अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला

आमाको पथ पछ्याउँदै सौन्दर्य प्रतियोगितामा सहभागी

हिमाल प्रेस १७ असार २०८३ १८:११ | Wednesday, July 1, 2026
8
SHARES
अमेरिकी कम्पनी ‘ब्ल्याक रक’को विज्ञ जागिर छाडेर मिस नेपालको दौडमा दीपमाला सन् १९९४ को मिस नेपालमा सहभागी आमा रोशनी खरेल (बायाँ) र २०२६ को मिस नेपालमा सहभागी छोरी दीपमाला ढकाल।

काठमाडौँ- कहिलेकाहीँ इतिहासले आफैँलाई दोहोर्‍याउँदैन, तर समयले यस्ता संयोगहरू रचिदिन्छ जसले एउटा परिवारको अधुरो सपनालाई अर्को पुस्ताको काँधमा सुम्पिदिन्छ। मिस नेपाल २०२६ को प्रतिस्पर्धामा यस्तै एउटा भावुक र प्रेरणादायी कथा फेरि जीवित भएको छ- दीपमाला ढकालको।

प्रतियोगिताका छानिएका शीर्ष २४ प्रतिस्पर्धीमध्ये उनले चयन गर्दा नम्बर १७ मा छिन्। यो केवल एउटा अंक होइन, तीन दशकभन्दा लामो समयदेखि एउटा आमाको मनभित्र सुरक्षित रहेको सपनाको निरन्तरता हो। ठ्याक्कै ३२ वर्षअघि सन् १९९४ मा उनकी आमा रोशनी खरेल पनि मिस नेपालको पहिलो संस्करणमा सहभागी भएकी थिइन् र उनको प्रतियोगी नम्बर पनि १७ थियो। त्यति बेला रुबी राणा सुन्दरी घोषित भएकी थिइन्।

त्यसबेला ताज जित्न नसके पनि सपना कतै मेटिएन। आज त्यही नम्बर बोकेर छोरी दीपमाला मिस नेपाल-२०२६ को मञ्चमा उभिएकी छन्। बक्सबाट नम्बर तान्दा फेरि १७ निस्कियो। त्यो क्षणलाई धेरैले संयोग भने, तर परिवारका लागि यो समयले लेख्न खोजेको एउटा सुन्दर कथा थियो।

हिडन ट्रेजरले जुन २३ मा ‘मिस नेपाल २०२६’ का अन्तिम शीर्ष-२४ प्रतिस्पर्धी सार्वजनिक गरेको थियो। विविध पृष्ठभूमि र प्रेरणादायी कथासहित प्रतियोगितामा सहभागी उनीहरूले अब मिस नेपालको ताजका लागि प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने यात्राको सुरुआत गरेका छन्।

दीपमालाको परिचय यतिमै सीमित छैन। उनी हङकङमा जन्मिएर, हुर्किएर र पढेर विश्वकै प्रतिष्ठित कम्पनी ब्ल्याक रक (विश्वको अर्थतन्त्रमा ठूला अर्थतन्त्र भएको चार-पाँच देश छाडेर कहिले छैटौँ त कहिले पाँचौँ अर्थतन्त्र भएको कम्पनी) मा ‘इनभेस्टमेन्ट स्ट्राटेजिस्ट’ का रूपमा काम गरिसकेकी युवती हुन्। सन् २०२४ मा युनिभर्सिटी अफ हङकङबाट इकोनोमिक्स एन्ड फाइनान्समा स्नातक गरेकी उनले त्यही वर्ष ब्ल्याक रकमा स्थायी करियर सुरु गरेकी थिइन्।

विश्वभरका उत्कृष्ट विद्यार्थीहरूले सपना देख्ने कम्पनीमा काम गर्नु सामान्य उपलब्धि होइन। नेपाली त्यो स्तरमा उही कम्पनीमा सायदै होलान्। तर उनले त्यो करियर छाडेर नेपाल आउने निर्णय लिएकी छन्। उनी जब मिस नेपाल हङकङ भइन् त्यतिबेला भनेकी थिइन्- ‘ब्ल्याक रकमा फेरि पनि काम गर्न सकिन्छ। अध्ययनको करियर फेरि बनाउन सकिन्छ। तर मिस नेपाल भएर आफ्नो देशको प्रतिनिधित्व गर्ने अवसर यही उमेरमा मात्र आउँछ। यो समय गुमेपछि फेरि फर्केर आउँदैन। त्यसैले मैले अहिले देश रोजेकी हुँ। त्यताको करिअर पछि फेरि बनाउँला नि।’

यो निर्णयले उनलाई अन्य प्रतिस्पर्धीभन्दा भिन्न बनाएको छ। विदेशमा जन्मिए पनि उनले नेपाली राहदानी बोकेकी छन्। नेपाललाई आफ्नो जिम्मेवारीका रूपमा हेर्छिन्। ‘जन्म कहाँ हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा हुँदैन, तर आफूलाई कुन देशको प्रतिनिधिका रूपमा चिनाउन चाहन्छौँ भन्ने निर्णय हाम्रो आफ्नै हुन्छ,’ उनले भनेकी थिइन्। उनी आफ्नो नामको पछाडि पनि आमा र बुवा दुवैको थर राख्ने गर्छिन्। कानुनले नमिल्दा नागरिकता पासपोर्टमा एक थर मात्र भए पनि उनी अन्यत्र लेख्दा खरेल ढकाल लेख्छिन् भने कतै केडी सर्टफर्ममा लेख्छिन्।

हङकङमा तीन संस्कृतिको बच्चाका रूपमा हुर्किएकी दीपमालाले हङकङको नेपाली समुदाय (लगभग तीस हजार नेपाली) को संस्कृति र मूल्यहरूलाई विश्वसामु उजागर गर्न चाहन्छिन्। उनले त्यतिबेला भनेकी थिइन, ‘हङकङका नेपालीको आत्मा मात्र बोक्न चाहन्नँ, उनीहरूको संस्कृति र मूल्यहरूलाई पनि प्रदर्शन गर्न चाहन्छु।’

दीपमालाको यात्रा अघिल्लो महिनाबाट सुरु भएको होइन। उनी यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ को उपाधि हासिल गरेर सीधै यता प्रवेश गरेकी हुन्। त्यही उपाधिले उनलाई मिस नेपाल २०२६ मा हङकङबाट प्रतिनिधित्व गर्न बाटो खोलिदिएको हो। उनी केवल र्‍याम्पमा हिँड्न जान्ने र फेसनएबल युवती होइनन्। विद्यालयदेखि नै नेतृत्व उनको पहिचान बन्यो- कक्षाको क्याप्टेन, विभिन्न क्लबहरूको नेतृत्व, कलेजमा विद्यार्थी परिषद्को प्रमुख। उनी राष्ट्रिय डिबेट च्याम्पियन पनि हुन्।

उनको अर्को शक्ति भनेको सञ्चार क्षमता हो। उनी नेपाली, अंग्रेजी, म्यान्डारिन र क्यान्टोनिज भाषामा समान रूपमा सहज बोल्न लेख्न सक्छिन्। अर्थात् राम्रै पकड राख्छिन्। हजारौँ दर्शकअगाडि कार्यक्रम सञ्चालन गर्ने अनुभव उनमा छ। उनी टेडएक्स स्पिकर पनि हुन्। उनले आफ्ना हजुरबुबाको विरासतबारे लेखिएको पुस्तकको केही प्रेरणादायी कुरा राखेकी थिइन्। जुन अहिले पनि हामी सामाजिक सञ्जालमा हेर्न र सुन्न सक्छौँ। साथै उनी टोस्ट मास्टर पनि हुन्।

शारीरिक रूपमा उनी अत्यन्त अनुशासित छिन्- तेक्वान्दो ब्ल्याक बेल्ट धारण गरेकी, म्याराथन रनर उनी साँच्चै बहुप्रतिभा भएकी युवती हुन्। तेक्वान्दोले उनलाई आत्मरक्षा मात्र होइन, धैर्य, अनुशासन र हार नमान्ने संस्कार सिकाएको छ। सामाजिक उत्तरदायित्वप्रति उनको संवेदनशीलता उल्लेखनीय छ। उनी नेपाल क्यान्सर अस्पतालको ब्रान्ड एम्बासडर हुन्। साथै उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य भएर सेकेन्ड जेनेरेसन कोअर्डिनेटरका रूपमा कार्यरत छिन्।

यूएन मिलेनियम फेलोका रूपमा पनि उनले अन्तर्राष्ट्रिय सामाजिक मुद्दाहरूमा काम गरेकी छन्। सन् २०२४ मा उनी जुविन फाउन्डेसनको डाइभर्सिटी सूचीमा पनि समावेश भइन्, जसले जातीय अल्पसंख्यक समुदायका प्रतिभाशाली व्यक्तिहरूलाई सरकारी सल्लाहकार भूमिकाका लागि चिनाउँछ। हुन त उनी नेपालमा हुर्किएकी होइनन्, तर नेपाली भाषा, चाडपर्व र संस्कारलाई जोगाएर राखेकी छन्।

उनका बुबाआमाले हङकङको व्यस्त जीवन छोडेर नेपाल आएर छोरीको साथ दिएका छन्- व्यवस्थापनदेखि मानसिक हौसलासम्म। दीपमालाको कथा सौन्दर्य प्रतियोगिताको होइन। यो विश्वको कुनै पनि कुनामा जन्मिए पनि आफ्नो देशलाई गर्वका साथ प्रतिनिधित्व गर्न सकिन्छ भन्ने विश्वासको कथा हो।

अनि, यो आमाको अधुरो सपनालाई छोरीले पूरा गर्न खोजेको प्रेरणादायी यात्रा हो। यो नयाँ पुस्ताको नेपाली युवतीले आफ्नो जरा बिर्सन नचाहेको, करियरभन्दा देश र संस्कृतिलाई प्राथमिकता दिएको कथा हो। मिस नेपाल अहिले व्यक्तित्व, नेतृत्व, बौद्धिक क्षमता, सामाजिक चेतना र विश्वमञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्ने क्षमता मापन गर्ने मञ्च बनेको छ।

यी सबै मापदण्डमा दीपमाला बलियो प्रतिस्पर्धी देखिन्छिन्- अन्तर्राष्ट्रिय एक्सपोजर, बहुभाषिक क्षमता, नेतृत्व अनुभव, अनुशासन, सामाजिक संवेदनशीलता र नेपालप्रतिको गहिरो भावनात्मक सम्बन्धका आधार नियाल्दा। हुन त दीपमालासहित प्रतिस्पर्धा गरेर आएकाहरका शीर्ष २४ जनाको नाम हिडन ट्रेजरले सार्वजनिक गरेको छ। उनीहरू अहिले हिडन ट्रेजरको प्रशिक्षणमा छन्। प्रशिक्षणका क्रममा उनीहरूलाई हिड्न, बोल्न, विषय वस्तुमा प्रवचन दिन, घुलमिल हुन, नेपालको सांस्कृतिक कलासाहित्य र राजनीति बुझ्न लगाइन्छ। कतिपयलाई टेलिभिजनमा बोल्न लगाउने गरेको पनि विगत छ तर अहिले कसरी अघि बढेको भन्ने विषय बाहिर खासै आएको छैन।

उनीहरु हुन्- इशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कासिस सुब्बा, मानस्वी शर्मा, सुषमा भण्डारी, प्रतिष्ठा आचार्य, आर्य निशान्त, आयुस्मा केसी खत्री, शितान्सु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सज्जा श्रेष्ठ, विभुशा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्र‌ेष्ठ, श्रीयांसी श्रेष्ठ, अर्विशा थापा र रचना भट्टराई। उनीहरूले नम्बर राखेर भोट पनि मागेको देखिन्छ। उनीहरुको नम्बर कुनै प्रतिस्पर्धाको आधारमा नभई बक्सबाट आफैँले झिक्ने हो। जुन पर्‍यो त्यही नम्बर हो। यिनै २४ बाट मिस नेपाल २०२६ चयन हुनेछन्।

हङकङका नेपाली समुदायले दीपमालामा ठूलो आशा राखेका छन्। उनले ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् भने उनी नेपालका लागि उल्लेखनीय उपलब्धि बोकेर फर्किन सक्ने क्षमता राख्छिन्। तर उनको सफलता ताज जित्नुमा मात्र सीमित छैन। उनले पहिले नै एउटा कठिन निर्णय गरिसकेकी छन्- आरामदायी करियरभन्दा देश र सपनालाई रोज्ने।

दीपमालाको यो प्रयास एउटा सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धा मात्र नेपाली संस्कृति, पहिचान र देशप्रेमको संयोजन हो। साथै भूगोलले होइन, सोचले देशप्रतिको माया निर्धारण गर्छ भन्ने प्रमाण हो। अब बाँकी छ मिस नेपाल २०२६ को अन्तिम साँझ। ताज कसले उचाल्छ, समयले बताउनेछ। दीपमालाले पहिले नै एउटा कुरा प्रमाणित गरिसकेकी छन् – आफ्नो जरा कहिल्यै बिर्सनु हुँदैन, बरु त्यसलाई अझ बलियो बनाउनुपर्छ। कामना गरौँ उनको कथा अझै लेखिँदै जानेछ।

प्रकाशित: १७ असार २०८३ १८:११ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast