काठमाडौँ- मिस नेपाल वर्ल्ड- २०२६ को ताज घोषणा हुनुअघि हलमा एकाएक निस्तब्धता छायो। हलको उज्यालो ६ प्रतिस्पर्धी युवतीमाथि केन्द्रित थियो। उनीहरूका अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कानभित्र महिनौँको मिहिनेत, वर्षौँको सपना र केही सेकेन्डपछि जीवन बदलिन सक्ने प्रतीक्षा लुकेको थियो। अनि उद्घोषकको स्वर गुञ्जियो– मिस नेपाल वर्ल्ड २०२६– दिपमाला ढकाल।
अन्तिम २४ हुँदै ६ जनामा आइपुग्दा हलमा एक दुई तीन को हुने भन्नेले सन्नाटा थियो भने केही क्षणमा दर्शक दिर्घाबाट दीपमाला दीपमाला कतै अन्य नामहरु आइरहेका थिए। तर मञ्चमा आउने नाम नै अन्तिम हुने थियो २०२६ को लागि। त्यो नाम थियो– दिपमाला। यस वर्षको प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कशिश सुब्बा मिस नेपाल कस्मो घोषित भइन्। विजेताहरूले नेपाललाई सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्नेछन्।
तालीको गडगडाहटसँगै दिपमालाको आँखाबाट आँसु झर्यो। त्यो आँसु जितको मात्र थिएन, त्यहाँ हाँसो पनि सँगै थियो। दर्शकदीर्घामा बसेकी उनकी आमा रोशनी खरेलका आँखामा पनि त्यही आँसु थियो। मञ्चमा ताज छोरीले लगाएकी थिइन्, तर पूरा भएको सपना एउटी आमाको पनि थियो।
त्यसैले दिपमालाको कथा केवल मिस नेपालको ताज जितेको कथा होइन। यो एउटा अधुरो सपना पुस्तान्तरण भएर पूरा भएको कथा पनि हो। तीन दशकअघि (सन् १९९४) नेपालमा पहिलोपटक मिस नेपालको आयोजना हुँदा रोशनी खरेल त्यतिबेला पनि त्यस प्रतियोगिताकी प्रतिस्पर्धी थिइन्। त्यो समय नेपालमा सौन्दर्य प्रतियोगिता नयाँ अवधारणा थियो।

त्यसबखत र अहिलेको फरक भनेको आमाले घरमा नै जानकारी नदिएर आफ्नी एक दिदीलाई मात्र भनेर सहभगिता जनाएकी थिइन् भने अहिले सबै परिवार एक साथ भएर दिपमालालाई हौसला दिइरहेका छन्। समय परिवर्तनशिल छ भने अर्को पुस्तामा आइपुग्दाको चेतनाको विकास पनि उत्तिकै महत्वपूर्ण छ।
समाजको दृष्टि फरक थियो, चुनौती धेरै थिए। रोशनीले पनि आफ्नो क्षमता र व्यक्तित्व देखाउने सपना बोकेर मञ्चमा पाइला टेकेकी थिइन्। तर जीवनले उनीसँग अर्को बाटो रोजिदियो। प्रतियोगिता सकियो, समय बित्यो, परिवार बन्यो, जिम्मेवारी बढे। सपना भने मनको एउटा कुनामा सुरक्षित रहिरह्यो।
सपना कहिलेकाहीँ पूरा हुँदैन, तर मर्दैन बरु कोल्टे फेर्छ। पुस्तान्तरण हुन्छ। यस्तै भयो। समयले त्यसलाई अर्को पुस्ताका लागि बचाइराख्यो। आफैँ हिडेको मञ्चमा तीन दशक पछि आफ्नी कान्छि छोरी हिँडिन त्यो पनि सबै भन्दा अगाडि। अनि आमाको आँखामा आँसु झर्नु स्वभाविक।

हुन पनि दिपमाला मिस नेपालको मञ्चमा उभिँदा एउटा रोचक संयोग पनि दोहोरियो। उनकी आमाले पहिलो मिस नेपालमा पाएको प्रतियोगी नम्बर थियो-१७। यो नम्बर कसैले दिने होइन। बक्समा एक देखि २४ राखिएको हुन्छ। त्यती तान्दा आफूलाई आइलाग्ने हो। वर्षौँपछि दिपमालाले पनि त्यही नम्बर तानिन्।
परिवारका लागि त्यो रमाइलो संयोग थियो। तर प्रतियोगिताको अन्त्यमा त्यही नम्बर इतिहास बन्यो। तीन दशकअघि जितमा परिणत हुन नसकेको १७ नम्बर, यसपटक नम्बर एक बन्यो। आमाको अधुरो सपना छोरीको शिरमा ताज बनेर सजियो।

ताज जितेको केही मिनेटपछि पनि दिपमालाको अनुहारमा अविश्वास मिसिएको मुस्कान थियो। सायद उनलाई अझै पनि लागिरहेको थियो – यो सपना हो कि यथार्थ? यद्यपि उनी प्रतिस्पर्धामा भाग लिनुअघि विश्वासका साथ भन्थिन् – म सिक्न र ताज जितेर अर्को यात्रा सुरु गर्न आएकी हुँ।
मञ्चबाट तल झर्नेबित्तिकै उनी सबैभन्दा पहिले आफ्नी आमातर्फ बढिन्। त्यहाँ शब्द थिएनन्। त्यहाँ कुनै औपचारिक बधाइ थिएन। थियो त केवल एउटा लामो अँगालो। त्यो अँगालोमा वर्षौँअघिको एउटा अधुरो सपना पनि थियो, धेरै वर्षको प्रतीक्षा पनि थियो र एउटा आमाले छोरीलाई दिएको विश्वासको प्रतिफल पनि।
त्यस क्षण आमा रोशनीले सायद आफूलाई विजेता महसुस गरिरहेकी थिइन्। किनकि जीवनमा सबै जित आफ्नै नाममा लेखिनुपर्छ भन्ने हुँदैन। कतिपय जित आफ्ना सन्तानको सफलतामा भेटिन्छन्। अनि आमा र बुवाले स्मरण गरे विद्यालयमा अध्ययन गर्दा नै सबै प्रश्नको उत्तर दिन पहिले नै हात उठाएको कारण लौन सम्झाउन पर्यो भन्ने नै थियो। दिपमाला भन्थिन् – खै केही सोध्यो कि उत्तर दिइहाँलु जस्तो लाग्थ्यो। प्रश्न सुन्दा हात उठाइहाल्ने, तर उत्तर भने त्यसपछि मात्रै सोच्ने गरिन्थ्यो। उनीमा त्यो स्तरको क्षमता सानैदेखि छ।

दिपमालाको कथा हङकङबाट सुरु हुन्छ, अनि फेरि नेपाल जोडिन्छ। उनी हङकङको एक विल्डर कम्पनी चलाईरहेका इन्जिनियर सुरेन्द्रकुमार ढकाल र व्यवस्थपक रोशनी खरेलकी कान्छि छोरीको रुपमा २३ वर्ष अघि हङकङमा नै जन्मिएकी हुन। उनकी दिदी सोयना पनि हङकङको एक लगानी कम्पनीमा कार्यरत छिन्। उनीहरु सबै हङकङमा बस्छन्।
विश्वकै अग्रणी लगानी व्यवस्थापन अमेरिकी कम्पनी ब्ल्याकरकमा उनको आकर्षक जागिर थियो। सानै उमेरमा इन्भेस्टमेन्ट एनालिस्टका रुपमा सुरक्षित करिअर, राम्रो आम्दानी र अन्तर्राष्ट्रिय अवसर-धेरै युवाले खोज्ने जीवन उनीसँग थियो। तर उनको मनमा एउटा प्रश्न बारम्बार उठिरहन्थ्यो- यदि मसँग विश्वसामु उभिने अवसर आयो भने, म कुन देशको नाम लिएर उभिन्छु? उत्तर सधैँ एउटै आउँथ्यो- नेपाल।
हङकङमा बसेर पनि उनले नेपाली पासपोर्टलाई आफ्नो सबैभन्दा ठूलो परिचय बनाएर राखिन्। उनी चाहेको भए त्यहाँ हुने सौन्दर्य प्रतियोगितामा सहभागी हुन सक्थिन्। अवसरको कमी थिएन। तर उनले रोजेको बाटो फरक थियो। उनले मिस नेपालको लागि हङकङमा गरिने प्रतियोगितामा सहभागी जनाउने भएपछि उनी नै चयन भइन्। मिस नेपाल इन्टरनेशनल हङकङ भएर मिस नेपालको लागि नेपाल आइन्, किनकि उनको विश्वास थियो र भन्थिन – आफ्नो देशको प्रतिनिधित्व गर्नु कुनै पनि व्यक्तिगत उपलब्धिभन्दा ठूलो सम्मान हो।
‘विदेश बसाइले मेरो ठेगाना परिवर्तन गरेको थियो, अनि कहाँ जन्मने त्यो मेरो च्वाइसले हुने कुरा होइन तर त्यही पहिचान होइन मेरो बुबामामु नै नेपालको हुनाले म नेपाली भएर रहन मन लाग्यो,’ दिपमालाले सुनाइन्, ‘झन मेरा मामली हजुरबाको त्यतिबेलाको त्याग र कथाले मलाई नेपालप्रतिको थप मोह जागृत भयो, नेपालमा नै केही गरौँ भन्ने भयो।’ पूरै रुपमा नेपालमा रहने वा बाहिर रहने त्यो त भविष्यको कुरा हो भन्दै उनले भनिन्, मैले मिस नेपालमा भाग लिन त मेरो करिअरका कैयन पाइलामा केही समय विश्राम लगाएर यता रमे। अब यो पाइलालाई विश्राममा जोड्ने छु।’
सबैभन्दा पहिले उनले आफ्नो सुरक्षित जागिर छाडिन्। धेरैका लागि त्यो अस्वाभाविक निर्णय हुन सक्छ। स्थिर भविष्य छोडेर अनिश्चित यात्रामा निस्कन साहस चाहिन्छ। दिपमालाले त्यही साहस देखाइन्। नेपालका कैयन ठूला व्यापारी पनि उनले छाडेको जागिर सम्झेर जिब्रो निकाल्छन् भेटमा।

त्यसमाथि, गत वर्ष उनी मिस नेपालको तयारीमा थिइन्। आवेदनदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको थियो। तर कार्यालयमा काम गर्ने क्रममा उठ्दा उनको खुट्टामा गम्भीर चोट लाग्यो। चिकित्सकले आराम गर्न सुझाव दिए। उनी प्रतियोगिताबाट पछि हट्न बाध्य भइन्।
एक वर्षअघि त्यही घटनाले धेरैलाई निराश बनाउँथ्यो। तर दिपमालाले त्यसलाई अन्त्य होइन, तयारीको समय बनाइन्। उनले शरीर निको पारिन्, आत्मविश्वासलाई अझ बलियो बनाइन् र आफूलाई फेरि तयार गरिन्। यसपटक उनी केवल सहभागी हुन होइन, आफूभित्रको सम्भावना प्रमाणित गर्न नेपाल आएकी थिइन्।
तीन महिनाको प्रशिक्षणले दिपमालालाई एउटा नयाँ यात्रामा लग्यो। नेपालमा अझै पनि मिस नेपाललाई फेसन र ग्ल्यामरको प्रतियोगिताका रूपमा मात्र बुझ्नेहरू कम छैनन्। तर वास्तविकता निकै फरक छ। यो एउटा यस्तो मञ्च हो, जहाँ सौन्दर्यभन्दा बढी व्यक्तित्व र जीवन भोगाईको परीक्षा हुन्छ।
बोल्ने शैली, नेतृत्व क्षमता, समसामयिक विषयमा बुझाइ, सामाजिक उत्तरदायित्व, मानसिक दृढता, अनुशासन, सार्वजनिक व्यवहार, समय व्यवस्थापन र संकटमा निर्णय गर्ने क्षमता- यी सबै पक्षमा प्रतिस्पर्धीलाई तयार पारिन्छ र त्यसमा को अब्बल दरिन्छ जुरीले छान्छ।
दिपमालाका लागि पनि ती तीन महिना केवल र्याम्पमा हिँड्ने अभ्यास थिएनन्। त्यो आफैँलाई पुनः निर्माण गर्ने प्रक्रिया थियो। सायद त्यसैले आजको मिस नेपाल केवल सुन्दरताको प्रतीक होइन, एउटा जिम्मेवार प्रतिनिधि पनि हो।
दिपमालाको सार्वजनिक जीवन ताज जितेपछि सुरु भएको होइन। उनी गैरआवासीय नेपाली समुदायमा युवा संयोजकका रूपमा सक्रिय छिन्। विदेशमा रहेका नेपाली युवालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानमा उनी लामो समयदेखि संलग्न छिन्। त्यस्तै, नेपाल क्यान्सर अस्पतालकी ब्रान्ड एम्बासडरका रूपमा स्वास्थ्य सचेतनासम्बन्धी अभियानमा पनि उनको सक्रिय उपस्थिति रहँदै आएको छ।
यसले देखाउँछ- उनको परिचय कुनै ताजले निर्माण गरेको होइन। ताजले त पहिलेदेखि बनिरहेको व्यक्तित्वलाई औपचारिक मान्यता दिएको मात्र हो। दिपमालाको यात्राले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ- विदेशमा बसेर पनि के आफ्नो देशसँगको सम्बन्ध त्यत्तिकै गहिरो रहन सक्छ? उनको जीवन त्यसको उत्तर हो।
उनी हङकङमा बस्छिन्, तर नेपाललाई बोकेर हिँड्छिन्। उनको पासपोर्ट मात्र नेपाली छैन, सोच पनि नेपाली छ। त्यसैले उनले हङकङको मञ्च होइन, नेपालको मञ्च रोजिन्। उनले अवसरभन्दा पहिचानलाई ठूलो ठानिन्।
आज संसारभर लाखौँ नेपाली छन्। उनीहरूमध्ये धेरैको सफलता विदेशी भूमिमा लेखिँदैछ। तर त्यो सफलतासँगै आफ्नो जरा नबिर्सनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दिपमालाले यही सन्देशलाई आफ्नो यात्रामार्फत जीवन्त बनाएकी छन्।

सायद वर्षौँपछि अर्को कुनै सानी नानीले दिपमालाको तस्बिर हेरेर आफूभित्र पनि एउटा सपना रोप्नेछे। सायद अर्को कुनै प्रवासी नेपाली युवतीले पनि भन्नेछे – म जहाँ बसे पनि, मेरो परिचय नेपाल नै हो।
त्यही दिन दिपमालाको जितले अर्को अर्थ पाउनेछ। किनकि वास्तविक ताज टाउकोमा एक वर्ष मात्र रहन्छ। तर प्रेरणा धेरै पुस्तासम्म बाँचिरहन्छ।
दिपमालाले जितेको ताज समयसँगै अर्को विजेताको शिरमा जानेछ। तर उनले लेखेको कथा भने सजिलै मेटिने छैन। त्यो कथा एउटा आमाको विश्वासको हुनेछ। एउटी छोरीको साहसको हुनेछ। विदेशमा बसेर पनि मातृभूमिलाई पहिलो परिचय बनाउने नेपाली मनको हुनेछ।
गैरआवासीय नेपालीहरूको नयाँ पुस्ताका लागि दिपमालाको यात्रा एउटा सन्देश पनि हो – पहिचान भूगोलले मात्र निर्धारण गर्दैन। पहिचान सम्झनाले निर्धारण गर्छ। भाषाले निर्धारण गर्छ। संस्कृतिले निर्धारण गर्छ। र, सबैभन्दा बढी, आफ्नै देशप्रतिको आत्मीयताले निर्धारण गर्छ।
दिपमालाले त्यही आत्मीयतालाई ताजभन्दा ठूलो बनाइदिएकी छन्। अब उनको यात्रा नयाँ मोडमा पुगेको छ। मिस नेपालको ताज अन्तिम उपलब्धि होइन। बरु त्यो अर्को ठूलो यात्राको पहिलो पाइला हो। अब उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
विश्वका विभिन्न देशका प्रतिनिधिहरूसँग एउटै मञ्चमा उभिँदा उनी केवल आफ्नै परिचय लिएर जाने छैनन्। उनको साथमा हुनेछ – हिमालको देश। बुद्धको जन्मभूमि। विविध संस्कृतिको नेपाल। विदेशमा पसिना बगाइरहेका लाखौँ नेपालीको कथा। र, एउटा यस्तो देश, जसले सीमित स्रोत भए पनि असीम सम्भावना बोकेको छ। अब उनको काँधमा त्यो वा यो होइन धेरै जिम्मेवारी थपिएको छ।
सायद त्यसैले दिपमालाको कथा एउटा प्रतियोगिताको परिणामभन्दा धेरै ठूलो छ। यो एउटा आमाले छोरीमार्फत आफ्नै सपना पूरा गरेको कथा हो। यो सुरक्षित करिअरभन्दा उद्देश्य रोज्ने साहसको कथा हो। यो विदेशमा बसेर पनि मातृभूमिलाई पहिलो परिचय बनाउने नेपाली मनको कथा हो। र, सबैभन्दा ठूलो कुरा- यो प्रमाण हो कि सपना कहिल्यै पुराना हुँदैनन्। तिनले केवल आफ्नो समय पर्खिरहेका हुन्छन्।
दिपमालाको शिरमा सजिएको ताजले अन्ततः यही भन्यो- कतिपय जित व्यक्तिगत हुँदैनन्, ती दुई पुस्ताले मिलेर कमाएका हुन्छन्।
अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला


