काठमाडौँ- साविक विजेता बार्सिलोनाले स्पेनिस लालिगामा लगातार तेस्रो खेलमा जित निकालेको छ। गएराति बार्सिलोनाले रायो भायकानोविरुद्ध ५-२ को जित निकालेको हो। क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र यामलले दुई–दुई गोल गरे। एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो। भायोकानोका लागि दुवै गोल सर्जियो कामेलोले गरे।
खेलको १२औँ मिनेटमा कामेलोको गोलमार्फत भायोकानोले अग्रता लिएको थियो। तर, त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन। १९औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए। बराबरीमा आएको दुई मिनेटपछि नै यामलले गोल गर्दा बार्सिलोनाका अग्रता २–१ मा पुग्यो। भायोकानोका रक्षक फ्लोरियन लेजेउनेबाट आत्मघाती गोल हुन पुग्दा ५१औँ मिनेटमा बार्सिलोना ३–१ ले अगाडि बढ्यो।
कामेलोले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भायोकानोलाई खेलमा फर्काउने कोसिस गरेका थिए। तर, राफिन्हाले ७१ र यामलले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–२ ले विजयी भयो।
लगातार तेस्रो जितसँगै ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो हार ब्यहोरेको भायोकानो तीन खेलबाट एक अंकका साथ १८औँ स्थानमा छ।


