फुटबल स्टार लामिन यामाल
१९ वर्षको उमेरमै फुटबल स्टार लामिन यामालले धेरै खेलाडीले आफ्नो सम्पूर्ण करियरमा जित्न नसक्ने उपलब्धि हासिल गरिसकेका छन्। उनी बार्सिलोनाबाट तीन पटक ला लिगा च्याम्पियन, स्पेनसँग युरोपियन च्याम्पियन बनिसकेका छन्। अहिले उनी विश्वकपको फाइनल खेल्न तयार छन्। जित हात पार्न सके आफ्नो ट्रफी सङ्ग्रहमा अर्को ठूलो सफलता थप्नेछन्।
यति कम उमेरमा उनले हासिल गरेको यो सफलता उनीसँग पहिलोपटक भेट्ने प्रशिक्षकहरूलाई समेत आश्चर्यमा पार्ने खालको छ। सीएनएन स्पोर्ट्ससँग कुरा गर्दै बार्सिलोनाका युवा टोली प्रशिक्षक मार्क सेराले एक दशकअघि भएको ट्रायल खेलमा पहिलोपटक यामाललाई देख्दा आफूलाई प्रभावित बनाएको सम्झिए।
‘उनी यहाँ आए र पहिलो भेटमै हामीले महसुस गर्यौं, उनीसँग अरूभन्दा फरक र विशेष क्षमता छ। त्यसैले हामीले उनलाई क्लबमा भित्र्याउने निर्णय गर्यौं,’ सेराले भने।
उनले थपे,‘हामीले देखेका कुरा यस्ता थिए जुन उनले अरूभन्दा बिल्कुलै फरक तरिकाले गर्थे। अझ महत्त्वपूर्ण कुरा, कसैले उनलाई ती सीप सिकाएको जस्तो देखिँदैनथ्यो। उनले फुटबल खेल्न बल्ल सुरु गरेका थिए तर ती क्षमता जन्मजात जस्तै लाग्थ्यो। त्यो उनको जिनमै थियो वा सडकमा खेल्दै सिकेका थिए। जे भए पनि उनीसँग अरू बालबालिकामा नभएको प्रतिभा थियो।’
सात वर्षमै बार्सिलोनामा प्रवेश
यामाल सात वर्षको उमेरमा आफ्नो स्थानीय क्लब ला टोरेटाबाट बार्सिलोनाको प्रतिष्ठित ला मासिया एकेडेमीमा पुगेका थिए। यही एकेडेमीले लियोनेल मेस्सी लगायत विश्वका उत्कृष्ट खेलाडी उत्पादन गरेको छ। हाल बार्सिलोनाको अन्डर-७ टोलीका संयोजक रहेका सेरा यामाल १०-११ वर्षका हुँदा उनका प्रशिक्षक थिए।
उनले यामालको असाधारण प्रतिभा नजिकबाट देखे पनि यति सानो उमेरमै विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक बन्लान् भन्ने कल्पना गरेका थिएनन्। सन् २०२३ मा ट्रायल खेल भएको आठ वर्षपछि यामालले १५ वर्ष ९ महिना १६ दिनको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्दै एक शताब्दीभन्दा बढी समयपछि क्लबबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बने।
तर उनी डेब्युमै सीमित भएनन्। उनले अवसरलाई दुवै हातले समाते। केही समयमै बार्सिलोनाको आक्रमणको केन्द्र बने र स्पेनको राष्ट्रिय टोलीमा पनि उत्तिकै प्रभावशाली प्रदर्शन गरे।
आज उनी आफ्नो तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ, आकर्षक खेलशैली, सटीक पास र टाढाबाट गोल गर्ने क्षमताका कारण विश्वकै उत्कृष्ट खेलाडीमध्ये गनिन्छन्। असम्भवजस्ता अवस्थाबाट पनि अवसर सिर्जना गर्ने क्षमता उनको सुरुदेखिकै विशेषता हो।
‘उनले मैदानमा यस्ता काम गर्थे जुन १०-११ वर्षको बालकले गर्न सक्छ भन्ने मलाई प्रशिक्षकका रूपमा विश्वास गर्नै गाह्रो हुन्थ्यो,’ सेराले भने,‘विशेषगरी बुटको बाहिरी भाग प्रयोग गरेर दिने उनका पासहरू अविश्वसनीय थिए। अरूले कल्पना गर्न नसक्ने पास, अरूले सोच्नै नसक्ने खेल। अन्ततः उनी हामीभन्दा धेरै अगाडि सोच्थे। उनी यस्ता कुरा कल्पना गर्छन्, जुन हामी बाँकीले गर्न सक्दैनौं।’
साहस र सीपको अद्भुत संयोजन
सेराका अनुसार यामालको तीव्र सफलताको अर्को कारण उनको मानसिकता हो। उनलाई उनी मिलनसार र सधैं खुसी रहने बालकका रूपमा सम्झन्छन्। तर मैदानमा उत्रिएपछि उनी पूर्ण रूपमा फरक बन्थे- प्रतिस्पर्धी, निर्भीक र जुनसुकै प्रतिद्वन्द्वीको सामना गर्न तयार।
‘सजिला खेलहरूमा कहिलेकाहीँ उनलाई अलि प्रेरित गर्नुपर्थ्यो,’ सेराले भने,‘तर जब ठूला खेल वा प्रतियोगिता आउँथ्यो, तपाईं ढुक्क हुन्थ्यौं, लामिनले निराश पार्दैन। मलाई लाग्छ, उनलाई चुनौती मनपर्छ। यामालजस्ता खेलाडी अत्यन्तै दुर्लभ हुन्छन्। हामी प्रशिक्षकहरूले धेरै गरेको भनेको उनलाई साथ दिनु मात्र हो, उनको प्राकृतिक प्रतिभालाई बिग्रिन नदिनु हो। वास्तवमा हामीले उनीबाट धेरै कुरा सिक्न सक्छौं।’
नयाँ मेस्सी?
आक्रमण शैली र ला मासियाबाट उदाएको कारण यामालको तुलना सुरुदेखि नै लियोनेल मेस्सीसँग हुन थालेको थियो। संयोगवश, सन् २००७ मा २० वर्षीय मेस्सीले शिशु अवस्थाका यामाललाई काखमा लिएको तस्बिरसमेत सार्वजनिक भएको थियो। तर यामाल आफैं भने यस्ता तुलना वा दबाबबाट विचलित देखिँदैनन्। उनी आफूजस्तै बन्न चाहन्छन्, अरूको अपेक्षाले होइन।
सेराका अनुसार अहिले नै यामाल कति टाढासम्म पुग्छन् भनेर भन्न हतार हुनेछ। तर यदि उनले यही स्तर कायम राख्दै आगामी १२-१३ वर्ष निरन्तर सुधार गरिरहे भने उनी इतिहासकै महान् खेलाडीमध्ये एक बन्न सक्नेछन्। ‘सबैभन्दा महत्त्वपूर्ण कुरा उनले अहिलेझैं खेलको आनन्द लिइरहनुपर्छ,’ सेराले भने,‘यदि उनले यही स्तर कायम राख्दै निरन्तर सुधार गरे भने भविष्यमा हामी लामिनलाई इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा सम्झिनेछौं। तर उनी अझै युवा छन्। उनीमाथि अनावश्यक दबाब दिनु हुँदैन। उनलाई मैदानमा आफूलाई मनपर्ने खेल खेल्न दिनुपर्छ। त्यसो भयो भने उनी अझ राम्रो बन्दै जानेमा मलाई पूर्ण विश्वास छ।’
विश्वकपको आशा
यामाल अहिले विश्वकपमा स्पेन (ला रोजा) का प्रमुख खेलाडीमध्ये एक हुन् र टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। यद्यपि, समूह चरणअघि बार्सिलोनाको सिजनको अन्त्यतिर ह्यामस्ट्रिङ चोटका कारण उनी केही समय मैदानबाहिर रहे। त्यसैले उनले विश्वकपअघि स्पेनका कुनै पनि मैत्रीपूर्ण खेल खेलेनन्।
तर प्रतियोगिताका क्रममा उनले बिस्तारै पूर्ण फिटनेस हासिल गरेका छन्। अब स्पेनले दोस्रो पटक विश्वकप जित्ने यात्रामा उनी निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। सेराले भने,‘जति ठूलो चुनौती हुन्छ, लामिन त्यति नै राम्रो खेल्छन्। हरेक दिन उनी नयाँ कुरा सिकिरहेका छन्, अझ राम्रो बन्दै गइरहेका छन्। मलाई लाग्दैन उनले आफ्नो पूर्ण क्षमता हासिल गरिसकेका छन्। उनी दिनप्रतिदिन विकास गरिरहेका छन्। सबैभन्दा प्रभावशाली कुरा भनेको उनको प्रतिभाको सीमा नै देखिँदैन।’

