फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनले भिन्नभिन्न शैलीमा स्थान बनाएका छन्। लियोनेल स्कालोनीको नेतृत्वमा रहेको गोलवर्षा गर्ने अर्जेन्टिनालाई कप्तान लियोनेल मेस्सीको अविश्वसनीय सिर्जनात्मक क्षमताले अघि बढाएको छ भने लुइस दे ला फुएन्तेको स्पेनले कडा र व्यवस्थित रक्षा तथा उत्कृष्ट काउन्टर-प्रेसिङमार्फत आफ्नो प्रभाव देखाएको छ।
न्युयोर्क न्युजर्सीमा हुने फाइनलअघि फिफाको प्राविधिक अध्ययन समूहका सदस्य टोबिन हीथ र गिल्बर्टो सिल्भाले दुवै टोलीको खेलशैलीको विश्लेषण गरेका छन्। हीथ दुईपटकको फिफा महिला विश्वकप विजेता हुन् भने गिल्बर्टो सिल्भा सन् २००२ को कोरिया/जापान विश्वकप जित्ने ब्राजिल टोलीका सदस्य थिए।
गिल्बर्टो सिल्भा : धैर्य, पास र काउन्टर-प्रेसिङमा स्पेन अद्वितीय
फिफा ट्रेनिङ सेन्टरले तयार पारेको भिडियोमा गिल्बर्टो सिल्भाले स्पेनको बल नियन्त्रण र पासिङ शैलीको खुलेर प्रशंसा गरेका छन्। उनले भने, ‘बल नियन्त्रणमा हुँदा स्पेन अत्यन्त धैर्यवान् र सटीक देखिन्छ। उनीहरू आक्रमणमा हतार गर्दैनन्। फराकिला क्षेत्रका खेलाडीलाई एक छेउबाट अर्को छेउमा निरन्तर चलाएर विपक्षीलाई फैलाउँछन्।’
उनका अनुसार यसरी विपक्षीका फुलब्याकलाई बाहिरतर्फ तानिएपछि बीचभागमा खाली स्थान सिर्जना हुन्छ, जसको उपयोग गर्दै आक्रमणकारी खेलाडीहरू अवसर खोज्छन्। ‘उनीहरू लगातार बललाई एक छेउबाट अर्को छेउमा सार्दै उपयुक्त क्षणको प्रतीक्षा गर्छन्। यही उनीहरूको खेलशैली हो,’ उनले भने।
बल गुमेपछि पनि स्पेनको नियन्त्रण
स्पेनले प्रतियोगिताका सात खेलमा एक गोल मात्र व्यहोरेको छ। फिफा पावर र्यांकिङ्सको रक्षात्मक सूचकमा पनि स्पेन शीर्ष स्थानमा छ।
सिल्भाले स्पेनको काउन्टर-प्रेसिङलाई प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानेका छन्।
‘स्पेनले बल गुमाएलगत्तै एकदुई वा तीन खेलाडी तुरुन्तै बल फिर्ता लिन दौडिन्छन्। त्यसले विपक्षीलाई अगाडि बढ्न निकै कठिन बनाइदिन्छ’, उनले भने।
‘बल गुमाएपछि तुरुन्त दबाब सिर्जना गर्ने र सकेसम्म छिटो बल फिर्ता लिने उनीहरूको तत्परता असाधारण छ। बल पुनः प्राप्त गर्ने समयका हिसाबले पनि उनीहरू प्रतियोगिताकै उत्कृष्ट टोलीमध्ये एक हुन्। यही कारण उनीहरूले यति कम गोल व्यहोरेका छन्’, उनले भने।
टोबिन हिथ : अर्जेन्टिनाको केन्द्रमा मेस्सी
टोबिन हिथका अनुसार अर्जेन्टिनाको सम्पूर्ण आक्रमण योजना मेस्सीलाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यमा आधारित छ।
‘अर्जेन्टिनाले बीचभाग र फराकिला क्षेत्र दुवैमा खेलाडीको संख्या बढाएर खेल्न रुचाउँछ। मेस्सी वरिपरि कति धेरै ध्यान केन्द्रित हुन्छ भन्ने स्पष्ट देखिन्छ। मेस्सीलाई पाँच जना खेलाडीले घेर्दा अन्य खेलाडी स्वतन्त्र हुन्छन्। तर अवसर सिर्जना गर्ने र गोल गर्ने जिम्मेवारीमा यो टोली अझै पनि मेस्सीमै धेरै निर्भर छ’, उनले भनिन्।
उनका अनुसार यो विश्वकप मेस्सीको करियरकै उत्कृष्ट विश्वकप बन्न सक्ने संकेत देखिएको छ।
‘पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गर्ने, रिबाउन्डमा सबैभन्दा पहिले पुग्ने, धेरै डिफेन्डरलाई आफूतर्फ तान्ने, डिफेन्डरअगाडि नै गोल गर्ने वा क्रसलाई उत्कृष्ट रूपमा समाप्त गर्नेउनका विविध शैली यस विश्वकपमा देखिएका छन्’, उनले भनिन्।
‘मेस्सीले विगतमा गरेका प्रसिद्ध गोलहरू हामीले पटकपटक देखेका छौँ। तर अझै पनि डिफेन्डरहरूसँग उनलाई रोक्ने प्रभावकारी उपाय छैन। उनलाई जहाँ थोरै पनि ठाउँ दिइन्छ, उनले त्यसको पूरा फाइदा उठाएर गोल गर्छन् वा गोलको अवसर सिर्जना गरिदिन्छन्’, हिथले भनिन्।
मेस्सीलाई स्वतन्त्रता दिने अर्जेन्टिनाको संरचना
करियरभरि बीचभाग र फराकिला दुवै क्षेत्रमा खेलेकी हिथका अनुसार अर्जेन्टिनाको टोली संरचना नै ३९ वर्षीय मेस्सीलाई उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने गरी बनाइएको छ।
‘अर्जेन्टिनाले एकभन्दा बढी तरिकाले आक्रमण गर्छ। कहिले बीचभागमा धेरै खेलाडी परिचालन गर्छ, कहिले एकातर्फ खेलाडीको भीड बनाएर विपक्षीलाई तान्छ र त्यसपछि खेललाई अर्को छेउमा सार्छ। तर अन्तिम उद्देश्य एउटै हुन्छ— बल मेस्सीको खुट्टामा पुर्याउने’, उनले भनेकी छन्।
रक्षात्मक अवस्थामा पनि मेस्सीलाई विशेष भूमिका दिइएको उनले बताइन्।
उनका अनुसार मेस्सी माथिल्लो क्षेत्रमा बस्छन्। यसले उनलाई केही विश्राम पनि दिन्छ र टोलीका लागि तुरुन्तै आक्रमण सुरु गर्ने विकल्प पनि बनाउँछ। बल मेस्सीसम्म पुगेपछि अर्जेन्टिना पूर्ण रूपमा आक्रमणमा जान सक्छ।
मेस्सीको बल नियन्त्रण, डिफेन्डरलाई आफूतर्फ आकर्षित गर्ने क्षमता र खाली स्थानमा रहेका सहकर्मीलाई सही समयमा पास दिने कौशल अर्जेन्टिनाको सबैभन्दा ठूलो हतियार हो।
‘अर्जेन्टिनाले सामान्यतः ‘लो ब्लक’ मा रहेर रक्षा गर्छ। तर मेस्सी भने त्यसबाट केही माथि छुट्टै स्थानमा रहन्छन्, जसले गर्दा बल जित्नेबित्तिकै टोलीले रक्षाबाट आक्रमणमा निकै छिटो रूपान्तरण गर्न सक्छ’, उनले भनिन्।
उनका अनुसार मेस्सीले खेलको गति र लय नियन्त्रण गर्न असाधारण क्षमता देखाउँछन्। त्यो सम्भव हुन उनी ताजा रहन आवश्यक छ। त्यसैले बल विपक्षीसँग हुँदा अर्जेन्टिनाले रक्षात्मक जिम्मेवारी उनको काँधबाट हटाइदिन्छ र टोलीले बल जित्दासम्म उनलाई माथिल्लो क्षेत्रमा राख्छ।
यही रणनीतिका कारण मेस्सीले यस प्रतियोगिताभरि फेरि एकपटक आफू गोलअगाडि कति घातक खेलाडी हुन् भन्ने प्रमाणित गरेका छन्।
यसरी हेर्दा विश्वकप फाइनल मेस्सीको जादुमय प्रतिभा र स्पेनको अनुशासित काउन्टर- प्रेसिङबीचको रोमाञ्चक टक्करका रूपमा प्रस्तुत हुने सबै संकेत देखिएका छन्।

