मिस नेपाल दीपमालालाई घरमा भव्य स्वागत : ‘अब मेरी नातिनी मिस वर्ल्ड बन्छे’ [तस्बिरहरू]

हिमाल प्रेस १७ साउन २०८३ १६:१३ | Sunday, August 2, 2026
162
SHARES
मिस नेपाल दीपमालालाई घरमा भव्य स्वागत : ‘अब मेरी नातिनी मिस वर्ल्ड बन्छे’ [तस्बिरहरू]

काठमाडौँ-  शनिबार मध्यरात। मिस नेपाल वर्ल्ड-२०२६ को ताज शिरमा सजाएर दीपमाला ढकाल सुनाकोठीको भ्याली होम्सस्थित निवासमा  फर्किँदै थिइन्। त्यो छोटो यात्रा एउटा सपनाको उत्सवमय अवसर बन्न पुगेको थियो।

कोलनीको मूल गेटबाट गाडी भित्रिनासाथ सडकको दुवैतर्फ फूल बोकेर उभिएका छिमेकी, आफन्त र शुभेच्छुकले  दीपमालालाई स्वागत गरे। गाडीको ‘सनरुफ’बाट बाहिर निस्किएकी दीपमालाले निरन्तर हात हल्लाउँदै सबैलाई धन्यवाद दिइरहेकी थिइन्। करिब पाँच सय मिटर लामो त्यो बाटो विजययात्रामा परिणत भएको थियो।

गाडी बिस्तारै अघि बढिरहेको थियो, मानिस सँगसँगै हिँडिरहेका थिए र सबैमा एउटै भावना थियो- आफ्नै छोरीले देशकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको ताज जितेकी छिन्।

परिवार र आफन्तसँग मिस नेपाल दीपमाला

घर पुग्न पाँच-छ घर मात्र बाँकी थियो। रातको साढे बाह्र बजिसकेको थियो।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको घरमा एकाएक बत्ती बल्यो।  मिस नेपालको आगमनले उनी निद्राबाट ब्युँझिएछन्। उनी बरन्डामा निस्किए, मुस्कुराए र स्नेहपूर्वक भने, ‘हाम्रो कोलनी नै उज्यालो भयो मिस नेपाल २०२६ को ताजले। शुभकामना नानी दीपमाला, बिहान भेटौँला।’

त्यो एक वाक्यले कोलनीभरि फैलिएको गर्वलाई थप साथ दिएको थियो। घरको मूलढोकामा पुग्दा अर्को दृश्य झन् भावुक देखियो। झिलिमिली बत्तीले सजिएको घर, भित्ताभरि टाँसिएका दीपमालाका तस्बिर, स्वागतका लागि आतुर आफन्त र शुभचिन्तक। होटलमा ताज पहिरिएपछि सबैभन्दा पहिले घर फर्केर स्वागतको तयारीमा जुटेकी थिइन् उनकी ८३ वर्षीया हजुरआमा, शिला खरेल।

रातको समय, उमेरको थकान र विश्रामको कुनै पर्वाह नगरी उनी आरतीको थाल लिएर ढोकामै उभिएकी थिइन्। नातिनीलाई आरती उतारिन्, दही खुवाइन् र उत्साहका साथ भनिन्, ‘अब मेरी नातिनी मिस वर्ल्ड बन्छे। शंकै छैन।’

पूर्वमन्त्री रत्नप्रसाद खरेलकी धर्मपत्नी रहेकी ती हजुरआमा आफैँ पनि सामाजिक र राजनीतिक जीवनमा सक्रिय रहिसकेकी महिला हुन्। उमेर ८३ वर्ष पुगे पनि उनको जोस भने युवाको भन्दा कम देखिँदैन। उनले हाँस्दै भनिन्, ‘छोरी रोशनी, मिस नेपालमा सहभागी भएकी थिइन् भन्ने त पछि मात्र थाहा पाएँ। अहिले भने नातिनीलाई पुरै ऊर्जा दिइरहेकी छु।’ उनले थपिन्, ‘समयले कोल्टे फेरेको छ। त्यो बेलामा मिस नेपालको प्रयास पहिलो थियो। आमाले अवरोध गर्न सक्लान् भनेर भनिनन्। दिदीहरू जानकार थिए।’

दीपमालाको जित व्यक्तिगत सफलता होइन, परिवारको तीन दशक लामो प्रतीक्षाको पनि पूर्णता हो। पहिलो मिस नेपाल प्रतियोगितामा सहभागी भएकी आमा रोशनी खरेलले पूरा गर्न नसकेको सपना आज छोरीले साकार बनाइदिएकी छन्। त्यसैले त्यो रात घरमा अधुरो सपना पूरा भएको भावुकता मिसिएको देखिन्थ्यो।

हङकङमा जन्मिएर हुर्किएकी दीपमालाले सहज र सुरक्षित अन्तर्राष्ट्रिय करिअरलाई पछि छोडेर नेपालको प्रतिनिधित्व गर्ने बाटो रोजेकी थिइन्। विश्वप्रसिद्ध लगानी कम्पनी ब्ल्याकरकको आकर्षक जागिर त्याग्नु उनको सहज निर्णय थिएन। हङकङमा स्थापित निर्माण व्यवसायी रहेका उनका आमाबुबाको पारिवारिक व्यवसाय पनि उनीसँग विकल्पका रूपमा थियो। तर उनले त्यसको सट्टा नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा उभिने सपना रोजिन्।

सानै उमेरमै प्रतिष्ठित कम्पनीमा विशेषज्ञका रूपमा काम गरिसकेकी दीपमालाका लागि यो ताज कुनै आकस्मिक उपलब्धि होइन। यो साहस, तयारी, त्याग र आत्मविश्वासको प्रतिफल हो। त्यसैले घरको आँगनमा गए रात बारम्बार एउटै आवाज गुन्जिरहेको थियो- ‘अबको मिस वर्ल्ड, दीपमाला!’

त्यहीबीचमा सबैलाई दीपमालाको एक अनोठो प्रश्नले तान्यो, ‘यसरी पुरै रात यहाँहरु हुनुहुन्छ, गल्नु भएको पनि होला तर यहाँहरूको यस्तो साथ हुँदाहुँदै पनि मैले ताज नजितेको भए के गर्नु हुन्थ्यो होला? मलाई अहिले पो डर लागिरहेको छ, त्यहाँ हुँदा त मलाई जित्छु नै भन्ने विश्वास थियो। सायद यही कारण थियो मैले मिस कन्फिडेन्स पनि पाएँ।’

फेरि पनि आवाज आइरह्ययो अबको मिस वर्ल्ड दीपमाला। यही आवाजले दीपमालाको आफ्नै लक्ष्य पनि झल्काउँथ्यो। उनी अब  मिस नेपाल होइनन्, मिस वर्ल्ड-२०२७ को मञ्चमा नेपालको झण्डा बोकेर उभिने नेपालीहरूको साझा अपेक्षा बनेकी छन्।

ललितपुर पुल्चोकबाट सुनाकोठीको भ्याली होम्सस्थित निवासमा मध्यरातमा फर्किएकी थिइन् दीपमाला। तर स्वागत गरिरहेको परिवारका अनुहारमा देखिएको खुसीले भने अर्को कथा सुनाइरहेको थियो- कहिल्यै हार नमान्ने एउटा आमाको सपना, ८३ वर्षीया हजुरआमाको अटल विश्वास र एउटा परिवारले तीन दशकदेखि जोगाएर राखेको आशा सफलतामा परिणत भएको क्षण।

मिस नेपाल वर्ल्ड – २०२६ को ताज दीपमालाको शिरमा : आमाको अधुरो सपना तीन दशकपछि पूरा

प्रकाशित: १७ साउन २०८३ १६:१३ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast