प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती गरिने भएको छ । भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आउँदो हिउँदको बिजुली माग व्यवस्थापनका निम्ति आवश्यक कार्य गर्न आपूर्ति कटौती गर्न लागिएको हो ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका निम्ति असोज १५ (आज)देखि २६ गतेसम्म विभिन्न स्थानमा बिजुली आपूर्ति कटौती गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सम्बन्धित क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याइने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ । असोज १५ गते सतुंगल बौथली क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने प्राधिकरणले जनाएको छ ।
असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक क्षेत्र, असोज १७ गते मूलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मूलपानी क्षेत्रमा बिजुली आपूर्ति कटौती गरिनेछ ।
यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरि आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइनको काम गरिने प्राधिकरणले जनाएको छ ।
मौसम प्रतिकूल भएमा निर्धारित समयमा विद्युत् आपूर्ति कटौती गरिने छैन । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।
दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा कास्कीको पोखरा र चितवनको भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ । यो कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबर समेत बिछ्याइने प्राधिकरणले जनाएको छ ।



