काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले ल्याएको नयाँ शिक्षक नियमावलीले शिक्षकका मूल समस्याको समाधान गर्न नसकेको भन्दै आन्दोलन नै अब एक मात्र विकल्प बनेको बताएका छन्।
शनिबार काठमाडौँमा महासंघका संस्थापक अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्य र पूर्व अध्यक्ष बाबुराम थापाको विशिष्ट आतिथ्यतामा शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष सुवेदीले नयाँ नियमावली शिक्षकमैत्री नभई राज्यको प्रशासनिक सहजताका लागि ल्याइएको बताए। उनले सरुवा प्रणालीलाई अनावश्यक रूपमा जटिल बनाइएको भन्दै त्यसको कडा विरोध गरे।
उनले भने,‘सरुवा एउटा सामान्य प्रक्रिया हो। यसलाई सहज र विधिसम्मत ढंगले हुन दिनुपर्छ। बढुवाजस्तो प्राप्ताङ्क, विभिन्न सर्त र जटिल प्रक्रिया राख्नु शिक्षकमाथिको घोर अन्याय हो। नेपाल शिक्षक महासंघ यस्तो पद्धतिको घोर विरोध गर्छ।’
सुवेदीले सरकारले विद्यालय कर्मचारी, प्रारम्भिक बाल शिक्षाका शिक्षक (ईसीडी) र शिक्षण सिकाइ अनुदानका शिक्षकको तलब वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार स्थायी शिक्षकको बढुवा, अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व तथा सेवा अवधि पूरा गरेर पनि सुविधा नपाएका शिक्षक कर्मचारीका समस्या अझै समाधान हुन सकेका छैनन्।
प्रधानाध्यापकको भूमिका पनि नयाँ नियमावलीले कमजोर बनाएको उनको भनाइ छ। विद्यालय सञ्चालनमा प्रधानाध्यापकलाई बलियो प्रशासनिक नेतृत्व दिनुपर्ने महासंघको माग विपरीत नियमावली आएको भन्दै उनले यसले विद्यालय व्यवस्थापनलाई थप कमजोर बनाउने बताए।
अध्यक्ष सुवेदीले महासंघले शिक्षकका सबै एजेन्डालाई समेटेर नयाँ आन्दोलनको तयारी गरिरहेको जानकारी दिए। ‘अब आन्दोलन नै एक मात्र विकल्प भएको छ। तर आन्दोलनको परिणाम हाम्रो मात्रै हातमा हुँदैन, त्यो राज्य र सम्बन्धित निकायको जिम्मेवारीसँग पनि जोडिएको हुन्छ’ भने।
उनले विगतको शिक्षक आन्दोलनका क्रममा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभासम्म पुगे पनि राजनीतिक घटनाक्रमका कारण प्रक्रिया अवरुद्ध भएको स्मरण गर्दै अब फेरि सबै माग सम्बोधन हुने अग्रगामी विद्यालय शिक्षा ऐनका लागि आन्दोलन गरिने बताए।
सो अवसरमा सुवेदीले आगामी भदौ १८ गते आफू सेवा निवृत्त हुन लागेको जानकारी दिँदै अध्यक्षका रूपमा यो आफ्नो अन्तिम राष्ट्रिय कार्यक्रम रहेको बताए। पदबाट बाहिरिए पनि महासंघको सल्लाहकारका रूपमा शिक्षक आन्दोलनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
उनले शिक्षक आन्दोलनमा योगदान दिएका सहिद तथा अग्रज नेतृत्वप्रति सम्मान व्यक्त गर्दै शिक्षकका अधिकार सुनिश्चित गर्न महासंघ एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा निवर्तमान शिक्षक नेताहरू विष्णुप्रसाद भण्डारी, सानोभाइ कार्कीलाई सम्मान गरिएको थियो। त्यसैगरी नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, महासचिव हरिदेव यादव, अखिल नेपाल शिक्षक संघका अध्यक्ष चक्रपाणि पौडेल र महासचिव पुष्कर सापकोटालाई नयाँ पदभार ग्रहणका लागि बधाई ज्ञापन गरिएको थियो।


