मिस नेपाल दीपमाला : एउटा ताज र तीन ऐतिहासिक कीर्तिमान, लक्ष्य विश्वसुन्दरी

समग्र पाँच अवार्डको साक्षीको रुपमा अन्तिम उत्तर नै काफि

हिमाल प्रेस १८ साउन २०८३ २१:३२ | Monday, August 3, 2026
16
SHARES
मिस नेपाल दीपमाला : एउटा ताज र तीन ऐतिहासिक कीर्तिमान, लक्ष्य विश्वसुन्दरी मिस नेपाल दीपमाला ढकाल।

काठमाडौँ- मिस नेपालको इतिहासमा एकै प्रतियोगीले चार प्रमुख सहविधाको ताज हासिल यसअघि कहिल्यै भएको थिएन। यस वर्ष दीपमाला ढकालले त्यो इतिहास आफ्नो नाममा लेखाइन्। उनले मिस कन्फिडेन्स, मिस भिजनरी ग्रिन, मिस हेल्थ हार्मोनी र ब्युटी विथ पर्पस हात पार्दै ग्रान्ड फिनालेअघि नै आफूलाई सबैभन्दा बलियो दाबेदारका रूपमा स्थापित गरिन्।

अन्ततः त्यही निरन्तर उत्कृष्ट प्रदर्शनले उनलाई मिस नेपाल वर्ल्ड २०२६ को ताज मिल्यो। मिस नेपालका सहविधा अतिरिक्त पुरस्कार होइनन्। यी प्रतियोगीको व्यक्तित्व, नेतृत्व क्षमता, आत्मविश्वास, स्वास्थ्यप्रतिको सचेतना, सामाजिक उत्तरदायित्व र समग्र दृष्टिकोणको मूल्यांकन गर्ने महत्त्वपूर्ण आधार हुन्।

एकैपटक चार प्रमुख सहविधा जित्नु पुरस्कारको संख्या बढ्नु मात्र होइन, प्रतियोगिताभर उनी हरेक पक्षमा उत्कृष्ट रहेको पुष्टि पनि हो। विगतका संस्करणहरू हेर्दा कुनै पनि प्रतियोगीले यति धेरै प्रमुख सहविधा एकैपटक आफ्नो नाममा पार्न सकेको उदाहरण भेटिँदैन।

विशेषगरी ‘ब्युटी विथ पर्पस’ मिस वर्ल्ड प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित अवधारणामध्ये एक हो। समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियान, समुदायप्रतिको प्रतिबद्धता र सामाजिक प्रभावका आधारमा मूल्यांकन गरिने यो विधामा उत्कृष्ट हुनु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पनि महत्त्वपूर्ण उपलब्धि मानिन्छ।

दीपमालाको यो सफलता मिस नेपालको यात्रामा सीमित छैन, आगामी मिस वर्ल्ड-२०२७ को तयारीका दृष्टिले पनि अर्थपूर्ण उपलब्धि हो। तर दीपमालाको उपलब्धि यतिमै सीमित रहेन। शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले तीन राष्ट्रिय कीर्तिमान एकैसाथ आफ्नो नाममा लेखाइन्।

उनको कृतिमान मात्र होइन उत्तर पनि त्यस्तै थियो। मञ्चको अन्तिम चरणमा पुगेपछि दीपमालासामु एउटा गहिरो प्रश्न राखियो। छ प्रतिशपर्धी त्यहाँ थिए। उद्घोषकले उनलाई सोधिन्, ‘जीवनले हामीलाई रुनका लागि सय वटा कारण मुस्किलले दिँदा मुस्कुराउनका लागि किन हजारौँ कारण खोज्छ?’

प्रश्ने गम्भीर बनेकी दीपमालाले समय सुरु हुने वित्तिकै क्षणभरमै सोचेर आत्मविश्वासका साथ उत्तर दिइन्, ‘जीवन कठिन छ, यो एउटा तितो यथार्थ हो। यसमा उतारचढाव हुन्छ नै अनि चुनौतीसँगै चिन्ता र संघर्ष पनि। तर मलाई मुस्कुराइरहन प्रेरित गर्ने कारण भनेको आजभन्दा पक्कै भोलि राम्रो हुनेछ भन्ने विश्वास हो। मेरो गन्तब्यमा आज जस्तोसुकै कठिनाइ आए पनि, जसरी सुरुङको अन्त्यमा एउटा उज्यालो प्रकाश अवश्य हुन्छ, त्यसले आशा जगाइरहन्छ।’

उनले ४५ सेकेन्डको समय सदुपयोग गर्दै थपिन र उनले आफ्नो सन्देशलाई मानसिक स्वास्थ्यसँग जोड्दै भनिन्, ‘मलाई थाहा छ, यो मेरो जीवनको मात्र कथा होइन। बाहिर पनि धेरै मानिस आ–आफ्ना संघर्षसँग जुधिरहेका छन्। म भन्छु हरेक मानवमा मानसिक स्वास्थ्यको महत्त्व झन् बढ्छ। आज हामीलाई हेरिरहनुभएका जो–कोहीको मनमा कुनै पीडा वा संघर्ष छ भने, म उहाँहरूलाई एउटा उज्यालो खोज्न, आशाको ढोका खोल्न, मायाममतालाई अँगाल्न र राम्रो भविष्यका लागि सधैँ एकअर्काको साथका साथै प्रेमलि बन्न आग्रह गर्न चाहन्छु।’

दीपमालाको यो भावपूर्ण उत्तर सकिन नपाउँदै सभाहल केही क्षण त मौन बन्यो। त्यसपछि निर्णायक मण्डल र दर्शकदीर्घा दुवैतर्फबाट गडगडाहटसहित ताली बज्यो। उनको उत्तरले प्रतियोगिताको माहोललाई केवल प्रतिस्पर्धामा सीमित राखेन, आशा, आत्मबल र मानसिक स्वास्थ्यप्रतिको संवेदनशील सन्देशमा रूपान्तरण गरिदियो। र, उनी बनिन मिस नेपाल २०२६। यसबाट पनि उनले पाएका अन्य विधाका अवार्डहरु नियाल्न सकिन्छ।

दीपमाला मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनिन्। यसअघि विदेशमा अध्ययन गरेर नेपाल फर्किएका वा अध्ययन गरिरहेका युवतीले मिस नेपालको ताज जितेका उदाहरण थिए। तर विदेशमै जन्मिएर वा हुर्किएर, एनआरएनएको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने युवतीले मुख्य उपाधि जितेको यो पहिलो घटना हो।

मिस नेपालको उपाधि विजेता दीपमाला ढकाल (बीचमा), मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कोस्मो कसिस सुब्बा (बायाँ)।

हङकङमा जन्मिएकी दीपमाला हाल एनआरएनएको वर्तमान कार्यसमितिमा ‘दोस्रो पुस्ता संयोजक’ का रूपमा सक्रिय छिन्। एनआरएनएको परिभाषामा दोस्रो पुस्ता भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवालाई जनाइन्छ, जसले नेपालसँगको भावनात्मक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई निरन्तरता दिइरहेका हुन्छन्। त्यस अर्थमा उनको जितले विश्वभर फैलिएका नेपाली समुदायको नयाँ पुस्ताको प्रतिनिधित्वसमेत गरेको छ।

दीपमाला अर्को कीर्तिमान पनि उत्तिकै विशेष छ। डायस्पोराबाट सुरु भएको यात्रा सीधै राष्ट्रिय उपाधिमा रूपान्तरण भएको यो मिस नेपालको इतिहासमै पहिलो घटना हो। आयोजक संस्था द हिडन ट्रेजरले सञ्चालन गर्दै आएको मिस नेपाल हङकङको उपाधि जितेर मुख्य प्रतिस्पर्धामा प्रवेश गरेकी दीपमाला, त्यही यात्रालाई मिस नेपालको मुख्य ताजसम्म पुर्‍याउने पहिलो प्रतियोगी बनेकी छन्।

यसरी हेर्दा दीपमालाको जित एउटा मुकुटको सफलता होइन। चार प्रमुख सहविधामा वर्चस्व, पहिलो गैरआवासीय नेपाली मिस नेपाल र डायस्पोराबाट मुख्य उपाधिसम्म पुग्ने पहिलो विजेता— यी तीनवटै उपलब्धिले उनलाई मिस नेपालको इतिहासमा अलग पहिचान दिएका छन्। त्यसैले उनको ताज केवल व्यक्तिगत सफलताको प्रतीक होइन, बदलिँदो नेपाली समाज, विश्वभर फैलिएको नेपाली समुदाय र नयाँ पुस्ताको आत्मविश्वासको पनि प्रतिनिधित्व बनेको छ।

प्रकाशित: १८ साउन २०८३ २१:३२ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast