रहेको द्वन्द्व पछिल्लो समय पुनः तनावपूर्ण बनेको छ।
हुथी विद्रोहीले यमनको राजधानी सानासहित देशको ठूलो भूभाग नियन्त्रणमा राखेका छन्। समूहले लाल सागरमा आवतजावत गर्ने जहाज तथा साउदी अरबका तेलसम्बन्धी पूर्वाधारलाई पनि निसाना बनाउँदै आएको छ।
लालसागरमा जहाज आवतजावत र साउदी तेल पूर्वाधारमाथिको जोखिम मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावबीच देखिएको हो।
यसैबीच, ‘स्टे«ट अफ होर्मुज’को सुरक्षालाई लिएर इरान र अमेरिकाबीच पनि तनाव जारी रहेको एएफपीले जनाएको छ।-रासस/एएफपी


