काठमाडौँ- पर्वतको फलेवासमा दुनाटपरी उद्यमदेखि गाउँका बालबालिकाको शिक्षा र स्वास्थ्यसम्मको कथा बोकेर एउटी नेपाली युवती अहिले विश्व सुन्दरीको अन्तर्राष्ट्रिय मञ्चमा उभिएकी छन्। उनी हुन् मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल।
लुना शनिबार भियतनाम पुगेकी हुन्। आइतबारदेखि सुरु भएको ७३औँ मिस वर्ल्ड प्रतियोगिता सेप्टेम्बर ५ सम्म चल्नेछ। भियतनामले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा करिब १३० देश तथा क्षेत्रका सुन्दरी सहभागी छन्।
मिस वर्ल्डको ७५औँ वार्षिकोत्सवसमेत परेको यो संस्करण लुनाका लागि उपाधिको प्रतिस्पर्धा मात्र नभई नेपालका सम्भावना र आफ्ना सपनालाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।
विश्व सुन्दरीको ताजका लागि प्रतिस्पर्धा गर्नुअघि लुनाको भनाइ सरल थियो- आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गर्ने। तर उनको यात्राको अर्थ एउटा ताजभन्दा निकै ठूलो छ।
मिस वर्ल्डका प्रमुख फास्टट्र्याक विधामध्ये ‘ब्यूटी विथ पर्पस’ लुनाको यात्राको सबैभन्दा अर्थपूर्ण पक्ष हो। यसअन्तर्गत उनले पर्वतको फलेवासमा सञ्चालित दुनाटपरी उत्पादनसँगै शिक्षा र स्वास्थ्यलाई जोडिएको सामाजिक परियोजना प्रस्तुत गर्दैछिन्।
नेपाली गाउँघरमा पुस्तौँदेखि प्रयोग हुँदै आएका दुनाटपरी लुनाका लागि परम्परागत सामग्री होइनन्। तिनमा स्थानीय सीप, महिलाको श्रम, रोजगारी, उद्यमशीलता, वातावरण संरक्षण र समुदायको आर्थिक सम्भावनाको कथा देख्छिन् उनी।
त्यसैले विश्वका करिब १३० देशका प्रतिनिधिमाझ उभिँदा लुना नेपालका चम्किला सहर मात्र देखाउन चाहन्नन्। उनी नेपालका गाउँमा लुकेका सम्भावना पनि विश्वलाई देखाउन चाहन्छिन्।
फलेवास उनको परियोजनाको केन्द्र बने पनि त्यसले नेपालको एउटा गाउँभन्दा धेरै ठूलो अर्थ बोकेको छ। नेपालको कुना कन्दरामा रहेका सीप,स्रोत र सम्भावनालाई सही अवसर पाए विश्व बजारसँग जोड्न सकिन्छ भन्ने सन्देश पनि यसले दिन्छ। लुनाका लागि यही हो सौन्दर्यलाई उद्देश्यसँग जोड्ने अर्थ।
उनको बुझाइमा जित र हार प्रतियोगिताका प्राविधिक पक्ष हुन्। तर मिस वर्ल्डजस्तो मञ्चमा आफूले बोकेको उद्देश्य, आफ्नो काम र आफ्नो देशको कथा कति प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा अझ महत्वपूर्ण छ।
ताजभन्दा ठूलो एउटा वर्ष
विश्व मञ्चमा पुग्नुअघि लुनाले नेपालमा एक वर्ष मिस नेपालको ताज लगाइन्। मिस नेपाल २०२६ सम्पन्न भएसँगै उनको औपचारिक कार्यकाल पनि समाप्त भएको छ। अब उनले नेपालमा सुरु गरेका तथा आफू जोडिएका कैयौँ अभियानलाई नयाँ पुस्ताकी मिस नेपाल दीपमाला ढकालले अघि बढाउनेछिन्।
तर लुनाका लागि मिस नेपालको एक वर्ष एउटा उपाधि र औपचारिक जिम्मेवारीमा सीमित रहेन। मिस नेपालको एक वर्ष उनले देशका विभिन्न ठाउँमा पुगिन्, मानिसहरूसँग संवाद गरिन्, सामाजिक परियोजनामा काम गरिन् र समुदायका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर पाइन्। यही अनुभवले सौन्दर्य प्रतियोगिताप्रतिको उनको दृष्टिकोणलाई पनि फराकिलो बनायो।
विशेषगरी ‘ब्यूटी विथ पर्पस’मार्फत् समाजसँग प्रत्यक्ष जोडिँदा उनले सुन्दरता बाहिरी आकर्षण होइन त्यसले परिवर्तनको उद्देश्य बोकेपछि मात्रै त्यसको अर्थ अझ गहिरो हुन्छ भन्ने महसुस गरिन्।
मिस नेपालका रूपमा बिताएको समयले आफूलाई धेरै कुरा सिकाएको र त्यस अवधिमा गरिएका कामले सामाजिक प्रभाव सिर्जना गरेको उनी बताउँछिन्। त्यसैले मिस वर्ल्डको यात्रा उनका लागि अघिल्लो ताजको निरन्तरता भन्दा पनि सिकाइ र अनुभवको अर्को अध्याय हो।

सिक, कमाउ र फर्क
लुनाको विश्व मञ्चसम्मको यात्रा बाहिरबाट हेर्दा सौन्दर्य प्रतियोगिताको कथा देखिन्छ। तर यसको पछाडि अध्ययन, त्याग, अनुशासन र भविष्यको स्पष्ट योजना पनि छ।
उनी अस्ट्रेलियाको सिड्नीमा नर्सिङ अध्ययन गरिरहेकी थिइन्। मिस नेपालमा सहभागी हुन नेपाल आएपछि उनको अध्ययन एक वर्षका लागि रोकियो। त्यसपछि सुरु भयो मिस नेपालदेखि मिस वर्ल्डसम्मको यात्रा।
विश्व सुन्दरीको यात्रा पूरा गरेपछि उनी केही वर्ष अस्ट्रेलियामै बसेर आफ्नो अध्ययन पूरा गर्ने योजनामा छिन्। अध्ययन सकेपछि नेपाल फर्किएर विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभव आफ्नै देशमा प्रयोग गर्ने उनको संकल्प छ।
मिस नेपालमा सहभागी हुन नेपाल आउँदा उनले अघि सारेको एउटा वाक्य थियो-सिक, कमाउ र फर्क। आज मिस वर्ल्डको मञ्चसम्म आइपुग्दा पनि उनको सोच उस्तै छ।
विदेशमा सिकेको ज्ञान र अनुभवलाई अन्ततः नेपालमै उपयोग गर्ने सपना उनको यात्राको अर्को महत्वपूर्ण पाटो हो। त्यसैले विश्व मञ्चमा उनको उपस्थितिलाई व्यक्तिगत सफलताको खोजीका रूपमा हेर्न मिल्दैन। यसमा एउटा पुस्ताले विश्वबाट सिकेर आफ्नै देशमा फर्किने आकांक्षा पनि जोडिएको छ।
तयारीको लामो यात्रा
विश्व सुन्दरीको मञ्चमा पुग्नुअघि लुनाले नेपाल र भारतमा विभिन्न प्रशिक्षण लिइन्। प्रतियोगिताका प्रमुख फास्टट्र्याक विधा ट्यालेन्ट, स्पोर्ट्स च्यालेन्ज, टप मोडल, हेड टु हेड, ब्यूटी विथ पर्पस र मल्टिमिडियालाई लक्षित गर्दै उनले लामो समय तयारी गरेकी हुन्।
तयारी बाहिरी सौन्दर्य र प्रस्तुतिमा मात्र सीमित थिएन। शारीरिक क्षमता, व्यक्तित्व प्रस्तुति, संवादकला, सामाजिक परियोजना, सार्वजनिक अभिव्यक्ति र मानसिक तयारीमा समेत उनले उत्तिकै ध्यान दिइन्।
लुना शाकाहारी भएकाले लामो समय चल्ने प्रतियोगिताका क्रममा आवश्यक पोषण व्यवस्थापनमा प्रशिक्षक र आयोजक पक्षले विशेष ध्यान दिनुपर्ने अवस्था पनि छ। उनको खानपानदेखि शारीरिक तयारीसम्म हिडन ट्रेजरले समेत विशेष चासो राखेको थियो। यी सबै तयारीपछि उनी अहिले शारीरिक, मानसिक र भावनात्मक रूपमा विश्व मञ्चका लागि तयार रहेको बताउँछिन्।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आफैँमा व्यक्तिगत प्रतिस्पर्धा हो। जब एउटा युवतीले नेपालको प्रतिनिधित्व गर्छिन् उनको उपस्थितिले व्यक्तिगत सीमाभन्दा बाहिरको अर्थ राख्छ।
उनले लगाएको पोसाकमा नेपालको संस्कृति झल्किन्छ। उनले बोलेका शब्दमा नेपाली समाजको परिचय आउँछ। उनले प्रस्तुत गर्ने परियोजनामा गाउँको सम्भावना देखिन्छ। अनि उनको यात्रामा नेपाली युवापुस्ताको सपना जोडिन्छ।
सेप्टेम्बर ५ मा कसको शिरमा विश्व सुन्दरीको ताज सजिन्छ त्यो समयले बताउनेछ। तर नेपालको कुना कन्दरामा बुनिने दुना टपरीबाट सुरु भएको सामाजिक कथा अहिले विश्वको मञ्चमा पुगेको छ।
त्यसैले लुनाको यात्रा मिस नेपालबाट मिस वर्ल्डसम्मको मात्र होइन। यो एउटी नेपाली युवतीले आफूले देखेको सपनालाई आफ्नो देशको कथासँग जोडेर संसारतिर हिँडेको यात्रा हो।


