इंग्ल्यान्ड आफ्नो शारीरिक खेलका लागि परिचित टोली हो। त्यसैले अधिकांश समय हिँडेर खेल्ने ३९ वर्षीय खेलाडीसँग खेल्नु उनीहरूका लागि सहज हुनुपर्ने जस्तो देखिन्थ्यो। तर वास्तविकता त्यस्तो भएन।
लियोनेल मेस्सी आफ्नो युवा अवस्थाको तुलनामा कम फुर्तिलो भए पनि उनको असाधारण फुटबल बौद्धिकताले शारीरिक क्षमतामा आएको कमीलाई पूर्णरूपमा पूर्ति गरिदियो।
विश्वकपको सेमिफाइनलमा आफ्नै खेलाडीहरूको थकान र प्रशिक्षक थोमस टुखेलका खेलकै बीचमा गरिएका रणनीतिक परिवर्तनका कारण इंग्ल्यान्डले खेलमाथिको नियन्त्रण गुमाउँदै गयो।
त्यसै बेला अनुभवी मेस्सी शान्त रूपमा मैदानमा घुमिरहे तर व्यवहारमा उनी अर्जेन्टिनाका मैदानभित्रका प्रशिक्षकजस्तै बने।
त्यसो भए मेस्सीले कसरी इंग्ल्यान्डका कमजोरीहरू पहिचान गरी त्यसको फाइदा उठाउँदै एटलान्टामा अर्जेन्टिनालाई जित दिलाए?
इंग्ल्यान्डको बलियो सुरुवापछि अर्जेन्टिनाले कसरी खेलमा पकड बनायो?
पहिलो हाफमा इंग्ल्यान्डले अर्जेन्टिनामाथि उच्च दबाब (हाई प्रेस) सिर्जना गर्ने रणनीति अपनायो। विङ्गर एन्थोनी गोर्डन र मोर्गन रोजर्सलाई अर्जेन्टिनाका दुई केन्द्रीय रक्षकमाथि दबाब सिर्जना गर्ने जिम्मेवारी दिइएको थियो।
उनीहरूले आफ्नो शरीरको कोण यसरी मिलाएका थिए कि गोलरक्षक एमिलियानो मार्टिनेज तथा सेन्टर-ब्याक क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजलाई फुल-ब्याकतर्फ सहज पास दिन गाह्रो होस्।
यस कारण अर्जेन्टिनाका लागि बीच मैदान हुँदै छोटो पास खेल्नु सजिलो विकल्प देखिन्थ्यो। तर त्यसरी खेल्दा उनीहरू प्रारम्भमै इंग्ल्यान्डले बिछ्याएको जालमा परे।
जुड बेलिङ्घम अर्जेन्टिनाले अपेक्षा गरेभन्दा धेरै पछाडि खेलिरहेका थिए। उनी प्रेसिङको नेतृत्व गर्नुको सट्टा एन्जो फर्नान्डेजलाई नजिकबाट निगरानी गरिरहेका थिए। डेक्लान राइसले एलेक्सिस म्याक एलिस्टरलाई पछ्याइरहेका थिए भने इलियट एन्डरसनलाई मेस्सीलाई रोक्ने जिम्मा दिइएको थियो।
विश्वकप विजेता अर्जेन्टिनाले आफ्नो परम्परागत केन्द्रीय आक्रमण शैली अपनाउँदा इंग्ल्यान्ड उनीहरूलाई शारीरिक रूपमा दबाबमा राख्न चाहन्थ्यो।
सुरुवाती समयमा इंग्ल्यान्डको मिडफिल्ड त्रयी निकै ऊर्जावान देखियो र अर्जेन्टिनाको खेललाई रोक्न सफल भयो। विशेषगरी एन्डरसनले मेस्सीलाई कडा रूपमा पछ्याउँदै उनको प्रभाव सीमित पारे। तर मेस्सी, फर्नान्डेज र म्याक एलिस्टरसँगै, क्रमशः खेलमा हावी हुन थाले।
अर्जेन्टिनाका कप्तान मेस्सी अझ गहिरो स्थानमा जान थाले। यसले एन्डरसनलाई कठिन निर्णय गर्न बाध्य बनायो- मेस्सीलाई कति टाढासम्म पछ्याउने?
बीबीसी विश्लेषण अनुसार मेस्सीको बिस्तारै हिँड्ने शैली यहाँ पनि ठूलो धोका साबित भयो। प्रायः स्थिर अवस्थाबाट उनी एक्कासि तीव्र गतिमा बलतर्फ दौडिन्थे। रक्षकहरूलाई त्यसमा तत्काल प्रतिक्रिया दिनुपर्ने भएकाले अर्जेन्टिनाले क्रमशः फाइदा लिन थाल्यो। उता इंग्ल्यान्डको प्रेसिङ पनि थकानका कारण कमजोर हुँदै गयो।
यसरी खेलाडीहरू बल लिन पछाडि झर्दै गएपछि अर्जेन्टिनाले सामूहिक रूपमा बल अगाडि बढाउन र खेलमाथि नियन्त्रण कायम गर्न थाल्यो।
मेस्सीको उत्कृष्ट प्रदर्शनले कसरी इंग्ल्यान्डको सपना चकनाचुर बनायो
५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए जुन लगभग ३० मिनेटसम्म कायम रह्यो। ८५औँ मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रको किनारमा रहेका एन्जो फर्नान्डेजलाई उत्कृष्ट पास दिए। यसलाई उनले शानदार बराबरी गोलमा परिणत गरे।
त्यसपछि अतिरिक्त समयमा मेस्सीको क्रसमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। गोर्डनको गोलदेखि अर्जेन्टिनाको बराबरी गोलसम्म इंग्ल्यान्डसँग केवल १२ प्रतिशत बल नियन्त्रण मात्र थियो। त्यसैले दोस्रो हाफको अधिकांश समय उनीहरू गहिरो रक्षात्मक अवस्थामा खेल्न बाध्य भए।
त्यसपछि खेल अर्जेन्टिनाको आक्रमण र इंग्ल्यान्डको रक्षाबीचको संघर्षमा परिणत भयो। केही समयसम्म इंग्ल्यान्ड भाग्यमानी रह्यो।
तर अर्जेन्टिनाले निरन्तर दबाब कायम राख्यो। मेस्सीले इंग्ल्यान्डको संरचनागत कमजोरी तथा व्यक्तिगत खेलाडीहरूको बानीको फाइदा उठाउँदै पुनरागमनको प्रेरणा दिए।
खेलको सुरुवातमा मेस्सीविरुद्ध सफल देखिएका एन्डरसनलाई मेस्सीले पछि आफ्नो आक्रामक शैलीकै विरुद्ध प्रयोग गरे।
मेस्सी बल सकेसम्म लामो समयसम्म आफूसँग राख्थे। यसले एन्डरसनलाई अगाडि तान्थ्यो। त्यसपछि उनी कुशलतापूर्वक बल टोलीका साथीलाई पास गर्थे किनकि एन्डरसनले खाली पारेको क्षेत्रमा अब आक्रमण गर्ने प्रशस्त ठाउँ हुन्थ्यो।
अर्जेन्टिनाको पहिलो गोलमा पनि यस्तै भयो। छोटो कर्नरपछि ‘वान-टु’ खेल्दै मेस्सीले फेरि एन्डरसनको द्वन्द्व खेल्ने इच्छाको फाइदा उठाए। मेस्सी भित्रतर्फ ड्रिबल गर्दा एन्डरसन आफ्नो केन्द्रीय स्थान छोडेर उनलाई रोक्न पुगे।
मेस्सीले पास दिन हतार गरेनन्। उनले विपक्षी खेलाडीहरू आफूतर्फ तानिएपछि मात्र बल फर्नान्डेजलाई दिए। त्यसले फर्नान्डेजलाई पर्याप्त समय र स्थान दियो। यसबाट उनले लक्ष्य छनोट गरी कुनै दबाबबिना शानदार प्रहार गर्न सके।
खाली स्थान पहिचान गर्ने र दबाब सिर्जना गर्ने कला
इंग्ल्यान्डले बीच क्षेत्र बन्द गर्दै आफ्नो अग्रता जोगाउने प्रयास गरिरहेको थियो। मेस्सी भने बीच क्षेत्र छोडेर जहाँ खाली स्थान देखिन्थ्यो, त्यहीँ पुग्थे।
इंग्ल्यान्डको गहिरो र केन्द्रित रक्षात्मक संरचनाविरुद्ध यस्तो स्थान या त रक्षापंक्तिको अगाडि गहिरो क्षेत्रमा हुन्थ्यो वा दायाँ टचलाइनतिर।
त्यहाँ कसैले नछोएको अवस्थामा पुगेपछि मेस्सीले सहज रूपमा बल लिन्थे। यदि विपक्षी उनलाई रोक्न आउँथे भने इंग्ल्यान्डको रक्षात्मक संरचना बिग्रिन्थ्यो र अन्यत्र नयाँ खाली स्थान सिर्जना हुन्थ्यो।
यी स्थानहरू असामान्य देखिए पनि, उत्कृष्ट ड्रिब्लिङ र पासिङमार्फत उनले खेलको नियन्त्रण आफ्नो हातमा लिए।
बेलिङ्घमको स्थानको फाइदा
प्रतियोगिताभर आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेका जुड बेलिङ्घमको रक्षात्मक पोजिसनिङले यस खेलमा मेस्सीलाई अवसर दियो।
४-४-२ संरचनामा सामान्यतः बल भएको पक्षको फरवार्डले चौडा क्षेत्रमा पनि रक्षात्मक सहयोग गर्नुपर्छ। अर्जेन्टिनाको दायाँतर्फ त्यसको जिम्मेवारी बेलिङ्घमको थियो।
तर मेस्सीले बेलिङ्घम प्रायः धेरै अगाडि रहेको वा बलतर्फ तानिएको देखेपछि उनको पछाडिको खाली स्थान ओगट्न थाले।
यो स्थान दायाँपट्टि र यति गहिरो हुन्थ्यो कि इङ्ग्ल्यान्डका केन्द्रीय मिडफिल्डरहरू त्यहाँ पुग्न कठिन पर्थ्यो।
यसले अर्जेन्टिनालाई लगातार आक्रमण जारी राख्न सजिलो बनायो। दायाँ किनारामा मेस्सी र उनका एक टोलीसाथी दुई विरुद्ध दुईको अवस्थामा खेल्थे। यदि विङ्गर र फुल-ब्याक दुवै मेस्सीतर्फ तानिए भने बेलिङ्घम नआएको अवस्थामा अर्जेन्टिनाले तीन विरुद्ध दुईको संख्यात्मक फाइदा लिन्थ्यो।
अर्जेन्टिनाले टुखेलका रणनीतिक परिवर्तनलाई कसरी निष्प्रभावी बनायो
क्रस आउँदा अर्जेन्टिनाले धेरै खेलाडीलाई पेनाल्टी क्षेत्रमा पठाइरहेको थियो। त्यसैले टुखेलले पाँच रक्षकको प्रणाली अपनाएर संख्यात्मक बराबरी कायम गर्ने प्रयास गरे।
तर इंग्ल्यान्डलाई ५–३–२ मा रूपान्तरण गर्ने निर्णय मेस्सीले खेल्न चाहेको शैलीसँग उल्टै मेल खायो।
पाँच रक्षक गहिरो क्षेत्रमा सीमित भएपछि तीन मिडफिल्डरले मैदानको चौडाइ सम्हाल्न सकेनन्।
मेस्सीले यही कमजोरी चाँडै पहिचान गरे। उनी गोल नजिकै रहे पनि दायाँतर्फको गहिरो भूमिकामै प्रभावकारी बने।
पछि डेक्लान राइसको स्थानमा निको ओ’राइली आएपछि इंग्ल्यान्ड ५–४–१ मा फर्कियो, जसले चौडा क्षेत्रमा केही सुधार ल्यायो।
तर अब समस्या फेरि बेलिङ्घमसँग जोडियो किनकि उनलाई अपरिचित होल्डिङ मिडफिल्ड भूमिकामा खेल्नुपर्यो।
त्यस भूमिकामा उनको स्वाभाविक प्रवृत्ति आफ्नै गोलतर्फ झर्ने थियो। त्यसपछि बाहिर रहेका अर्जेन्टिनाका मिडफिल्डरलाई रोक्न उनी लामो दूरी दौडन बाध्य हुन्थे।
यसका कारण उनी समयमै दबाब दिन असफल भए। अर्जेन्टिनाले बललाई बायाँबाट दायाँ सजिलै सार्न थाल्यो जहाँ मेस्सीले आफ्नो जादू देखाइरहे।
बेलिङ्घमको गहिरो स्थानका कारण फर्नान्डेजले टाढाबाट दबाबबिनै प्रहार गर्ने अवसर पाए, जसबाट अर्जेन्टिनाले बराबरी गोलको कर्नर प्राप्त गर्यो।
यसैबीच प्रशिक्षक लियोनेल स्कालोनीले पनि रणनीतिक परिवर्तन गरे। उनले फर्नान्डेज र म्याक एलिस्टरको भूमिका साटे, म्याक एलिस्टरलाई बक्सभित्र आक्रमण गर्न स्वतन्त्रता दिए, हावामा बल जित्न सक्षम निको गोन्जालेज र लाउटारो मार्टिनेजलाई मैदानमा उतारे तथा रोड्रिगो डे पउललाई चौडा क्षेत्रमा प्रयोग गरे।
यसपछि अर्जेन्टिनाको प्रत्येक आक्रमण इंग्ल्यान्डका लागि खतरनाक बन्न थाल्यो। स्कालोनी र मेस्सीले मिलेर दायाँ विङ्गमार्फत सहज आक्रमण गर्ने, गुणस्तरीय क्रस निकाल्ने र हेडिङमा बलिया खेलाडीलाई प्रयोग गर्ने रणनीति तयार पारे, जुन झन्डै आधा घण्टासम्म अत्यन्त प्रभावकारी रह्यो।
इंग्ल्यान्डका सुरुवाती खेलाडीहरू थकित थिए, धेरै खेलाडी आफ्नो स्वाभाविक स्थानभन्दा फरक भूमिकामा थिए र उनीहरूले इतिहासकै महान् फुटबलरमध्ये एक मेस्सीको नेतृत्वमा आएको निरन्तर आक्रमणको सामना गरिरहेका थिए।
त्यसैले प्रतियोगितामा अर्जेन्टिनाले आफ्नो सबैभन्दा उत्कृष्ट आक्रमणात्मक प्रदर्शनमध्ये एक प्रस्तुत गर्नु कुनै आश्चर्यको विषय रहेन।

