स्पेनले फेरि एकपटक विश्व फुटबलमा आफ्नो वर्चस्व प्रमाणित गरेको छ। दुई वर्षअघि जर्मनीको बर्लिनमा युरोपियन च्याम्पियन बनेको ला रोजा (स्पेन) ले आइतबार अमेरिकाको न्यु जर्सीमा सम्पन्न फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्व च्याम्पियनको उपाधि जित्यो।
स्पेनले यसअघि पनि सन् २००८ मा युरो कप जितेपछि सन् २०१० मा विश्वकप उचालेको थियो। अहिले फेरि त्यही इतिहास दोहोरिएको छ। तर यो सफलता पुरुष टोलीमा मात्र सीमित छैन। पछिल्लो पाँच वर्षमा स्पेनले पुरुष र महिला दुवै फुटबलमा यस्तो प्रभुत्व कायम गरेको छ। यसले विश्व फुटबलमै नयाँ कीर्तिमान बनाएको छ।
स्पेन अहिले एकै समयमा पुरुष र महिला दुवै विश्वकपको वर्तमान विजेता बन्ने पहिलो राष्ट्र बनेको छ। सन् २०२३ मा अस्ट्रेलियाको सिड्नीमा सम्पन्न महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै स्पेन महिला टोलीले पहिलोपटक विश्वकप जितेको थियो।
यससँगै पुरुष टोलीले २०२३ मा यूईएफए नेसन्स लिग, २०२४ मा युरोपियन च्याम्पियनसिप र ओलम्पिक स्वर्ण पदक जित्यो। महिला टोलीले भने २०२४ र २०२५ दुवै वर्ष नेसन्स लिगको उपाधि आफ्नो नाममा पार्यो।
पाँच वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि
सन् २०२२ देखि २०२६ सम्म स्पेनले उमेर समूहदेखि सिनियर तहसम्म विश्व र युरोपका गरी १६ वटा प्रमुख उपाधि जितेको छ।
महिला फुटबल (११ उपाधि)
सिनियर विश्वकप : २०२३
यूईएफए नेसन्स लिग : २०२४ र २०२५
यू-२० विश्वकप : २०२२
यू-१९ युरोपियन च्याम्पियन : २०२२, २०२३, २०२४, २०२५ र २०२६
यू-१७ विश्वकप : २०२२
यू-१७ युरोपियन च्याम्पियन : २०२४
पुरुष फुटबल (५ उपाधि)
विश्वकप : २०२६
युरोपियन च्याम्पियनसिप : २०२४
यूईएफए नेसन्स लिग : २०२३
ओलम्पिक स्वर्ण पदक : २०२४
यू-१९ युरोपियन च्याम्पियन : २०२६
‘स्पेनको सफलता कुनै संयोग होइन’
स्पेनिस फुटबल विश्लेषक गिलेम बालागे का अनुसार यो सफलता आकस्मिक नभई दीर्घकालीन योजनाको परिणाम हो।
उनले बीबीसीसँग भने,‘यो वास्तविक प्रभुत्व हो। हाम्रो फुटबल संस्कृतिले निश्चित शैलीमा काम गर्छ र सबैले त्यसमा विश्वास गर्छन्। सबैभन्दा ठूलो कुरा, हामी कहिल्यै रोकिँदैनौं।’ उनका अनुसार सन् २०१० मा जस्तै अहिले पनि युरो जितेको दुई वर्षपछि विश्वकप जित्दै स्पेनले इतिहास दोहोर्याएको छ।
जोखिमपूर्ण निर्णयबाट ऐतिहासिक सफलता
सन् २०२२ को विश्वकपमा मोरक्कोसँग अन्तिम १६ मा पराजित भएपछि प्रशिक्षक लुइस एनरिके ले पद छाडे। त्यसपछि स्पेनिस फुटबल महासंघले लुइस दे ला फुएन्ते लाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
त्यतिबेला धेरैले यो निर्णयलाई जोखिमपूर्ण मानेका थिए, किनभने उनले कुनै ठूलो क्लबको प्रशिक्षण अनुभव बिनै राष्ट्रिय टोली सम्हालेका थिए। तर उनको नेतृत्वमा स्पेनले लगातार तीन ठूला उपाधि जित्यो।
२०२३ : यूईएफए नेसन्स लिग
२०२४ : युरोपियन च्याम्पियनसिप
२०२६ : फिफा विश्वकप
पूर्व स्पेनिस मिडफिल्डर जुआन माटा भन्छन्,‘दे ला फुएन्तेले अधिकांश खेलाडीलाई युवा टोलीदेखि नै चिनेका थिए। यो टोली अहिलेका लागि मात्र होइन भविष्यका लागि पनि तयार गरिएको हो।’
यू-१९,यू-२१ र ओलम्पिक टोली सम्हालिसकेका दे ला फुएन्तेले राष्ट्रिय टोलीमा सम्मान, धैर्यता र निरन्तर सुधारको संस्कृति स्थापित गरेका छन्। विश्वकप फाइनलअघि उनले भनेका थिए,‘हामीले सबै उमेर समूहमा जितिसकेका छौं भनेर खेलाडीहरूले भने। तर हाम्रो निष्कर्ष एउटै थियो- अब सेप्टेम्बरको अर्को खेल जित्नु बाँकी छ। यो टोली कहिल्यै सन्तुष्ट हुँदैन।’

